त्रिभुवनचन्द्र वाग्ले
बाटाहरु विश्वास हुन्
विश्वासले विश्राम लिएको सुनिनँ
बाटोको अन्त्य भएको देखिनँ
हर पाइतालामा बाटाका स्मृति खोपिन्छन्
आफन्तहरु यात्रामा छन्, बाटामा छन्
दौडनु छ, उछिन्नु छ, जित्नु छ
बाटोलाई उछिनेर यात्रा कहाँ पुग्छ होला
यात्रा कि बाटो कुन चाँडै टुङ्गिन्छ
कुन चाँडै दौडन्छ
यी बाटाहरु
मानिसलाई पछ्याउँछन्, मानिसले पछ्याउँछन्
बाटो सकिएको दिन
मानिसले कस्तो यात्रा, कता गर्दो हो
जुनेली रातमा जूनसँग
अँधेरी रातमा अँधेरोसँग
टाँसिन्छन् बाटा
बाटाको देहमा कस्तो आत्मा हुँदो हो–
मानिसको जस्तै ?
मानिसभन्दा बाटो भिन्न छ
उसलाई दौडनु छैन, उछिन्नु छैन, जित्नु छैन
बाटोलाई, बाटालाई कुल्चेर
मानिस ढुकुढुकी सँगालेर यात्रा गर्छ
हलीको मुटुमा माटाको ढुकढुकी टाँसिन्छ
एक बुढो हली–
खेतका गरामा जोतारेले ढुकढुकी नाप्छन्–स्थेटेस्कोप
माटोको सुस्केरामा चुड्का सुन्छन्
बाटाहरु कम्मर मर्काएर नाचेको देख्छन्
भत्काएर बाटो,
मन्दिर उक्लने बाटो
भन्ज्याङ झर्ने बाटो
कस्तो निर्जीव सडक खनेका हुन्
कम्मर मर्काउने पो बाटो
समथर पनि बाटो हुन्छ र यात्राको, जीवनको ?
यात्रा उदाउने पहाड
यात्रा अस्ताउने पहाड
खनेर समथर नबनाऊ, नबनाऊ
उदय र अस्तको यात्रा बाँकी छ
मकै छोडाएर, खोया हेरेर
जीवनको दर्शनशास्त्रमा
धुनहरु दधिचीको कानमा खिसी गर्छन्
हिँड्ने भोक कहिले मेटिन्छ
भोक र यात्रा कसले जित्ने हो म्याराथन
बाटोलाई उछिन्ने यात्रा,
कुन नम्बरको गियरले तान्छ मानिसलाई
पतेरोले चुसेका बालीमा
शीतले भरिदिन्छ जीवनको बाटो
कहाँ भेटिएला दर्शनशास्त्र
यात्रा वा बाटो कुन जेठो हो ?
खोयाभन्दा कति फराकिलो छ घुनको दर्शनशास्त्र
युगौँ एउटा सुरिलो आवाज सुनेको छु–
बाटोले जीवनलाई घिसार्छ, यात्रालाई घिसार्छ
जीवनलाई, जीवनलाई, यात्रालाई
बाटोले घिसार्छ
बाटोले घिसार्छ
जीवन बाटोमा घिसारिन्छ