रुपेशकुमार सदाय

यो बुद्धको युगमा शान्ति हराइरहेका बेला
समानताको भुमरी मडारिएर गुन्जिन्थ्यो प्रलयको धुन
आकाश–पातालमा बादलसरी…..
युग शान्ति बोकेर हिँडिरहँदा
हिंसाहरु देखिरह्यो अहिंसाको दृश्यमा
एकातिर धर्म
एकातिर अधर्मको वाहन दौडिरह्यो
युद्ध जिते जसरी रणभूमिमा
जहाँ सत्य सधैँ हारिरहँदा
सफलताको उत्कर्ष शिखर चुमिन्थ्यो असत्य कर्म
देखेर जहिले उठ्थ्यो समुद्रमा ज्वारभाटा
त कहिले ज्वालामुखी विस्फोट हुन्थ्यो
पृथ्वी आफै बनेर समयको अविराम चक्र
घुमिरह्यो प्रत्येकको जीवन परिधिभित्र
तर एकनास हुँदैनन् सबैको जीवनको गति
कोही सुखैसुखको महलमा छ
त कसैलाई दुःखैदुःखको झुपडी पनि छैन
कोही धाएर मठमन्दिर सन्तान प्राप्तिको लागि
भाकल दिइरहेछ देवीदेउतालाई
त कतै कैयौँका सन्तान
टुहुराको जीवन बाँच्न विवश छन्
अनि कसरी सपना देख्नु समृद्धि र सुशासनको
जहाँ छिन छिनमै फेरिन्छ विधान, नीति र नियमहरु
कैयौँ होमिरहेका छन् खाडीमा
जब रगत लिनुपर्दा पनि
जात हेरिन्छ, वर्ण हेरिन्छ
तर मानवता कहिल्यै हेरिँदैन
त्यसैले त आज अस्त भइरहेको देखिन्छ
राष्ट्रको मुहार
यो युगको आकार ।

Facebook Comments Box

Similar Posts