१. बैगुनी अङ्क
जब जब उठाउँछु फोनको रिसिभर
स्वचालित हुन्छन् औँलाहरु
जीवनको हरेक कुनाकाप्चाबाट
बढारेर मिल्काएको मान्छे
बाँचिरहेको छ अझै औँलाहरुमा ।
लाग्छ कसैलाई सापटी दिएको
बैगुनी रकम हो १० अङ्क
२. लिलाममा
एकअर्कासँग जोडिसकेको मुटु
कित्ताकाट गरी आफ्नो हिस्सा
प्लट मिलान गर्यौ अर्कैसँग ।
तिमीबाट अलग्गिएर
छट्पटिँदै बाँचिरहँदा लाग्यो
पानीबाट उछिट्टिएर
जमिनमा पछारिएको माछा बरू भाग्यमानी
म त न मर्नु न बाँच्नुको दोसाँधमा छु ।
त्यसैले
तिमीले खेलेर छोडेको
एक थान सेकेन्ड ह्यान्ड मुटु
लिलाममा राखेको छु ।