विजयकुमार महर्जन
कतारको अल–खोरको रापमा बसेर
साउदीको अल–कासिमको ताप सहँदै,
श्रमवेदनासँगै
थकित…
गलित…
पसिनाले भिजेको मन बोकेर
मकालु र मनास्लुको
चिसो स्पन्दन सम्झिँदै,
प्रियजनका सुमधुर स्पर्श
कल्पनामा अनुभूत गर्दै
भाव स्खलित पार्दै
मनमा अनेकन् सपना बोकी
नचाहँदानचाहँदै पनि
विदेशमा बस्न बाध्य
नव युवाहरुलाई
अब स्वागत गर्नु छ, देशमै ।
भादगाउँको भादगाउँले टोपी
फर्पिङको रसिलो नासपाती
घान्द्रुकको गुन्द्रुक
मलेखुको स्वादिलो माछा
आन्तरिक र बाह्य पर्यटक
प्रवर्धन गर्नु छ अब देशमै ।
निराशालाई आशामा बदली
नयाँ ज्योति बाल्दै
भत्किएका, भौँतारिएका
संस्कृति र संस्कार
बिसिँदै गएका मूल्यहरुलाई
पुनः जगाउँदै-
सबैलाई देखाउनु छ
एउटा नयाँ
समुज्ज्वल भविष्य
उनीहरु नआएका हुन सक्छन्
शान्ति भन्दै बितेका
आतङ्क, युद्ध र हत्याहरु देखेर
अपहरण, क्रान्ति र बलात्कारका
डरलाग्दा वर्षहरुले तर्साएर
तर अझै पनि
देशलाई सुन्दर
सुशान्त र सुकोमल समृद्ध बनाउने
काँडाहरु पन्छाउँदै
सिलु, घाटु र वसन्तको लयमा
सँगै गाउनुपर्छ
कौडा, रोधी र साकेलामा सँगै नाच्नुपर्छ
अब फेरि एकपटक
सबैलाई हामीले
स्वागत गर्नु छ
देशमै ।


