कञ्चन जिआर
हरियाली वनमा
भेँडाबाख्रा गर्दै हुर्केकी म
मलाई कण्ठ छ – रूखका नाम
याद छ – फूल फुल्ने याम
काफल फल्ने बेला ।
रनवन पाखा उक्लँदै ओर्लंदै
मनमायाको पदचाप पछ्याउँदै
ऐँसेलुको झार उखेल्दै हुर्केकी म
चुत्राको रङ ओठको लाली बनाएर खेल्ने म
आफ्नै गाउँबस्तीमाथि पलाएको
ऐँजेरूसित लड्दा लड्दा योद्धा भएको म – प्रकृति !
हिमालको चुचुराबाट बगेको कञ्चन जलझैँ
निर्झर बग्दै सबैको प्यासको मुहान
अन्नको प्राण
पर्यावरणको त्राण नदी म ।
मलाई कलकल बगिरहन मन लाग्छ ।
रोशी
इन्द्रावती
भोटेकोसी
तामाकोसी र सुनकोसीमा पौडिने म जलपरी
पेटको आगो
र, ज्ञानको भोकले बाँधेर
बग्दै बग्दै बागमतीकिनारमा उभिन आएको छु
आफ्नै रूखमा उम्रिएको ऐँजेरूविरूद्ध लड्न छोडेको छु
र बाग्मतीको नदीमा होमेको छु घरको ढल
स्थानीय पहिचान मेट्न
मेरै जिभ्रोको स्वादअनुसार फेरिदिएको छु
सम्पदा र सांस्कृतिक सहरका नाम
म सगौरव भन्छु
यो सभ्यता मेरो पनि हो ।
यहाँको मौसम र मनोरम रङमा झुमेर
मैले बिर्सेको छु आफ्नो पहिचान
मैले बिर्सेको छु आफ्नो कर्तव्य र क्षमता
म लडाकु थिएँ
लड्थेँ प्रकृति र पर्यावरणको संरक्षणका लागि
बागमती
विष्णुमती, मनोहरा र हनुमती निलेर
कङ्कडको सहरमा
सभ्यता मास्ने युद्धमा सामेल छु ।
म – योद्धा थिएँ कुनै बेला
Facebook Comments Box

Similar Posts