तेजप्रकाश श्रेष्ठ
(चन्द्रागिरी, काठमाडौँ)
विशाल देश छ यौटा
जहाँ समुद्रको ज्वारभाटा उफ्रन्छ ।
सम्भावनाका ढोका उघारिन्छ
आकाश चुम्न उड्छन् मनहरु
आशैआशको पखेटा फिँजाएर
ओइरिन्छन् कर्मठ हातहरु ।
विकासका लहर उर्लिरहेछन्
मोटरका ताँती सलल बगिरहेछन्
गगनचुम्बी भवन आकाश ताक्दै छन्
जता हेरे पनि
सडक सञ्जाल असरल्ल छन्
भौतिक र यान्त्रिक विकास
चरम विन्दुमा पुगेको छ
तर म रनभुल्लमा छु ।
मानववस्ती मौन छन्,
सडकपेटी सुनसान छन्
घरआँगन चुपचाप छन्
उराठ वातावरणमा
म ठिङ्ग उभिएको छु
अन्योलमा छु
म कहाँ छु ? किन छु ?
भौतिक उन्नयनसँगै
जीवनको खोजीमा रन्थनिँदै
रनभुल्ल छु,
रनभुल्लमा छु ।