माधव काफ्ले
रहरै रहरको खातमाथि
वासलातहीन एउटा छेपारे रहर
जुरूक्क उचालिन्छ
निस्तेज पाहाझैँ पिलिक्क हेर्छ
र समय विम्बलाई साक्षी राखी किनारामा
निर्दोष छातीमाथि चढेर
दाइँ गर्न थाल्छ
अनि हल्लुँडको गन्ध टक्टक्याउँदै
लुत्रुक्क परेर उसका निशाचरीय आदेश
मुखमा हाल्न थालेको गाँस थाती राखी
तामेली गर्न पटुका कस्न थाल्छु ।
परिवर्तनको राँको बोकेर विद्युतीय उपकरणहरु बस्ती बस्ती चहार्न थालिरहेको देख्न थाल्छु वरपर । मोहनी मुस्कान छरेर गाउँ गाउँ छिर्न थालिरहेका हुन्छन् । आकर्षणका सहस्र चमक छरेर घर घर पस्न हतारिन्छन् ।
तिनीहरुको झिल्के आवरण, बहुरङ्गी आकृति र अनधिकृत हस्तक्षेपले लठ्याउँदै लगेको संचेतना सञ्जालभित्र छिर्दै जान थाल्छन् । मेरो लाचार अस्तित्व टोल्हाउनुभन्दा पनि बर्बराउन थालेझैँ गर्दै पछ्याउन थाल्छ ।
अध्ययन संस्कृतिलाई बेस्मारी हुँडलेर थिल्थिल्याउँदै जान्छ भन्ने कुरा बुझेर पनि, सनातनी सोचको जगमा उकेरा लगाउँदै बुर्कुसी मार्न उद्यत रहेको देखे पनि, त्यसको मात र धङधङीले आक्रान्त बनेर बटारिएको सोचलाई च्यापेर निकै दिनसम्म निस्ता सपना चपाउँदै देखेको नदेखेझैँ गरी सडक नाप्तै हिँड्न खोजे पनि थिग्रिएर सतहमा धेरै दिन टिक्न सक्तिनँ ।
मेरा चिन्तनका, चासोका जठराग्निहरु
भष्मीभूत भएर लम्पसार पर्दै जान थाल्छन्
र, परावलम्बित संचेतनाको गहुँत
सुरूप्प पार्दै चोखिन खोज्छु ।
एउटा चासो, एक फाँकी खुल्दुली र एक मुठी जिज्ञासाका ज्वारभाटाहरु एकतमासले मानसिकतामा छचल्किँदै गए । निकै समयदेखि कयसमा राखेर थुम्थुम्याउँदै आएको मनलाई अँचेटेर यथास्थितिमा ल्याउन सकिनँ । नजानिँदो पाराले एक दिन कसैले देखि पो हाल्छ कि भनेझैँ गरी छेलिएर छलिएर होलसेलमै लुसुक्क छिर्छु ।
थाहा छ मान्छे ज्ञानी, गुणी हुने एउटा भरपर्दो माध्यम अध्ययन हो । अध्ययनको जगमा टेकेर धेरै लोकोपकारी विचारकले संसारलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान अजम्बरी योगदान दिएका छन् ।
प्रगतिका प्रत्येक पदचापलाई पछ्याउँदै गएको छ मान्छे
कतै छलाङ मार्ने दीक्षा प्रजनन गर्दै अर्काको छेपारी खुस्काइँदै छ
रेटेर निर्दोषको गर्धन जलाहारी चढाउन हिँडेका छन् कोही
कतै आदर्श बेचेर केही थान भेडाहरु संरक्षण गरिँदै छ
मुण्डमालाधारीहरु विधिको बिरासत जोगाउन उद्यत हुँदै गएका छन्
टुप्पी काटेर हिँड्नेहरु
जनै चुँडाएर हिँड्नेहरु
संस्कार च्यातेर हिँड्नेहरु
परम्परा चिथरेर हिँड्नेहरु
निर्दोषको आलो रगतले ओठ भिजाउँदै हिँड्नेहरु
गुरू, प्रशिक्षक, पुजारी, मठाधीश र मदारी भेष धारण गरी
हिँडिरहेका छन् अभियन्ता बनेर ।
तिनीहरुको व्यभिचारी छाया, बार्बरिक दर्पण र रक्तरञ्जित जुगुप्साभित्र गुम्सँदै आएका एक अँगालो बेसम्हार अमिला फिराद र त्यसैको पाश्र्वछायामा साक्षी बनेर सनाखत गर्न उद्यत विचार शृङ्खलाका तिता हरक स्क्रिनभरि फिँजिएर आउँछ र चारैतिर छरिन थाल्छ । त्यसको सन्निपाती पिराहा गन्धले निसासिँदै जान थालेपछि प्राप्तिविहीन, पहुँचविहीन ऐँठनको अरिमोठे गाँठो सुमर्दै म एक्कासि झसङ्ग हुन पुग्छु । पेट हुँडलिन्छ र पनि वाकवाकी गर्दै बमन गर्न सक्तिनँ । अमन भएर पनि अमलेख हुन सक्तिनँ । किर्ते कथनका अतिरञ्जित प्रवचन शृङ्खलाले दर्फ¥याउँदै लगेको मानसिकता, टट्टाएको मनोभाव, भबाएको चेतना लर्बरिन थाल्दै लल्याकलुलुक हुन पुग्छ । एउटा नग्न नर्तकीको छायामा अडेस लागेर थिग्रिन खोज्छ । अनि आवश्यकताका अनमोल ज्ञान शृङ्खलाहरुलाई छपक्क छोपी अन्तर्यमा टुसाउन खोज्छ शृङ्गारिक मोहजाल ।
अक्षर मोह र किताब उरूङको विक्षिप्त मनोदशाले कहिलेकाहीँ मनोभाव पाछ्तै गएपछि म अलि बहकिन थाल्छु । पण्डित्याइँको पाञ्चजन्य फुकेर कुर्लिनु दिङमिङ लागेर आउँछ । फेरि खासै ज्ञान, विद्वता र सिप भएर पसेको थिइनँ त्यहाँ । जानेको पनि केही होइन र जान्न खोजेको पनि केही थिइनँ । केही सिकौँ भन्ने जुगुप्सा भर्भराएर धपक्क बले पनि मनभित्र सङ्गत र सङ्गतिलाई उछिनेर फड्को मार्नै सक्तिनँ । जहिले पनि लाइक, कमेन्ट र सेयरका गलपासोमा फनफनी बेरिएर उम्कन खोज्दा नखोज्दै दिन ढलेको र शरीर लोलाउँदै जान थालेको पत्तै पाउँदिनँ ।
फगत काँचा, कट्मिरा, काइते भङ्जाहा रहरहरुका पाइटे अनुरागहरुको बलमा एकसरो परिभ्रमण गर्दै जाँदा सारहीन विसङ्गतिहरुको कोलाजमा कोरिन पुग्छु । रङैरङको बिरासतमा रङ्विहीन छुचुन्द्रो एक छिन चुइँकिन्छ, चर्पटाउँछ र गन्तव्य नभेटेपछि कुवालाई नै संसारको ठुलो उपलब्धि ठानेर त्यही सङ्कीर्ण घेराभित्र फनफनी नाच्न र घुम्न थाल्छ । टर्टराउने आवाज टर्रो र धोद्रो भएको हुनाले केही मात्रामा दार्शनिक हुन खोज्ने पाँडे प्रपञ्चबाट जोगिन सकेको छु र मात्रै नत्र भने मेरो हविगत पनि पखेटा तानेको अपाहिज झिँगाको भन्दा कम दयनीय हुने थिएन ।
स्क्रिनको रङ्गीन कलेवरले मलाई बिसौँ शताब्दीबाट टिपेर बाइसौँ शताब्दीको सेप्जिलो अभिशापित कुनातिर मिल्काइदिन्छ । दागैदागका खत र खोपिल्टाले निसासिने गरी छोप्तै आएको हुन्छ अतीत । यथास्थिति समाएर थिग्रिन खोज्छु त्यहाँ त्यो स्थिर गरेर टिक्नै सक्तैन । बेसंहार परिवर्तनका ज्वारभाटा उरालेर ऊ बेलगाम दौडिन्छ । भविष्य म बुझ्न सक्तिनँ । प्रयोगशालाबाट प्रत्यारोपण गरिएका आँकडामा अनुवाद हुँदै जान थालेका आकृतिहरु एकादेशका कथाजस्तै भर्भराएर आउँछन् । बर्बराएर आउँछन् । तिनीहरुलाई पछ्याए म धेरै पर पुग्न सक्तिनँ ।
सजीवलाई निचरेर हल्लाउन सक्ने सामथ्र्य बोकेका निर्जीव पराकम्पनहरु जागाज्योति बनेर घाट घाटमा कुरी बसेका हुनाले पनि गुणदोषलाई किनारामा नै टक्टक्याएर म लुसुक्क लुम्रे चालले त्यहाँ छिर्न पुग्छु । मेरी बास्सै ! के के न बापती बिगार गरेर आएको पातकीलाई खियारे जस्तै गरी ऊ मलाई पाइलैपिच्छे दपेट्न थाल्छ । भाषाको अज्ञानताले छेपारी खुस्काएर निचर्दै लगे पनि लोसो र ज्याद्रो बनेर ह्याकुलो जोत्न पुग्छु । म त्यहाँ छिरेको ऊ त्यति मन पराउँदैन । त्यहाँ नछिरे सास रोकिएला जस्तै हुन्छ । त्यसमा पनि मभन्दा कति कमजोर ज्ञान गुण भएका माइका लालहरु सिद्धार्थ बनेर प्रवचनमा समाहित हुँदै गएको देखेपछि मन थाम्न सक्तिनँ र मुख चुठेको हात कमिजको बाहुलाले चुस्स पुछ्तै सर्जमिन तहकिकातसितै सनाखत गर्न पुग्छु ।
घोडा खच्चरहरुलाई खर्कमा थुपारेर साइकल बाइक हुँदै मानिस अगाडि बढिरहेछ । फुसका घर मुण्डन गरिएका छन् । गोठ, खलङ्गा, घु¥यान आदि उत्खननमा परेका छन् । खेत, खलिहान घडेरीमा आवाद गुल्जार हुँदै कङ्क्रिट फलाइरहेछन् । फडानीमा पर्दै गएका बारीका उब्जाउ पाटाहरुमा पिच फलाइँदै छ र त्यसको चुलीमा वाइफाइको लिङ्गो गाडेर देश दुनियाँ सुघ्न खोजिँदै छ ।
कतिको खेतखलिहान चुसेर, कतिको नाककान लुछेर, कतिको घाँटीनाडी बुच्याएर, कतिको घरघडेरी, हलगोरू र लैनो भैँसी निलेर समरो हुँदै उग्राइ आए तापनि अहिले प्रगति मापनको अग्लो अग्लो धरोहर आइफोन बन्न पुगिरहेछ । ज्ञानलाई, गुणलाई, चेतनालाई, विद्वतालाई, सिपलाई, शिक्षालाई एकलौटी गोख्र्याएर परिभाषा गर्न सक्ने विपुल ज्ञानराशिको स्रोत बन्न पुगेको हुनाले पनि धेरै थरी अपाहिज मानिस यसैमा समाहित भएर गाँड कोतराकोतर गर्न थालिरहेछन् ।
सिक्नेले कति सिक्छ थाहा छैन, बुझ्नेले कति बुझ्छ त्यसको आँकडा छैन । जान्नेले कतिसम्म जान्दछ यकिन गर्न सक्तिनँ । प्रयोगकर्ताले गरेको उधुम वेदवाणी लाग्छ जतिसुकै छिचरो स्तरमा अनुवाद भएर पनि सामान्य स्तरको मनुष्य विपुल ज्ञानराशिको कुटुरो खोल्दै अज्ञानताको वैतरणी तार्ने अभिभारा बोकी सबैलाई मोक्ष तुल्याउन उद्यत हुँदै आएको छ ।
ऊ कहिले महावीरको पछि लागेर जिससलाई पछ्याउन थाल्छ । बुद्धलाई ढालेर मोहमदलाई चिनाउन खोज्छ । रामलाई लखेटेर सुपर्णखालाई भित्र्याउन खोज्छ । हिन्दुत्वलाई मठारेर यहुँदीलाई मुसार्न थाल्छ । इस्लामलाई मलजल गरेर अहिरलाई हुर्काउन थाल्छ । देवताको पूजा गरेर दानवको आरती उतार्छ । वेदलाई सरापेर बाइबललाई ढोग्न थाल्छ । अर्गानिकको राग उराली वर्णशङ्कर बीज प्रजननको प्रारुप तयार गर्न खोज्छ ।
मान्छे बिगार्ने गन्तव्य एउटै छ तर बाटा सहस्र छन् । मुकाम एउटै छ माध्यम अनन्त छन् । साधन एउटै छ तर स्रोत अनगन्ती छन् । अनि उपादानका रुपमा अग्लो चुचुरोमा चढेर एउटा छुचुन्द्रो अस्तबलको तुजुक सुँघेर हातीलाई प्रवचन दिन थाल्छ ।
सायद अतीततर्फ फर्केर हिँड्नु त्यति श्रेयस्कर होओइन् ।
सनातनी होइन डरले अतीत बिर्सेर, पुछेर र मिचेर हिँड्न पनि मन लाग्दैन ।
मक्किँदै गए पनि अतीतले गाडेको आदर्शको मियो संचेतनाभन्दा निकै अग्लो र सुरिलो बनेर ठडिएको छ छातीमा । त्यो रूमानी भावभूमि हठात् त्यागी नवीनताको वकालत गर्दै छलाङ मार्न त्यति उपयुक्त नहोला । उन्नति र प्रगतिप्रति कुनै फिराद छैन तर समृद्धिले वरण गर्ने सबै उत्कण्ठा र उपादानहरु हितकर नै हुन्छन् भन्ने कुनै ग्यारेन्टी होलाजस्तो लागिरहेको छैन ।
प्राकृतिक अवस्थामा मानव जातिले मानव जातिको कल्याण गरेको मिथ सापेक्ष बन्न पुगेपछि र मेसिन निरपेक्ष भएर मानव जातिलाई मानवताको गुण र महिमा बताउँदै उद्धार गर्न तम्सेको र त्यसैको पछाडि संसार झुम्मिँदै गएको देखेपछि एक्कासि छाती चरर चिरिन थाल्छ ।
मानवमा हुने ठुलो गुण संवेदनायुक्त संचेतना पनि हो । अहिले त्यो राजशी गुण गुगल केन्द्रित हुँदै मानिसको सांवेगिक मतिलाई ताछेर, खुर्केर र मठारेर महिमामण्डित पार्न खोज्दै छ । विद्याको बल अध्ययन र अध्ययनको जग शोध, सिर्जना, अभ्यास–आराधना हुँदै आएको नजिरलाई ठनक्क भाँचेर गुगल अहिले भुक्त र भोक्ता दुवै बनेर चम्किन खोज्दै छ । त्यसको सेप र सुसेलीमुनि बसेर संवेदनाको आहुति हालेर विषादका लामा सुस्केरा निकाल्नुपर्दा अनायास मन भरङ्ग भएर आउँदोरहेछ । पुग्नु त मलाई धेरै परसम्म छैन । अस्ताचलतिर लागिसकेको मान्छेलाई लाउनु के र फुकाल्नु के भनेझैँ सँगाल्नु पनि केही छैन, बिगार्नु पनि केही छैन । यत्ति लाग्छ साइवर संस्कृतिको अभिशापबाट सकुशल मुक्त हुन पाए जति दिन बाँच्न सकिन्छ त्यति आत्मसन्तोषले सजिलै निर्धक्क बाँच्न सक्ने छु ।


