हरि आत्रेय
आकाश छुने हिमशृङ्खलाहरु
गुराँस फुल्ने अनुपम लमतन्न पहाडहरु
अविरल बग्ने गहिरा नदीहरु
तराई, पहाड र हिमालको त्रिवेणी भूगोलले
जीवित सङ्ग्रहालय प्रतिविम्बित गर्छन् ।
कलात्मक मठ, मन्दिर र स्तूपाहरु
धर्म संस्कृतिका आस्थाहरु
विविधतायुक्त भाषा, वेषभूषाले
गर्विलो पहिचान बनाउँदा
मेरो देश हर्षको अभिमानले
गौरवको अनुभूति गर्छ ।
प्राकृतिक छटामा नयन थाक्दैन
मनोरम दृश्यले मन तृप्त हुँदैन
विवधताको संस्कृतिमा
सहिष्णु राख्ने पवित्र हृदय
कहिल्यै विचलित हुँदैन
कला पौरखीको कुशल सभ्यतामा
मेरो देश धपक्क फुलेको कमलजस्तै लाग्छ ।
संस्कृति यहाँको गीत हो
रीतिरिवाज यहाँको सङ्गीत हो
जहाँ सल्लेरीले गुनगुनाउँछ
भोटेसेलो र सोरठी भाकामा नाच्छ
पूर्णिमाको उज्यालोमा, दियालोको धिपधिपेमा ।
देश कविता हो
लेखिन्छ प्रकृतिको विषमता
सभ्यता मानव जीवन हो
उदाउँछ भविष्य वर्तमानबाट
जीवन रङ्गमञ्च हो
अज्ञात अदृश्य शक्तिले ललाटमा कोरेको
जहाँ कर्मअनुसार जीवन व्यतीत हुन्छ ।
परिभाषा बद्लिँदो रहेछ समयअनुसार
देश त न भूत हो, न त भविष्य नै
यो त जीवित निरन्तर वर्तमान हो
अतः सहअस्तित्व र स्वाभिमानका लागि
मानव आत्मा बोल्नुपर्छ
बनाउनुपर्छ विशाल हृदय
बन्ने छ जिवात्माको समृद्ध भविष्य ।


