माधव पोखरेल ‘गोज्याङ्ग्रे’

बा, ए बा मलाई चिन्नुभयो ?
म तपाईंकै माइलो छोरो गोज्याङ्ग्रे
अंश लिन आयो भनेर रिसाउनुहोला
तर बा म तपाईंसँग अंश माग्न आएको होइन
म त आफ्नै वंश चिन्न आएको हुँ
हो म आफ्नै बा’सँग वंशको खोजीमा
नस्ल सुधारका लागि तपाईंसँग भएको
आक्रोशको बिउ परीक्षण र अनुसन्धान गर्न
चिसो मन लिएर हावामा पौडी खेल्दै आएको छु ।

बा तपाईंहरु कति दाजुभाइ ?
जानकारी चाहियो
कोही पूर्व, कोही पश्चिम, कोही उत्तर, कोही दक्षिण
एउटै हजुरबाका सन्तानजस्तो लागेन मलाई
तर पनि म सम्मानका साथ भन्दै छु बा
तपाईंका दाजुभाइलाई ।

काण्डैकाण्डको इतिहासलाई जन्म दिने
जनाकाङ्क्षाभित्र कालो बादल जन्माउने
सामन्तवादको खाजा खाऊ भन्दै हामीलाई
फकाउँदै छन् हाम्रा बज्रस्वाँठ बाहरु ।

घरको मूल खाँबो वा दाइँ गर्दाको मियो
मानेर आदेशको पालना गर्दा पनि सबै बाको
तापक्रमको पारोले सिमा नाघेर म छोरो
मोरोमा परिणत हुन्छु,
छोरीहरु मोरीमा परिणत हुन्छन् ।

बाहरुमध्ये कुन जेठा बा हुन्
कुन माइला कुन साइँला, काइँला, ठाइँला, राइँला, अन्तरे,
जन्तरे, लखन्तरे, पानी मन्तरे, ठुलो कान्छा, कान्छा हुन्
मैले अझै छुट्याउन सकेको छैनँ र
हाम्रा बा कुन भाइ हुन्,
के नाम हो ?
अझै पत्तो पाउन सकेको छैनँ ।

हिँड्ने बाटो फरक फरक भएका
फरक विचारमा सन्तान पालिरहेका
हाम्रा बा
कहिल्यै खुसी हुँदैनन्
सधैँ हिंस्रक सिंहझैँ क्रोधित मुद्रामा
आफ्नै दाजुभाइउपर झम्टा हाल्छन् ।

कोही अरिङ्गाल बन्छन् त
कोही जालन्धर
कोही धृतराष्ट्र त,
कोही शकुनी,
कोही भीम त
कोही दुर्योधन
यस्तै यस्तै उपमाभित्र बसेर
हाम्रा बाहरु
कागले झैँ आफ्नो नाम आफै
काग काग भन्दै काढिरहेका छन् ।

छोराहरुलाई
न उचित शिक्षा दिए
न बिरामी हुँदा राम्रो उपचार गरे
साँझबिहान भोकै चिसो भुइँमा
आकाशको छानोमुनि
क्या आनन्दले निर्विवाद भएर
खाए खा नखाए घिच् भन्दै
उही हिंस्रक स्वभावको सिरकले छोपेर
आफ्नै सन्तानलाई लातीले हानेर
हाम्रा बाहरु
बाँसुरीको धुनमा मादल घन्काउँदै
विश्वलाई चकित पार्दै नाचिरहेका छन् ।

 

Facebook Comments Box

Similar Posts