- केशव सिलवाल
सबैभन्दा पहिले तपाईं
आउनोस् यो धुले सडकमा
हेर्नोस् यहीँबाट
प्रस्ट देखिन्छन् सबै सबै
गोरूले जोतिरहेका मानिसहरु
हँसियाले काटिरहेका घाँसी जीवनहरु
गाईबाख्राले पढिरहेका केटाकेटीहरु
भारीको जिउमा टाँसिएका भरियाहरु
तपाईंसँग इमानको झन्डा छैन भने
लैजानोस् हाम्रै जिउको थोत्रो कमिज
र प्रथम विश्वले समेत देख्ने गरी
हल्लाउनोस् बेस्सरी
तपाईंका लागि यहाँ
उपलब्ध छैन मखमली रातो कार्पेट
सुकिलो जिउमा लाग्न सक्छ धुलो–मैलो
खुट्टामा उठ्न सक्छ ठेला
तिर्खाले सुक्न सक्छ घाँटी
तर, तपाईंले भेटन सक्नुहुन्छ यहाँ
तपाईंले छोडिगएका
घायल योद्धाका अलपत्र जीवन–युद्धहरु
जीवनको पाङ्ग्र्रा पन्चर भएका
रिक्सा चालक र भरियाहरु
सडकपेटीमा मकैसँगै
आफ्नो उमेर पोलिरहेकी बुढीआमा
जो अरुले दशचोटी चुसेर फ्याँकेको उखुमा
अझै खोजिरहेछन् आफ्नो जीवन–रस
सबैभन्दा पहिले तपाईं
आउनोस् यो धुले सडकमा
तर, चिल्ला सडकको गल्लीभित्र छिरेर
त्यतै नहराउनोेस् अँध्यारोमा
जहाँ कुनै रोबदार रिसोर्टले
ब्रान्डेड रक्सीझैँ घोलेर
पिइदिन्छ तपार्ईं स्वयम्लाई
नलाग्नोस् त्यो हुच्चिलजस्तो समयको पछि
जसले नङ्ग्रामा च्यापेर लैजान्छ तपाईंलाई
विदेशयात्रामा
र टाँसिदिन्छ विदेशी नायिकासँगै वालपेपरमा
आउनोस् यता–
आफै पुरिएर हेर्नोस् पहिरोमा
कसरी जाँदो रहेछ मानिसको सास ?
आफै खसेर हेर्नोस् भिरबाट
कसरी टुक्रिँदा रहेछन्
मानिसका कोमल अङ्गहरु ?
भोकै रहेर हेर्नोस् महिनौँ दिनसम्म
कस्तो हुँदो रहेछ जीवन–युद्ध ?
सबैभन्दा पहिले तपाईं
आउनोस् यो धुले सडकमा ।


