साउन ६, काठमाडौं । पूर्वप्रधानमन्त्री देशभक्त राजनेता कीर्तिनिधि विष्टको कृतित्व, व्यक्तित्व र संस्मरणसम्बन्धी ग्रन्थ प्रकाशित भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, प्रा.डा. सुरेशराज शर्मा र प्रा.डा. वासुदेव त्रिपाठीले संयुक्त रूपमा ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ ग्रन्थ सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रा. केशव सुवेदीले ग्रन्थका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टले नेपाली राजनीति, समाजको विकास र राष्ट्रियता रक्षाका लागि गर्नुभएको योगदानबारे यथेष्ट चर्चा गरिएको बताउनुभयो । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले नेपाली राष्ट्रियता रक्षाका क्षेत्रमा पूर्वप्रधानमन्त्री विष्टले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले ग्रन्थबारे चर्चा गर्दै नइको १८३ औँ ग्रन्थका रूपमा कीर्तिनिधि विष्टको जीवनी र संस्मरण प्रकाशित भएको जानकारी दिनुभयो । नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईले सो कृतिको सम्पादन गर्नुभएको छ । कार्यक्रममा साहित्यकारहरु शिला पन्त, गंगा कर्माचार्य पौडेल, डा.विणा पौडेल, मुकुन्द शर्मा चालिसे, मायादेवी शर्मा, अरुणबहादुर खत्री नदी, प्रमोद प्रधान, श्रीबाबु कार्की, भागिरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, जय छाङ्छा, ठाकुर शर्मा, माया ठकुरी, रमा शर्मा लगायतको सहभागिता थियो ।
प्रस्तुतिः अरुण खत्री ‘नदी’