दियेशरत्न शाक्य

मैले पनि मज्जाले पत्याएँ—
यो धर्ती, यो भूगोल,
गुरूत्वाकर्षणले भरिएको
एउटा विशाल चुम्बक हो ।

आफ्नो पसिना चुहाएर
धर्तीको तिर्खा मेटाउने श्रमजीवीहरु,
गोडमेल गर्दै धर्तीलाई
हरियाली शृङ्गार चढाउने किसानहरु,
औजारको धुनमा नाच्दै
धर्तीको अनुहारमा मुस्कान कोर्ने मजदुरहरु

वा, धर्तीको धुलोसँग खेल्दै
आफ्नो सपना माटोमा रोप्ने
ती सप्पै सप्पैलाई धर्तीले
प्रिय मानेर
सहोदर मानेर
आफूतिर तानेको छ,
बिल्कुल चुम्बकले फलाम तानेझैँ ।
दुःखतर बिस्मात लाग्छ
जब अखबारका पानाभरि
वा किताबका गाथाभरि,
जमिन छाडेर भागेकाहरु
आकाशतिर पाखा लागेकाहरु
नायक बनेर छाएका हुन्छन्

र सोध्न मन लाग्छ
धर्तीको सच्चा नायक को हो ?
जमिन टेक्ने कि जमिन त्याग्ने ?
जमिन सम्हाल्ने कि जमिन भुल्ने ?

Facebook Comments Box

Similar Posts