अभय श्रेष्ठ
तिम्रो कुरा
कुनै दिन
थियो एउटा ताजा खबर
मानिसहरु तात्तातै पढ्न चाहन्थे ।
तिम्रो आवाज
कुनै दिन थियो महावाणी
हाम्रो रगत बालुवामा पानी थियो ।
बहकिने रातको तारा नझर्दै
तिम्रो कुरा
फालिएको बासी अखबार भयो ।
तिम्रो विचार
असनमा नबिकेको रायो भयो ।
तिम्रो अभिमान
ओइली झरेको गुलाब भयो ।
चिन्ता थियो सधैँ सधैँ भोलिको,
तिम्रा सबै कुरा अब ‘हिजो’ भयो ।
हिजोको दिन
नयाँ बिहानीमा पातझैँ झरिजाने छ
हिजोको खेल एउटा लुमन्ति
जो छिटै इतिहास बन्ने छ ।
लुमन्ति (नेपालभाषा): सम्झना