पेशल आचार्य

जान्नुभन्दा
नजान्नु धेरै सुख
बोधमा भन्दा
अबोधमा धेरै आनन्द
मैले जानेँ भनेर पनि
धर पाउँदैनन् यहाँ विद्वान्हरु
मैले बुझेँ भनेर पनि
सुख पाउँदैनन् यहाँ महामनाहरु
बुझेँ भनेपछि त फस्यो
जानेँ भनेपछि त झन् घेरियो
बरू
चुपचाप चुपचाप आफै
विषयमा पस्दै निस्किँदै गर्यो भने
तै
बरू बेस होला !

हिजो को बुझ्ने थियो ?
आज को सर्वज्ञ छ ?
भोलि
कसको विद्वता संसारमा रहन्छ ?
केही पनि थाहा छैन
कसैलाई पनि ज्ञात छैन
कसैले
अड्कल समेत गर्न सकेका छैनन्,

त्यसैले
अझै पनि
भलिभाँती जीवन बुझ्न
बालक हुन मन लागेको छ
कस्तो हुँदो रहेछ ?
सत्य बोल्न र बुझ्न
मन लागेको छ
कस्तो हुँदो रहेछ ?
नाबालक बनी
संसार हेर्नुको मज्जा
अबोध हुन मन लागेको छ
समसम आगोनेर गएर छुन
खुरूखुरू पानीनेर गएर हेलिन
नबुझी
केही जटिल कामहरु गर्न
दुर्बोध्यतामा हात हाल्न
धेरै मजा हुन्छ !
धेरै मज्जा !!
जो
बोध भएको मानिसले सक्दैन
जो
ज्ञान पसेको मानिसले मान्दैन,

बालक नै हुन मन लागेको छ
केटाकेटी नै हुन मन परेको छ
के गर्दो रहेछ ?
कसो गर्दो रहेछ ?
कसरी ट्रिटमेन्ट गर्दोरहेछ
आफूलाई
परिवारलाई
समाजलाई
देशलाई
र विश्वलाई ?

साँच्चै,
सानो अबोध केटाकेटी भएर
नाङ्गैभुतुङ्गै भएर
धुलैधुलो खेलेर
मस्त मौलाना हुन पाए
के हुन्थ्यो होला ?
अझै यो जुनीमा
अबोध बालक हुन पाए ?

Facebook Comments Box

Similar Posts