सागर फुयाल
बर्लिन, जर्मनी।

सुकेर जर्जर् भई
धुलो बनेर हावामा उडन खोज्ने धर्तीका कणलाई
सौम्य र शान्त बनाई राख्न
आउथ्यो उहिले उहिले बर्षाकाल
मानो रोपी मुरी फलाई
परिवार पाल्नुपर्नेहरूको
हिम्मत जोगाई राख्न
आउथ्यो उहिले उहिले बर्षाकाल
रात्रीको सुन्यता चिर्दै
मकैका पात पातमा बज्रिएर थोपा थोपा बनी
हरएकलाई तरंगित पार्न
आउथ्यो उहिले उहिले बर्षाकाल
बाउसेको कोदालीका तालमा
गरा गरा गुञ्जयमान बनाउन
रोपाँई नै एउटा मेला बनाउन
रोपाहारका गीतमा
आउथ्यो उहिले उहिले बर्षाकाल।

भन्छन, फेरिदै जान्छ समयको गतिसँगै सबै कुरा
त्यसैले होला
उहिले उहिलेको बर्षाकाल
अहिले मडारिन थालेको छ
चारैतिर काल बनेर
अनि आकासतिर हेर्दै बर्षा डाक्ने
उहिले उहिलेको स्वपनिल अनि पौरखी मान्छे
अहिले त्रसित छ, अनिदो छ
भाग्दै छ उ बर्षादेखि
बिषाक्त भयो कसरी
त्यो आत्मियता, त्यो मधुरता
मान्छे र बर्षाकालको?
हिंस्रक हुदै गएको त हैन कतै प्रकृति?
हो भने जिम्मेवार को?
मान्छेभित्रको मान्छे हराएको त हैन कतै?
हो भने जिम्मेवार को?

Facebook Comments Box

Similar Posts