साउन २०, काठमाडौं ।   प्रा. राजेन्द्र सुवेदीको ८२ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गरी उनको सम्झना गरिएको छ । सुवेदीको ८२ औँ जन्म दिनको सन्दर्भमा श्रावण १८ गते जमलस्थित   राष्ट्रिय नाचघरमा एक भव्य समारोहको आयोजना गरिएको थियो । सो समारोहमा सुवेदीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिनुका साथै उहाँप्रति भावपूर्ण श्रद्घासुमन अर्पण गरिएको थियो।

सो अवसरमा उहाँको नाममा स्थापित कला तर्फको राजेन्द्र सुवेदी कला पुरस्कार नाट्य निर्देशक श्रद्धेय भैरवबहादुर थापालाई समर्पण गरियो । थापाको परिचय के.पी पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

साहित्य तर्फको राजेन्द्र सुवेदी साहित्य  पुरस्कार प्रा. डा. दयाराम श्रेष्ठलाई अर्पण गरियो । जनही २१ हजार राशीका दुवै पुरस्कार सभाका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालका बाहुलीबाट हस्तान्तरण गरिएको थियो।

स्कुले छात्राहरूद्वारा भैरवबहादुर थापाले निर्देशन गरेका दुई वटा नृत्यको प्रस्तुति  भएको थियो ।  स्वर्गीय राजेन्द्र सुवेदीकी नातिनी एन्जेलिना घिमिरेद्वारा सुवेदीको काव्य पाठ पनि भएको थियो ।

तथा प्रमुख अतिथि खनालले सुवेदीज्यू साथी र सहकर्मी पनि भएको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभयो । त्यसै गरी सम्मानित प्रतिभाहरुलाई बधाई दिनुहुँदै यस्ता प्रतिभाले राज्यले खोजी खोजी सम्मान गर्नुपर्ने विचार राख्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्मानित प्रतिभा प्रा. डा दयाराम श्रेष्ठले राजेन्द्र सुवेदीलाई आफूले एम. ए पढाउन थालेकै साल एम एका कक्षामा भेटभएको र उनले संस्कृत काव्यशास्र र इतिहासका सामग्री खोज्न सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले आफू नेपाली खुकुरी र सगरमाथाको इतिहास खोज्न लागिरहेको पनि बताउनुभयो ।

सभालाई सम्बोधन गर्नुहुँदै समाजका उपाध्यक्ष साहित्यकार डा. रमेश शुभेच्छुले संस्थाको इतिहास र कार्ययोजनाका साथै राजेन्द्र सुवेदीलाई सम्झनुपर्ने कारणहरुका रुपमा सुवेदीका व्यक्तित्वलाई सूत्रात्मक रुपमा प्रस्तुत गर्नुभयो । उहाँले बुँदागत रुपमा सुवेदीलाई सम्झँदै भन्नुभयो:

  • सुवेदी असाध्यै दुर्गम ग्रामीण परिवेशमा जन्मिएर असाध्यै दुःखसुका साथ उठेको उच्च बौद्धिक, प्राज्ञिक र शैक्षिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व अभिप्रेरक छ ।
  • नेपाली निबन्ध र समीक्षा क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको छ ।
  • कवितामा फुटकर कवितादेखि खण्डकाव्य हुँदै महाकाव्यसम्मको आरोहण गर्नुभएको छ । ती कृति विशेष छन् ।
  • आख्यानतर्फ कथादेखि तीन वटा उपन्याससम्मको यात्रा गर्नुभएको छ र उहाँको जीवनका उत्तराद्र्धमा आएको धितो कोख विशेष कृतिका रुपमा आएको छ ।
  • उहाँले आफ्नो समयमा धेरै कृतिमाथि मौखिक र लिखित समीक्षा गर्नुभयो
  • सयौँ कृतिमा भुमिका लेख्नुभयो । ती भूमिका कुनै न कुनै रुपमा नेपाली साहित्यको इतिहासलाई पनि समेट्तै मूल्यनिर्णयका साथ लेखिएका छन् ।
  • उहाँका सम्पादनमा दर्जनौँ कृतिहरु प्रकाशनमा आएका छन् । तिनका सम्पादकीय र कृतिका मूल्यनिर्णयहरु अकाट्य छन् ।
  • दर्जनौँ संघसंस्थामा रहेर पुरस्कार सम्ममानका लागि सही प्रतिभा चयन, सम्मानपत्रको ड्राफ्ट आदिबाट सम्मानको मर्यादा र सम्मानको भाषाको विशिष्टीकरणमा सघाउनुभयो ।
  • दर्जानौँ संस्थाको सल्लाहकार भएर मार्गदर्शन गर्नुभयो । उहाँ रहेका संस्थाहरु गरिमापूर्ण बनेका छन् ।
  • प्राथमिक तहदेखि स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधिसम्मका कक्षामा पढाउनुभयो । उहाँका हजारौँ शिष्यशिष्याहरु रहेका छन् ।
  • उहाँकै पालामा उहाँ विभागीय प्रमुख भएकै बेला त्रिभुवन विश्वविद्यालयले दर्शनाचार्य तह –एम. फिल) को पठनपाठन सुरु गर्यो ।
  • उहाँका पालामा नै विभागको छुट्टै पुस्तकालय व्यवस्थित हुने र विद्यार्थीका पहुँचमा आउने काम भयो । हामी सुवेदीको त्यसै अभियानका उत्पादन हौँ । हामी पहिलो व्याजका पैतिसमध्ये आठ जना विद्यार्थीले विद्यावारधि दर्ता गरेका थियौँ । प्रायः त्यस वेला एम.फिल गर्ने सबै विद्यावारिधि भयौँ ।
  • उहाँले त्रिचन्द्र, आर आर क्याम्पस, पाटन संयुक्त क्याम्पस र थापाथली क्याम्पसलाई पनि योगदन गर्नुयभो ।
  • उहाँले कयाम्पसलाई मात्र होइन नेपाल संस्कृत विश्वविद्यालय, सिक्किम विश्वविद्यालय, काशी हिन्दू विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय गुवाहाटी विश्वविद्यालय जस्ता विश्वविद्यालयलाई पनि लाभविन्त गर्नुभएको छ ।
  • २०४० सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशमा सहयोगीहरुमध्ये उहाँ अग्रगन्य हुनुहुन्थ्यो ।
  • उहाँले गोरखापत्र संस्थानको नेतृत्व गर्नुयभो । आर. आर क्याम्पसमा रहेको पत्रकारिता केन्द्रीय विभागका शोधविशेषज्ञका रुपमा उहाँको विशेष सहभागिता रहेकाले सञ्चार क्षेत्रका विद्यार्गीहरु उहाँलाई आदरपूर्वक सम्झन्छन् ।
  • उहाँले नेपालमा हिमवत् खण्ड साहित्य सम्मिलन जस्तो विशेष समारोहको आयोजना गरी हिमवत् खण्ड क्षेत्रको साहित्यिक वाङ्मयको खोज अनुसन्धानलाई अगाडि बढाउने काम थालनी गर्नुभएको छ । सकै त्यस्तो सम्मेलन फेरि गर्नुपर्ने छ ।

कार्यक्रममा    डा. रमेश शुभेच्छुले यस संस्थाबाट प्रतिभा चयनमा सुवेदीको प्रतिभा चयनशैली अपनाइने र यस पटक दुई विधाका विशेष प्रतिभाका रुपमा दयाराम श्रेष्ठ र भैरवबहादुर थापालाई चयन गरिएको पनि बताउनुभयो ।

उक्त समारोहमा साहित्यकार, कलाकार,  प्राध्यापक  र  प्राज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रा. राजेन्द्र सुवेदीकी श्रीमती इन्दिरा सुवेदी र अन्य परिवारजनको उल्लेख्य उपस्थिति र सक्रियता थियो  । कार्यक्रमलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तनछाली, सीतासुवेदी, आजीवन सदस्य डा. रामप्रसाद दाहाल र डा. भागवत आचार्यले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि खनालले संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए । समारहोहका सभाध्यक्ष जीवेन्द्रदेव गिरीले सबैमा धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो ।

Facebook Comments Box

Similar Posts