विमर्श गुरूङ
(सिक्किम विश्वविद्यालय, भारत)

तिम्रो सौन्दर्यमा भुल्लाएर,
अँगालोमा झुल्लाएर,
देवरालीको हवासँग
कहाँ बगिगयौ तिमी ?

स्थिरतालाई हल्लाएर,
मनलाई मेरो रूलाएर,
देवरालीको हवासँग
कहाँ बगिगयौ तिमी ?

आत्माबाट स्विकारेथेँ,
मनले मन पराएथेँ,
माया पिरती चडाएथेँ ;
गाजलु ती मिठा आँखा–
झिमझिम्याउँदा
पिल–पिल आँसु झारेजस्तै–
तिम्ले मलाई गिज्याउँदा,
मनमा वाण च्वाँस्स घोची
देवरालीको हवासँग
कहाँ बगिगयौ तिमी ?

हिजसम्म जूनको ज्योति,
आज किन तिखो आगो ?
सुनेकै होलाऊ
‘लोग्ने स्वास्नीको झगडा, परालको आगो ।’
ल ठिकै छ,
जूनको ज्योति सुप्तजस्तै
म शान्त पानी बनिदिउँला,
कलही आगो नबनेर
झन् झन् तिमी नरिसाउनू;
देवरालीकै हवाले होला –
अझ दनदन दन्केर
ज्वलन्त तिमी जलिरहेकी ।
के तिम्रो माया पनि
देवरालीकै हवासँग बगेर गयो कि ?

मिठा मिठा तिता सत्य
बाटेका स्मृतिले पनि होलान्,
सम्झनामा आफूलाई तिता तिता लाग्छ,
अनि तिमी ?
तिमी त त्यही सधैँझैँ मिठा मिठा ।
फेरि
तिमी त्यहीँ छौ,
तिमी यहीँ छौ,
तिमी मेरो वरिपरि नै छौ,
छौ त बस् दुई कोस टाढा !
तर, त्यो दुई कोसको कसावलाई पनि
कसो गरी कडा कस्सेर
देवरालीको हवासँग बगाई पठाऊँ ?

चम्किलो–सुहाउँदिलो
सुन्दर सुन्दर रुपहरु,
मायासरि–मनभरि
हिजसम्मका ‘माया’–लाई
आजको दिन
आँखाभरि–सम्झनासरि
सुदूर मनका कुना–काप्चा
कुना–काप्चाका खाल्डै–खाल्डा
खाल्डै–खाल्डामा चोटै–चोट
चोटै–चोटका घाउै–घाउ
पीडा, व्यथा, वेदना;
तिमी नै भन
हिजसम्मको एक मुटुलाई
आज कसोरी दुई भाग चुँडाएर
देवरालीको हवासँग बगाइपठाऊँ ?

तिम्रो सौन्दर्यमा भुल्लाएर,
अँगालोमा झुल्लाएर,
देवरालीको हवासँग
कहाँ बगिगयौ तिमी ?

Facebook Comments Box

Similar Posts