धनमाया राई
(सिन्धुलीमाडी)
‘भोलि साँच्चै जाने हो त गौरवका बाबा ?’
‘कसले पो ख्यालठट्टा गर्दो हो !’
‘बाटो देखेको छैन, कसरी जाने त हजुर ?’
‘म लैजाउँला, बाटो जसले पनि बताइदिइहाल्छ नि ।’
‘गौरव ! तिमीहरु दुई जना पनि हिँड न ल ?’ मैले बुहारी नानीतिर पुलुक्क हेर्दै छोरालाई भनेँ ।
बुहारी अनुले जाने आशयका साथ पुलुक्क गौरवतिर हेरिन् ।
‘मेरो रामेछाप जानु छ आमा ! नत्र जान्थ्यौँ ।’ छोराले भन्यो ।
बेलुकीको भोजनको समयमा भएका संवाद हुन् यी । बिहानै नुहाइधुवाइ सकेर नित्य पूजा थाल्नुभयो गौरवका बाबाले । घरधन्दा गर्दै थिएँ म पनि, अनु नुहाउन झरिन् र भनिन्, ‘हामी पनि जाने ।’
‘अनि गौरव रामेछाप नजाने हो र ?’ मैले सोधेँ ।
गौरवले भन्यो, ‘आमा ! गाडी पनि बिग्रेको छ रे, अब भोलि जाने उता । तिमी ढिलो गछ्र्याै, कति बेला जाने हो ?’
‘आठ भनेको नौ बज्ला ।’ भनेर म छिटो छिटो पूजासामान तयार गर्न लागेँ । साँच्चै बिहान नौ बजे हामी दुई जना स्कुटरमा र छोराका दुई जना बाइकमा गरी चार जना मधुगङ्गा महादेव दर्शनका लागि निस्कियौँ तर बाटो हामीहरुका लागि अपरिचित थियो । उक्त मन्दिरमा जाने बाटो दुईतिरबाट छ भन्ने जानकारी पाएका थियौँ । एउटा तीनपाटन गाउँपालिका हुँदै र अर्को भिमान रानीबास हुँदै दुधौली नगरपालिका भएर । हामीले तीनपाटन गाउँपालिका हुँदै जाने निधो ग¥यौँ ।
कमलामाई नगरपालिकाको स्थानीय पाठ्यक्रममा समेटिएको सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. २ अन्तर्गत पर्ने पवित्र धार्मिक तथा सांस्कृतिक स्थल ‘मधुगङ्गा महादेव गुफा’ हामी पहिलोपटक जाँदै थियौँ । तीनपाटन बेलघारीसम्म त अनुबाहेक हामी तीन जना पुगेकै थियौँ । त्यहाँ पुगेपछि कसैलाई सोधौँला भन्ने अठोट गरी बाटो लाग्यौँ ।
कालीमाई कमलालाई सादर प्रणाम गर्यौं अनि माझीटारको उर्गेन छोइलिङ गुम्बालाई दायाँ पारेर लाग्यौँ पूर्वतिर । हुस्सुले घुम्टो उघारेर घमाइलो दिनको सङ्केत दिँदै थियो तापनि चिसो सिरेटोले आफ्नो धर्म छाडेको थिएन । सरर चिल्लो बाटोमा एकै छिनमै हामी गडौली पुल पुग्यौँ । २०४७ साल साउनमा प्रवेशिका परीक्षा उत्तीर्ण भएर कहिले खुसी साटौँ भन्दै नतिजा निस्केपछिको पहिलोपटक असोजमा ठुल्दाइ–भाउजूसहित लहानदेखि सिन्धुली आएका थियौँ । चिप्लो र ओरालो बाटो, बर्दिवासबाट नै सिमसिमे पानी परेकोले यात्री चढ्दा र झर्दा हिलैहिलो । कारेघोप्टेको ओरालोमा पनि गाडी फसेर सबै यात्रु ओर्लिएर ठेल्दा ठेल्दा गरी निकालेर आएको । ठुलो मालबाहक ‘टडक’को मझेरीको बसाइ, सामान र यात्रु सँगसँगै हल्लिँदै र ठोकिँदै अब त घर आउन लाग्यो भनी खुसी हुन लाग्दा फेरि यहीँ, हाल गडौली पुल बनेको ठाउँको खोलामा ट्रक फसेर भोक र थकाइले व्याकुल हुँदै राति आठ बजे राममाढी आइपुगेका थियौँ हामी । अहिले त कतै कतै कच्चीबाहेक पक्की बाटो हुनाले आधा घण्टामै कमलामाई नगरपालिकाको वडा नं. ११ को थरहरी भन्ज्याङ पुग्यौँ । २०४५ सालमा म यही बाटो हिँड्दै बेलघारी गएकी थिएँ । अनि कच्ची बाटो हुँदा एकपटक भीमथान ।
ओहो ! रोपाइँ गर्न तयार पारेजस्तो दगदग हिलो पो हुन्थ्यो त यो बाटोमा । ज्यादै अप्ठ्यारो । यताको पक्की बाटोमा यस्तो सजिलो त पहिलो यात्रा हो मेरो । पहिले र अहिलेको तुलना गरेर के साध्य हुन्थ्यो ! थरहरीमा खाजा खाने होटल र पसल बाक्लै थिए । हामीलाई केही खानु थिएन । त्यसैले सरासर हिँडिरह्यौँ अनि केही छिनमा झर्यौं धमिले खोला । पुल तरेपछि बाटोको छेउछाउ हलक्क बढेका मकैका बोटहरु देखिए । कतै तरकारीका टनेलहरु पनि । खोइ टमाटर फलेका ? फ्यात्त बोटै पो कुहिएका रहेछन् । यसपटक टमाटरको भाउ राम्रो छ तर हुस्सुले देखिसहेन । तुसारो नै दुस्मन बनेर निस्कियो र त किसानले उत्पादन गर्नै सकेनन् । बिचरा किसान ! सधैँ मर्कामा, दुःख गरेर फलायो भाउ छैन, कहिलेकाहीँ फल्दैफल्दैन । कतै कतै पहेँलै फुलेका तोरीबारी अनि कतै आलुका कल्कलाउँदा बोटहरु । पहिले पहिले त माघ पन्ध्र भएपछि पो मकै छर्ने सुरसार हुन्थ्यो, गहुँ पाकेपछि चैत–वैशाखमा पनि मकै छरिन्थ्यो र साउनमा रोपाइँ हुन्थ्यो । अब त जुनसुकै मौसममा उपलब्ध हुने हाइब्रिड मकैको बिउ । फल्न चाहिँ फल्ने, न खानामा तागत न त स्वाद । के गर्नु बिचरा ! किसानले बढी उत्पादन नगरे त व्यपहार टार्न कसरी सक्थे र ?
अप्ठ्यारा दुई घुम्ती छिचोल्दै वर्षायाममा गहिरो, दह्रो र ठाडो खोलो जिर्गाको पुल तरेको केही समयमै सलल बग्ने चँदाहा खोलाले स्वागत गर्यो हामीलाई । चँदाहा पुल देख्नासाथ मलाई ०४५/०४६ सालको झल्याँस्स सम्झना आयो । बेलघारीबाट तत्कालीन जिल्ला सभापति नर्वदा घिमिरे दिदी महिनामा दुईपटक धन्न कसरी हिँडेर सिन्धुली सदरमुकाम आउनुहुन्थ्यो होला चारपाँच जना पाका उमेरका दिदीबहिनीसँग ? त्यसैले त सधैँ आधा रात हुन्थ्यो नि आइपुग्दा । न अहिलेजस्तो मोबाइल फोनको सुविधा थियो आउँदै छु भन्नलाई । कहिले ‘जिर्गाले थुन्यो त कहिले चँदाहाको वारपार बाढीले एक घण्टा रोक्यो’ भन्नुहुन्थ्यो । खानपिन गरी पोतिसकेको चुलो फेरि फुक्नुहुन्थ्यो हाम्री ठुली भाउजू र फेरि तयार हुन्थेँ म धन्दा गर्न । चँदाहा तर्नासाथ त आइहाल्यो नि बेलघारी । अँ साँच्चै, यतै कहाँनिर पो थियो नि दिदीको घर ? उप्m … ! कच्ची बाटो सुरू हुनासाथ फेरि मस्तिष्क हल्लिन थाल्यो । जानु त परिगो जसरी भए पनि ।
केही बेर गुडेपछि शाखामाढी पुग्यौँ । फेरि जोरबाटोबाट गौरव खोलातिर लाग्यो । हामी पनि पछि लाग्यौँ । बाटो छैन, घुमेर गाउँतिर पो आइएला जस्तो । म ओर्लेर केही अगाडि गएँ, घर पनि छैन । अलि पर एउटा गोठ रहेछ मान्छेविनाको । अझै पर खेतमा काम गरिरहेका दुई जना भाइसँग बाटो सोधेँ, बाटो त त्यही रहेछ । हेर्दा सानो र नपत्याउने खालको देखिने बाँसको घारीबाट छिर्नुपर्ने हुनाले हामी अलमलिएका रहेछौँ । जाँदाजाँदै लङ्गुरखोलाको पुल तर्ने बेलामा गौरव पुलतिर लाग्यो । त्यहाँ दुई–तीनओटा पसल र छेउमा चार–पाँच जना मान्छे देखिए । हामी केही पछि थियौँ । बाइक फर्काएर गौरवले सानो बाटो समात्यो, हामी पनि पछि लाग्यौँ । चिप्लो बाटो, कुलो, खेत हुँदै अगाडि जोरबाटो । गजधम्म परेर बसेको भित्तो र एउटा उकालो पो आयो । हामी दुई दोबाटोबाट अलिक परसम्म ठाउँमै रोकियौँ । गौरवका दुई जना भने चढे माथि । लु, अब हामी त जान सक्दैनौँ । म ओर्लिएँ र सोधपुछ गर्न वारिपारि आँखा डुलाएँ । नजिकै घर थिएनन् । खेतको पारिपट्टि सानो झुपडीमा ससाना तीन जना नानीहरु देखिए ।
‘ए, नानीहरु ! तिम्रा ममीबाबा खोइ त ?’ खै ! के भने पटक्कै बुझेको भए पो ! त्यसभन्दा निकै पारिको घरमा अधबैँसे मानिस देखा परे । मैले ठुलो आवाजमा सोधेँ, ‘मधुगङ्गा जाने बाटो यही हो भाइ ? मास्तिर कि तेर्सो ?’
‘कालीखोला जाने हो र ?’ प्रतिप्रश्नले म झस्किएँ ।
‘कता हो नि फेरि कालीखोला ? ‘मधुगङ्गा’ जाने भनेको ।’ मैले ठुलै स्वरमा फेरि सोधेँ ।
‘एउटै हो जे भने पनि, पुल तर्न छोडेर किन घुमेको होला नि अप्ठ्यारो बाटो ?’ उल्टै पिरोलिँदै कराए र ‘तेर्साे बाटो जानू’ भनेर देखाइदिए । छोरालाई फोन गर्छु लाग्दैन, त्यो कोप्चोमा । उनीहरुले पनि ती भाइसितको हाम्रो दोहोरो संवाद सुनेछन् र माथि पुगेर ओरालिए । अनि पुनः अघि लागे । वर्षाको समयमा खोलो बाढी आउँदा हिँड्ने बाटो पो देखाइदिएका रहेछन् अघि भेटिएका निठुरीहरुले । म स्कुटरबाट ओर्लेर खुरूखुरू हिँडेँ । मान्छे हिँड्ने गोरेटोमा घिस्रिँदै बल्लतल्ल बिस्तारै बिस्तारै कटाउनुभयो त्यो अप्ठ्यारो । भुतुक्क भएर निस्कियौँ दोबाटोमा । सिधै जाँदा पाँच मिनेटमै कटिने बाटो पच्चिस मिनेटसम्म त्यतै घुमिरह्यौँ । फेरि सुरू भयो उकालो । अब मेरो मनमा चिसो पसिहाल्यो । मेरो काम त यहाँ पनि खलासीको नै हुने होला भनेर । होसियारीपूर्वक उक्लिँदै थियौँ हामी, धुलोमा कोल्टे परिहाल्यो स्कुटर । हत्त न पत्त खुट्टा भुइँमा टेकिहाल्यौँ । दुवै जना झरेर थेग्दाको जात्रा । अनि त म केको चढ्थेँ र ! बरू हिँड्नै सजिलो । कतै गर्गरे ढुङ्गाको उफ्राइ त कतै शीतले लफ्रक्क भिजेको चिप्लो बाटो, लौ ! कहिले अघि कहिले पछि गर्दै डाँडामा निस्कियौँ । तीनपाटन र दुधौलीको सिमाना रहेछ त्यो डाँडो । त्यहाँबाट फेरि त्यस्तै ओरालो । चढ्ने र झर्ने क्रम उस्तै थियो । अन्तिमपटक बाँसघारी र वनकेराको घारी अनि चिपचिप पानी भएको खोल्सीमा ओर्लिएर चढेपछि नओर्लिकन नै हामी ठ्याक्कै पौने एघार बजे मन्दिरको फेदीमा पुग्यौँ । गोठमा काम गर्दै गरेकी मेरै उमेरकी बहिनीसँग मैले सोधेँ, ‘अझै कति समय लाग्ला माथि पुग्न ?’
पन्ध्र मिनेटमा पुग्ने जानकारी पाएपछि हामी चारै जना पैदल यात्री भएर गफिँदै र थकाइ मार्दै उकालियौँ ।
म, ‘अघि कस्ता उमेरका मान्छे थिए हँ पुलमा ?’
गौरव, ‘दुई जना हामीजस्तै केटा र दुई जना त पाकै मानिस थिए ।’
म, ‘किन तिनीहरुले सिधै बाटो नदेखाई अप्ठ्यारो घुम्तीतिर पठाएर हामीलाई हैरान गराएका होलान् है ?’
गौरव, ‘खोइ ! यताको बाटोमा पानी छ उताबाट जानू, भने ।’
‘ल, भैगो फर्कंदा त्यतैबाट जाउंँला ।’ भनें मैले ।
जङ्गलको बाटो हुँदै मन्दिरतर्फ उकालो बाटो चढ्दै गर्दा बाटोको दायाँबायाँ देखाउँदै गौरवका बाबाले भन्नुभयो, ‘ओहो ! कत्रा कत्रा नाम्लाफेरे सखुवाका रूख ! हामीले यस्ता रूख कहाँ देख्न पाउनु ।’
हामीले पनि त्यत्रा रूख नदेखेको त बर्सौं भइसकेको थियो । लहरैलहराको भारले नुहेका पोथ्राहरु, ढकमक्क फुलेका फूलखरूकी र लरक्क काँचै खाऊँ जस्ता धँगेरोका डालीहरु देखेर एकपटक फेरि २०७० सालको आगलागीमा परेका आफ्ना १३ ओटा अति प्यारा खसीबाख्राको सम्झनाले आँखा धमिलिए मेरा । ‘आहा ! बाख्राले खाने कति राम्रा स्याउला !’ फुत्किहाल्यो मेरो आवाज !
‘यतै बसे भैगयो नि बाख्रा पालेर’ रे गौरवका बाबाचाहिँ ।
‘लौ न हजुर, बन्दोबस्त मिलाएर यतै राखिदिनुस् ।’
‘ख्याल बस्दिनस् यहाँ ! कतै गएर एक छिन अडिने होइन ।’ यसरी दोहोरो ख्यालठट्टा गर्दै, हाँस्दै र रमाउँदै हिँड्ने मौका कहाँ मिलेको थियो र हामीलाई ? भर्खर विवाह भएका बेला एकदुईपटक बाहेक । अनि त बालबच्चा गोल्याँसो पारेर खुर्कोट र सिन्धुली प्रायः आफू एक्लै हिँड्नुपथ्र्यो । उहाँ बिरामी भएका बेलामा बल्ल भेट हुन्थ्यो अनि कता ठट्टा गर्नु ! उफ् … ! ती दिनहरु सम्झिँदा त भक्कानो फुटेर आउँछ, थचक्क बसेर ग्वाँग्वाँ रून मन लाग्छ मलाई । त्यति बेला त मनलाई मसक्क कसेर ‘हुँ यात्री यौटा रूमल्ली हिँड्ने अँधेरी रातमा…, हुँ यात्री यौटा कहानी लेख्ने जङ्गली पातमा … !’
यस्तै छताछुल्ल भावुकता पोखिएका गीतका शब्दसँगै आँसुका धाराको मौन सङ्गीत र ओठको थरथराहट सुसेल्ने मेरा निम्ति आजको यो अपूर्व संयोग अत्यन्तै अविस्मरणीय पल बनेर हृदयको कुनामा सुरक्षित हुन पुग्यो । हर्षविभोर हुँदै मैले गीत गाएँं ‘यो यात्रा सुनौलो अनि साथ तिम्रो … !’
छोराबुहारीले भिडियो खिचिदिए । हात समाउँदै मग्नमस्तीले उकालिइरहँदा मलाई बाटो अझै लम्बिरहोस् भनेझैँ लागेको थियो । भोकतिर्खा त कता हो कता ! सधैँ ठाकठुक परेजस्तै देख्ने हाम्रा केटाकेटी पनि आज हामीलाई देखेर लजाएझैँ गर्थे । म आफै पनि लजाएकी थिएँ आफ्नैहरुसँग र आफैसँग ।
हेर्दाहेर्दै उकालो बाटो कटेको पत्तै भएन । गन्तव्यमा पुग्नै लाग्दा भोर्ला र देबेलहराले एउटा रूखदेखि अर्को रूखसम्म जेलिएर बनेको प्राकृतिक गेट रहेछ । हामी त्यसैमुनिबाट प्रवेश गरी आलमोनियमका चम्किला डन्डी भएका खुड्किलामा निस्कियौँ । माथिबाट सफा खुड्किला र चम्किला डन्डी तलसम्म देखिन्थे । उँभो हो कि उँधो जाने ? भनेर धेरै बेर सोच्नै नपाई तलतिर देखियो भित्तामा ‘महादेव’ लेखिएको सानो छाप्रो । हामी डन्डी समाउँदै सिमेन्टका फराकिला खुड्किलैखुड्किला ओर्लियौँ । घडीले ११ः१५ बजाएको रहेछ ।
भ¥याङको दायाँतर्फ सिमेन्टको गारो र अगाडिपछाडि पाली गाँसेर बनाइएको जस्ताको छानो भएको आश्रम । बायाँतर्फ आँगनमा चप्पलजुत्ता र झोला राख्न बनाइएको आठओटा जस्तापाताको छानो भएको पानी ओताउने एकपाखे होचो टहरो । जस्तामाथि दुईओटा माइक, मैले बालाचतुर्दशी, शिवरात्रि, साउन महिना र तिज सम्झिएँ । ती पर्वमा कहाँ पाइलो राख्न पाइन्छ होला खै यति साँघुरो ठाउँमा ! धन्न हामी पर्व नपरेको समयमा आएछौँ र प्रकृतिको प्रत्यक्षानुभूति गर्न पाइयो । हामीले जुत्ता खोलेर खाटमुनि र झोला खाटमा राख्यौँ । छाप्रोको अगाडि पनि दुईओटा खाट र दुई बेन्च रहेछन् । छेउको खाट रित्तो थियो भने भित्ताको खाटमा रङ्गीचङ्गी मालाका डोराहरु, अबिर–केसरी, जौतिल र सेता प्रसादीहरु फिँजाएर राखिएका थिए । सरासर छाप्रोमा चिहाएँ मैले । होचामोटा खालका हँसिला अनुहार भएका पुरूष देखिए । ‘पुजारी बाजे’ त हैन, बरू ‘पुजारी दाइ’ भनौँं होला के के तुनतुन गरिरहेका रहेछन् ।
‘तपाईँ पुजारी हुनुहुन्छ ?’ मैले सहजै सोधेँ ।
‘हो म पुजारी ! सामान नभए लानुस्, पूजा विधि सुनेर जानुस् ।’ छोटो उत्तर उनको । मैले घरैबाट सब थोक लगेकी थिएँ । चन्दन, सेता फुलिमकै जस्ता प्रसाद किन्यौँ र आँगनको छेउमा रहेका जोर धारामा हातगोडा पखालेर सानो हनुमानको मूर्तिलाई दर्शन गरी झर्यौं अझै तल खोल्सीमा । साना साना दुई घुम्ती सिँढी ओर्लेर सकिनासाथ पल्लो डाँडा र हामी झरेको डाँडाको खोँचमा सानो ठाउँ जसको दायाँतिर कृत्रिमझैँ लाग्ने तर विशुद्ध प्राकृतिक अति कञ्चन झरना छङ्छङाउँदै खसिरहेको, सिधै अगाडि पल्लो भित्तामा सरस्वती, गणेश र तपस्यारत बाबाको शिला । बाबाको दाहिनेतिर सेतो चाँदीझैँ टल्किएको त्रिशूल र अगाडि शिवलिङ्ग । मेलामा भिड हुँदा पुजारीले टीका लगाउन बस्ने फलामे डन्डीले घेरिएको सानो मन्दिर । वरिपरि जङ्गल अनि लहरा र रूखपातले ढाकिएको शान्त्त वातावरण, वरिपरि चारैतिर भिरैभिर । सरस्वतीको मूर्तिमा फूल राख्दै गरेका अर्का जटाधारी बाजे त्यतै देखिए । बाजेलाई पूजाका स्थानहरु सोधेर गणेशजीको दर्शन गरी हामी गुफातर्फ लम्कियौँ । सानो झरनाबाट छङ्छङ् झरेको पानीको दह, गहिरो दहमा फलामको गेट टाँड पारेर ओछ्याइएको हुनाले पिँडुला मात्रै डुबाउँदै उभिएर भित्तामा रहेको नाङ्लोभरिको मुख भएको गुफातर्फ हेर्यौं । बाहिरबाट अँध्यारो देखिने तर नियालेर हेर्दा त तीनओटा शिलाका सिरमा माथि जटाबाट तप्प तप्प जलवर्षा भइरहेको, हेर्दैमा चित्ताकर्षण हुने त्यो प्राकृतिक गुफामा हामीले पूजा गर्ने समयमा ठ्याक्कै झरनाको छिँडीबाट सूर्यका मघुरा किरणहरुले चिहाइरहेका थिए । अनि रूखका पात र अनगिन्ती हाँगाहरुले छेकेर छर्छराएको छहराको पानीमा परेका किरणहरु इन्द्रेणीझैँ चम्किरहेका थिए । त्यति बेला मलाई राष्ट्रकवि माधव घिमिरेको ‘सानी नदी’ कविताका एक एक हरफ वास्तविक भएर झल्झलाए—
त्यो घामछायाँमय कुञ्जभित्र
छन् इन्द्रिनीका रचना विचित्र ।
आनन्दमा चट्ट फिँजाइ लट्टा
खेल्छिन् छहारीमुनि नित्य गट्टा ।
जङ्गलमा घाँसदाउरा, पानीपँधेरा गर्दा कैयौँपटक यस्ता रङ्गीन स्थानमा पुगियो होला तर आज पहिलोपटक कविमनबाट झल्झलाकार भएर निस्किएको साँच्चिकै प्रकृतिको वर्णनातीत सुन्दरतासँग साक्षात्कार हुन पाएको अनुभूतिले मेरो मन स्वर्गीय आनन्दमा चुर्लुम्म डुब्न पुग्यो । मैले कुञ्जभित्र पसेर साक्षात् इन्द्रेणी छायाँमा बसी देवको दर्शन पाइरहेझैँ भान भइरह्यो । यसै जिल्लाका वासिन्दा भएर पनि पहिलोपटक यस पवित्र पुण्य तीर्थ मधुगङ्गा महादेव मन्दिरमा पुगेका थियौँ हामी । निकै लामो भलाकुसारी भयो अनन्त निरञ्जन निराकार प्रभुसंँग गौरवका बाबाको । माघको ठण्डी, पहिले दहमा पस्नासाथ चिसोले कटक्क काटेको गोडा उभिँदाउभिँदै लाटा भइसकेका थिए । उहाँपछि हामीले पनि उहाँले भनेअनुसार धूपदीपसहित पवित्र मन अर्पण गर्यौं । आश्रममा फर्किंदा दिउँसोको बाह्र बजिसकेको थियो । आजकल जहाँ गए पनि मन्दिरवरपर खानेकुरा र पानी किन्न पाइन्छ तर यो अलिकति पनि कृत्रिमताले अँगाल्न नपाएको विशुद्ध प्राकृतिक स्थल रहेछ । हामी दुईले पुजारी दाजु लालबहादुर थापामगरसँग यो मन्दिरको नाम र उत्पत्तिका बारेमा सोध्यौँ । गौरवका बाबा आफै शिवगुरूको अत्यन्तै प्रिय भक्त भएकाले निकै उत्साहित हुनुहुन्थ्यो यहाँका बारेमा सुन्न र बुझ्न । अनि त हलेसी महादेव जाने बेलामा जस्तै यसपटक पनि उहाँ आफै त्यस पवित्र पुण्य तीर्थमा पुग्न हतारिनुभएको थियो । हाम्रो आग्रहमा गुरू दाइले छोटकरीमा बताउन सुरू गरे ।
खेतीकिसानी गरी जीविकोपार्जन गरेर बसेका लालबहादुरका पिता बद्रीबहादुर थापामगर सधैँ गाईवस्तु चराउन यसै भेगतिर जान्थे रे । अर्का गाउँका उनका भान्जाहरु पनि गाईवस्तु चराउन त्यही पाखामा ल्याउँथे । २०१८ सालमा उनका भान्जाहरुको तीनबर्से लक्का जवान बाछो तीन दिनदेखि बेपत्ता भएछ । गाईवस्तुको चरन, घना जङ्गल, बुटापोथ्रा चहार्दा पनि कतै फेला परेनछ । चौथो दिन पनि बिहानभर खोजेछन् । केही सिप नलागेपछि हैरान भएर मामालाई गुहार्न पुगेछन् । मावलीमै खाना खाएर बाँसघारीको चुल्ठो जोरिएको इनारजस्तै स्थानमा पुगेपछि मामा बद्रीबहादुरलाई बिँडीको तलतल लागेर एक छिन त्यहीँ बसेछन् । सँगै बाछो खोज्न आउने १३ वर्षका कान्छा भान्जा (पूर्णबहादुर) अचानक चिप्लिएर गुफाछेउ खसेछन् । आत्तिएका साना भान्जाका आँखा गुफाका अनौठा दृश्यहरुमा अल्झिएपछि तत्कालै मामालाई पनि ओरालेछन् ।
ओहो ! मामा झन् चकित हुन पुगेछन् त्यति बेला । गुफाको अँध्यारोमा पार्वतीलाई काखमा राखेर प्राकृतिक स्वरुपमा शिवजी विराजमान । मास्तिर शिवजीका जटाबाट गङ्गाजल तरररर बगिरहेको । गाईका चिल्ला थुनहरुबाट तप्पतप्प सेता दुधजस्तै थोपाहरु खसिरहेका देखेपछि ‘लौ भान्जा ! यहाँ त साक्षात् भगवान् शिव पो रहेछन्’ भनी प्रणाम गरी ‘हे परमेश्वर, यदि तिमी सत्यका भगवान् भए चार दिनदेखि हराइरहेको हाम्रो बाछो आजको सूर्यभरिमा भेटाइदेऊ’ भनेर वर मागेछन् र चार पाउ टेक्दै माथि दम्स्याइलो ठाउँमा निस्केर तीनपटक ‘ओजी’ ! ओजी !’ भन्नासाथ बाछो ‘बाँ’ गरेर कराएछ । उनीहरु त्यतै उकालो लागेछन् । दिनहुँ त्यही पाखामा खोज्दा पनि नभेटिएको बाछोलाई अचानक मन्दिरको शिरतिरको जङ्गलको डाँडोमा भेटेर अत्यन्तै हर्षित हुँदै बाछो लिएर घर आएछन् । कहिलेकाहीँ दुःखबिमार र बिघ्नबाधा परेका बेला मात्र बलपुकारा माग्न त्यस गुफामा पुग्ने बद्रीबहादुरलाई बारम्बार त्यस गुफाले आकर्षित गर्न थालेपछि अब भएन भनी त्यस गुफाको नाम के राख्ने होला भनेर सोच्न थालेछन् । उनले रामेछाप ऐँसेलुखर्कका जन्मकुल राई भएका निलकण्ठ गिरीलाई लिएर आई गुफा देखाएछन् । २०२७ साल पुस महिनाको जाडोमा तीन दिन तीन रात त्यहीँ धुनी बालेर बसेपछि चौथो दिन बिहान गुरूले धुलौटोमा कोरी ‘मधुगङ्गा’ महादेव भनेर नामकरण गरेछन् । यसो भनी उनले हामीलाई सुनाए ।
‘हामीले सुनेअनुसार त हराएको गाईले दुध चढाएको हुनाले मधुगङ्गा महादेव नाम रहेको भन्ने पो थियो त ?’ भनेर सोध्दा हौसिँदै पुजारी दाइले यस्तो प्रसङ्ग बेलिविस्तार लगाए—
उनी भर्खरै दुईतीन वर्षका हुँदा अर्थात् २०२९ सालतिर उनको एउटा मालीगाई बच्चा जन्माउन भरेभोलि भएको रहेछ । उसलाई चर्नका लागि वन नपठाउने गरिएको रहेछ तर अरु बथान चर्न हिँडेपछि उसले थलामा कराएर हैरान बनाएछ अनि उनकी आमा मनमाया थापामगरले त्यो माली गाईलाई फुकाएर बथानसँग पठाइदिइछन् । चर्न गएको गाई साँझमा अरु बथानसँग फर्केर घरमा नआएपछि कुनै अप्ठ्यारोमा पर्यो कि त, न वनमै ब्याएर पो बस्यो कि त भन्ने चिन्ताले बुढाबुढी रातभर आँखा जोर्नसम्म सकेनछन् । बलपुकारा माग्न जानुपर्यो भनी भोलिपल्ट बिहान सबेरै नुहाएर धुपौरोमा कोइला र रूमालमा फूलअक्षता पोको पारी उनै मधुगङ्गा महादेव गुफामा घस्रँदै पुगेछन् । पूर्व–पश्चिम, उत्तर–दक्षिण कतैबाट पनि मान्छेसमेत सहज रुपमा पुग्न नसक्ने त्यो अनकन्टार खोँचमा राँक्किएको फाँचोसहित गुफातिर फर्केर उभिइरहेको गौमातालाई देखेर छक्क पर्दै हर्ष र आश्चर्यले एकैसाथ ढपक्क ढाकेछ बद्री बालाई ।
‘मान्छे आउन त यस्तो गाह्रो हुने यस ठाउँमा तिमी कसरी आइपुग्यौ माली ?’ भनी हातको धुपौरो भुइँमा राख्दै बडो प्रेमले सुम्सुम्याउन पुगेछन् । कतै घाउचोट नभएको सद्दे गाई यहाँ कसरी आइपुग्यो होला त ? भन्ने सोच्दै आफूले लिएर गएका धूपदीप महादेवलाई चढाई जसरी भए पनि मालीगाईलाई यस अप्ठ्यारोबाट सकुशल निकालिदिन पुकारा गरेछन् र गाउँतिर झरी सबै गाउँलेलाई आफ्नो मालीगाईको अवस्था जानकारी गराई सहयोगको लागि आग्रह गरेछन् । नजिकै घरहरु भए पो !
वारिपारि हल्ला गरेर गल, कोदालोकोदाली जुटाएर गाउँलेहरु गाई भएको ठाउँमा पुगेछन् । अलि अलि खनीखोस्री गरेर घारीबुटा पन्छाएपछि उनै महादेवको दैवी शक्तिले होला, त्यस अवस्थाको गाई अगाडिको दुई घुँडा मारेर त्यो अप्ठयारो बाटोबाट फटाफट हिँडी सजिलो ठाउँमा निस्किएछ । यो देखेर बद्री बा र अन्य गाउँले झन् चकित भएछन् । यहाँ सत्यका महादेव हुनुहुँदो रहेछ भन्ने विश्वासमा दृढ भएछन् । त्यसपछि यस मन्दिरका बारेमा बिस्तारै प्रचारप्रसार बढ्दै गएछ । हिन्दु धर्मशास्त्रअनुसार विशेष गरेर साउन महिनामा महादेवको पूजाअर्चना गरिने भएकाले यस ‘मधुगङ्गा महादेव धाम’मा नेपालको तराई र छिमेकी मुलुक भारतदेखि समेत ‘बोल बम’ जानेको घुइँचो लाग्न थालेछ । यस गतिविधिलाई ध्यानमा राखेर स्थानीय सरकार दुधौली नगरपालिका वडा नं. २ बाट बजेट उपलब्ध गराई बिस्तारै बाटो सजिलो बनाउँदै गएर हालको अवस्थामा आएको वृत्तान्त पुजारीले बताए । अन्य धार्मिक, सांस्कृतिक स्थलमा पुगियो भने तिनका बारेका किंवदन्ती मात्रै सुन्न र पढ्न पाइन्छ तर पवित्र स्थान मधुगङ्गामा पुगेपछि भने सुन्दा कथाजस्तै लागे पनि यथार्थमा बाबुआमासहित वर्तमान पुजारीको भोगाइलाई उनकै मुखबाट सुन्न पायौँ । त्यसो त, यस्ता किंवदन्ती र स्थानीय देवीदेउताका बारेमा ‘होला’ पनि कसरी भन्नु ? अनि ‘होइन होला’ पनि कसरी भन्नु र ? तैपनि लोकविश्वासप्रति हामीले सम्मान अर्पण गर्नै पर्छ । मैले पनि गरेँ र श्रद्धाविह्वल र हर्षविभोर भएर मधुगङ्गाको मोहगङ्गामा चुर्लुम्मै डुबेँ ।
उभिरहेका लट्टेबाबा घरपछाडि गएको देखेर म पनि उनैको पछि पछि पछाडि पालीमा गएँ । दुइटा ठुला मुढा र एउटा ढुङ्गा जोडेर चुलो बनाइएको रहेछ । त्यही आगोमा जम्न आँटेको दुध तताउन लागेका बाबालाई मैले नाम र घर सोधेँ । ‘रामचन्द्र यादव’ नाम भएका उनी बद्रीबहादुर बुबाका चेला रहेछन् । जानकी मेडिकल कलेजको छेउछाउ जनकपुर घर भए पनि उनी विगत ४६ वर्षदेखि यहीँ बस्दा रहेछन् । अर्का चेला ‘प्रेम राउत’ घर गएका रहेछन् । मैले पनि भाँडा सफा गरेर तातो पानी बसाली पालीबाहिर निस्केर भ्याएसम्म दृश्यपान गरेँ । तल कुनामा झरना छङ्छङाउँदै गीत गुन्जाइरहेकोे थियो । माथितिरको ठुलो रूखबाट विनाहावा पातहरु फुर्फुराउँदै खसिरहेका थिए, मानौँ कसैले माथि बसेर खटाई खटाई खसाइरहेछ । त्यो शान्त सुरम्य वातावरणमा रूखको टुप्पातिर भर्खरै बिउँझेर चरीबरीले चाँचाँचुँचुँ बोलेपछि म तिनका मोहनीले भुतुक्कै भई त्यतैतिर तानिएँ । मलाई त्यहीँ बसिरहूँ झैँ लागिरहेको थियो । ला, भाँडाको पानी भकभक उम्लिसकेछ । मैले तातो पानी ल्याएर सबैलाई दिएँ । उहाँहरुको वार्तालाप अझै सकिएको थिएन । पुजारी दाइको करले गौरवका बाबा र मैले पानी र दुधको चिया खायौँ । दोहोरो परिचयपछि पुजारी दाइले आफू बिरामी भएकोले छब्बिस दिनपछि मात्रै यहाँ आउन सकेको र केही हेरिदिन आग्रह गरे । गौरवका बाबाले पनि महादेवलाई शरीरमा डाकेर आफूले जानेको गरिदिनुभयो । पुजारी दाइ पनि खुसी भए । यति मिठो आत्मीयता ! म शब्दमा व्यक्त गर्नै सक्दिनँ ।
दर्शनार्थी भएर त्यस पुण्य स्थलमा पुगेका हामी आफन्त बनेर बिदावारी भई साढे एक बजे ओरालो झर्यौं । पन्ध्र मिनेटमा तल आइपुग्यौँ । फेरि सुरू भयो मेरो स्कुटरमा घरी घरी झर्ने र चढ्ने क्रम । झर्दै चढ्दै गर्नुभन्दा ओरालोमा म नै बरू अघि अघि दगुरेँ । लामो समयपछि बायाँ छेउमा देउराली देखेँ । त्यसमा एउटा ढुङ्गा र एक डाला पाती भाँचेर चढाएँ । त्यसै बेला उछिनेर अगाडि जानुभएको थियो, उकालो चढ्दा चिप्लेको घुम्तीमा पर्खिरहनुभएको रहेछ । म अझै अगाडि लागेर हिँड्दै थिएँ । बिहान भेटिएकी दिदी कार्टुनमा सिङ्गै कुखुरो र झोलामा अन्य सामान बोकेर मसक्क मस्कँदै हामी झरेको बाटो उक्लँदै रहिछन् । उनलाई लाग्यो होला, आखिर गाडी हुने पनि त हिँडेकै छन् ।
अनुलाई पुलमा ल्याई छोडिराखेर छोरा गौरव मलाई लिन उकालोमा पुगेछ । बाबाचाहिँ बल्लतल्ल ओरालो झर्दै हुनुहुन्थ्यो । उसले मलाई बसायो र सँगसँगै पुलसम्म आइपुग्यौँ । अनु काँचै चाउचाउ चपाउँदै रहिछन् । भोक लागेर पनि टरिसकेको थियो । तेर्सो बाटो हुनाले हामी दुई बजे बेलघारी बजार पुग्यौँ । राम्रै नाम र विज्ञापन देखिने होटलमा, राम्री साहुनीसँग खाजा पाइन्छ कि भनेर सोध्यौँ, साकाहारी खाजा भनेपछि आजकालका साहुनीको अनुहार नै खुम्चिने । धमिलो अनुहार हेर्नुभन्दा चारै जना जुरूक्क उठेर सडकपारिको सानो पसलमा सर्यौं ।
‘दाने दाने मे लिखा है खानेवाले का नाम ।’ मलाई खुब कण्ठ छ हिन्दीको यो वाक्य । दुधचिउरा मगाएर खान लाग्नुभयो उहाँहरु । त्यतिन्जेलमा मैले मेरो बिहानदेखिको नर्वदा दिदीको घर कहाँनेर होला भन्ने जिज्ञासाको उत्तर साहुजीबाट पाइसकेकी थिएँ तर नयाँ साहुजीको उत्तरले चित्त बुझेको भने थिएन । भित्र पसेर मैले पनि फटाफट खाजा खाएँ र बाहिर निस्केर चन्द्रावती मावि बेलघारीका आधुनिक भवनहरु नियाल्न लागेँ । आजभन्दा ३७ वर्ष अगाडि २०४५ सालमा जब म नौ कक्षामा पढ्थेँ । त्यसै बेला नर्वदा दिदीकी ठुली छोरी मीरा दिदीको बिहेमा म यहाँ हिँड्दै आएकी थिएँ । यसै चौरमा भलिबल खेलौँ भनेर त्यसै बेलाका गङ्गा कार्की, कुन्ता कार्की, कुन्ता घिमिरेहरुसँग चिनजान भएको थियो । त्यस बेलाका प्रधानाध्यापक कुलमणि आचार्य गुरूले मलाई पनि त्यहीँ पढ्न भन्नुभएको, सारा घटना आँखासामुन्ने नाच्न थाले । हाल कुलमणि गुरू निकै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेँ । त्यहीँ नवराज काफ्ले शिक्षक मित्र भेटिनुभयो र मैले सोधखोज गर्दा जुन ठाउँमा बसेर हामीले भर्खर खाजा खायौँ, नर्वदा घिमिरे दिदीको घडेरी र त त्यही पो रहेछ । कति मिठो संयोग !
दिउँसोको २ः३८ बजे बेलघारी छोडेर अलिकति अगाडि मात्रै आएका थियौँ, चौतारीमा दाउराको भारीमाथि एक मुठो सेउलासहित साना भाइ देखिए । मलाई पुरानो याद आयो खुर्कोटको । त्यस्तै घाँसेको लर्को त पछि नै पो रहेछन् । भर्खरै ४/५ वर्षका नानीलाई पनि एक मुठो बोकाइदिएका । कति रमाइलो बालापन र गाउँले जीवन । बिहानै गएका हुन् कि, खाना खाएर गएका होलान् जङ्गल ? भोकले मरेनन् त ? म एकै छिन त्यतै हराएछु ।
चँदाहाको फराकिलो बगर पार गरेर हामी भीमस्थान तर्यौ । सडकबाट परसम्म आँखा डुलाउँदा वारिपारि हरियाली ! जिर्गाको पुल के तरेका थियौँ, पिरो खार र कुइलधुइल धुँवाले बाटो नै देखिएन । ५०/६० जना मान्छे पनि सडकको छेउछाउ देखिए मलाई खुल्दुली भयो तर माथिल्लो घुम्तीबाट राम्रोसँग हेरेको त आगलागी भएछ । दमकलले आगो निभाउँदै रहेछ ! जस्ताको छानोमा पनि फोका फोका देखियो । कठै ! के कति क्षति भयो होला ? अरु जे भए पनि मेरा बाख्राहरुले जस्तो अकाल मरण कसैले भोग्नु नपरोस् । गाईवस्तुलाई केही नहोस् । सम्झँदा नि मुटु पिरो भएर आयो । कच्ची बाटोमा कति उफारेको नि ! आहा ! विभिन्न रङ र ठुलासाना एक हुल बाख्रा ! पाखाभरि चरिरहेका । खोइ त गोठाला ? ए पारिलो घाममा आनन्दले बसेका पो रहेछन् । मलाई तुरून्त ओर्लेर पालैपालो सुम्सुम्याउन मन लाग्यो तर म त बाटो हिँड्ने बटुवा थिएँ । मनको कुरा मनमै राखेर हुइँकियौँ । फनक्क फर्किहेरेँ एकपटक तिनै बाख्रालाई ।


