विराट किराती
(झापा)
म
यतिबेला
आफ्नो विरासत खोजीरहेछु ।
जस्तो कि –
बजारमा हराएको बालक -आमाले खोजेजस्तै !
नदीले बगाएको मान्छे – आफन्तहरूले खोजेजस्तै !
उध्याँराले कर्लप्पै निलेपछि उज्याँलो- उज्याँलो खोजेजस्तै !
खोज्नु भन्नु त
आफैलाई न रहेछ !
आफ्नो अस्तित्व न रहेछ !
हो, पूर्खाले सिर्जिएको मेरो विरासत
यतिबेला कहाँ अलमलमा पर्यो
या झेली समयको दुश्चक्रमा फसेर
मरणाशन्न छ
म त्यही विरासत खाेजिरहेछु।
यसाे, गम्छु !
भाउन्न छुट्छ
किन शासक सधैं क्रुर बन्छ?
लाग्छ :
जब शासकले आफ्नो मनमौजी गर्छ
आफ्नो वरिपरी मात्र हेर्छ
तव खप्परको गिदीलाई
विष्फोट बारूद बनाउदै
पड्किन्छु
र
स्वतन्त्रताको गीत घन्काउछु शासकविरूद्ध ।
सोच्दो हो उ अर्थात् शासक
मैले
ननिकाल्नु पर्ने हो
उसको विरूद्ध आवाज
नगर्नु पर्ने हो
उसको विरूद्ध शाहस
तर म यति निम्छरो पनि छैन !
रै त म
बीच सडकमा उभिएर
उद्धाेष गर्दैछु
जीवनलाई आहूति दिदै
रणमैदानमा
अस्तित्व रक्षार्थ खटिएको एक योद्धा हूँ !
हो-
फैसला गर्ने जिम्मा
म आफै लिदैछु ।