भोगेन्द्र लिङ्देन
तिमी
यसरी हठात् बिचैमा छुट्छौ
भन्ने थाहा पाएको भए
सत्ते
अघि नै तिमीसँग सम्झौता गरिसक्ने थिएँ ।
यो जीवनका कैयौँ रङ्गीन पलहरूमा
तिमीजस्ती सहयात्री भेटेको थिइनँ
तिमीजस्तो सपना देखेको थिइनँ
थाहै नदिई
हठात् छाडेर गयौ तिमी
बस्
अघिसम्मको
त्यो अर्केस्ट्राको मधुर सङ्गीत
अब मृत्युगीत लाग्न थालेको छ
ठिक त्यसरी नै
जसरी
मनभरिका सपनाहरू
थाहै नपाई ओइलाइदिन्छन्
बाटोभरि
तिमीलाई चोरी चोरी हेर्ने
यी लोभी आँखालाई
गुम्साएर माया साँच्ने
यो पाषाण हृदयलाई
अहिले पो पछुतो हुन्छ
तिमीलाई अघि नै
आँखाभरि हेरेको भए हुने
तिमीलाई अघि नै
मनभरि हेरेको भए हुने
तिमीसँग अघि नै
बोलेको भए हुने
धिक्कार्न मन हुन्छ आफैलाई
ठिक त्यसरी नै
जसरी रोइदिन्छ मन निष्ठुरीको सम्झनामा
जसरी रोइदिन्छ रातभरि शीत जूनको सम्झनामा ।
यो यात्रामा
फेरि कतै भेटेँ भने तिमीलाई
मनभरिका माया पोख्दै भनुँला,
तिमी मेरो जीवन हौ
तिमी मेरो हृदयकी ज्योति हौ
जसरी बिहानीको किरणलाई स्वागत गर्दै
दुबोभरि टल्केर शीत हाँसिदिन्छ
तिमीलाई स्वागत गर्न
यो हृदय सर्वथा तयार छ ।
बस्
आजभोलि
मनभरि
उनैलाई खोजिरहेछन् यी नयनहरू
बाटोभरि
उनैलाई खोजिरहेछन् यी नयनहरू
कसैले उनलाई भेटे खबर गर्नू है
धेरै धेरै भावनाहरू साट्नु छ मलाई
मनका व्यथाहरू भन्नु छ मलाई
उही –
दोबाटोमा भेटिएकी जूनसित
अनि हठात्
दोबाटैमा छुटिएकी जूनसित ।