धीरकुमार श्रेष्ठ
वायुले स्वच्छ बहन पाउनुपर्छ
नमिसाऊ
यसमा विषाक्त धूलकणहरु
नछ्याप
यसका शरीरभरि प्रदूषित धुवाँहरु
नमैलाऊ
स्वस्थ वायुहरु ।
वायुहरु ज्यान हुन्
वायुहरु प्राण हुन्
तिम्रा, मेरा र उहाँहरुका
हामी सबैका ।
वायु केवल O मात्र होइन
यसभित्र H हरु पनि हुन्छन्
यी मिलेर
म, उहाँ, तिमी
र हामी सबैलाई जल दिन्छन् ।
जल स्वच्छ बग्न पाउनुपर्छ
नमिसाऊ
यसमा ढलजन्य भलहरु
नफ्याँक
यसमा दुर्गन्धित लासहरु
नधमिल्याऊ
कञ्चन जलहरु ।
जलहरु आत्मा हुन्
जलहरु जीवन हुन्
तिम्रा, मेरा र उहाँहरुका
हामी सबैका ।
जल केवल O मात्र होइन
यससँग H हरु पनि हुन्छन्
O हामीलाई चाहिन्छ
H जललाई चाहिन्छ
यीबिना हामी कोही केही हुन्नौँ ।
यसो भन्दै गर्दा
जिङ्ग्रिङ्ग परेका ख्याउटे जल
र जर्जर दाउरे वायु
लट्ठी टेक्तै टेक्तै कुप्रिएर
सकी नसकी
मसँगै एक हुल जुलुसमा निस्केँ ।
(O– अक्सिजन, H – हाइड्रोजन)


