विमल खतिवडा ‘माइला’
(सिलगढी, भारत)
नयाँ साल
सँधै आउँछ उमङ्ग लिएर
जान्छ अनेकौँ यादहरु दिएर ।
मज्जा
कोही आफैमा रमाएर दङ्ग भए
कोही अरुको खुसीमा फुरूङ्ङ भए ।
भाषा
सबैको जान्नु ज्ञान हो हजुर
आफ्नो जान्नु पहिचान हो हजुर ।
परिचय
उसले मेरो सुन्दर मुहारलाई चिन्छ
संसारले मेरो व्यवहारलाई चिन्छ ।
लक्ष्य
निश्चित छ भने त पुगिने हो नि
नत्र सानो बाधाले यात्रा टुङ्गिने हो नि ।
देश
द्रोहीलाई केवल सिमाना हो
भक्तलाई यही नै आमा हो ।
कलम
तिमी केवल दाम सोधिरह्यौ
ऊ इतिहासमा नाम लेखिरह्यो ।
साहित्य
बुझ्नेलाई आफ्नो भाषाको नालीबेली हो
नबुझ्नेलाई केवल पुस्तकहरुको ठेली हो ।
मेहनत
पेटको आगो सदैव जलिरहन्छ
त्यसैले त पाखुरा चलिरहन्छ ।
दिन र रात
एउटा जीवनसँग जुझ्नलाई हो
अर्को जीवन के हो बुझ्नलाई हो ।