प्रोल्लास सिन्धुलीय
यो घर कतिमा बनेको ? तीन आना ?
त्यति पनि छैन कि क्या हो ?
हाम्रोमा त एक छेउबाट हेर्यो भने
अर्को छेउको मान्छे चिनिन्न !
जागिर हो कि बिजिनेस ?
कि छन् छोराछोरी विदेशमा ?
गाउँको जग्गाजिमी सिनित्त पार्नुभा’हैन नि !
हाम्रो गाउँले काकाले सस्तोमस्तोमै हुइँक्याए
पछि बाटो दौडियो तिनकै टारीबाट
कम्ता मन कुँड्याका छन् र !
नकुँडियोस् पनि कसरी !
साठी हजारको जिमी सात करोडको भा’छ ।
रिन गर्नुभो रिन ?
डुब्नुहोला है !
ब्याजको स्याज, स्याजको फ्याज हानेर
तिनर्ले त डुबाउँछन् !
कि गर्नुभो भ्रष्टाचार ?
कालोबजारी ? तस्करी ? ठगी ? दलाली ?
उल्फाको धन त हैन नि ?
टिक्दैन है कालो धन !
यस्तो चिल्लो अनुहारको मान्छे त अचेल … …
आऽऽ भैगो ! पहिलो भेटमै के गर्नु छुच्चो कुरा !
गर्नुभो होला क्यै न क्यै !
यस्ता टुहुरा घर कत्तिले बना’का छन्; छन् !
अँ साहुजी !
यौटा कोठा चाहिएथ्यो, छ होला ?