नन्दलाल आचार्य
(उदयपुर)

माटो चिरिएको सिँचाइ
झरेका पातहरु बिर्सिएको इतिहासमा थुप्रिएका छन् ।
चौतारीका जराहरु चिच्याइरहेछन्,
‘कति घामको तिर्सना, कति पानीको खोज ?’

बाँझो धर्तीलाई हरियाली सपनाको बोझले थिच्यो ।
उर्वरपना कुम्ल्याउँदै
आकाशका बादलहरु उड्न थाले
तर निल्न सकेनन्, त्यसको जलको ताप ।

कुञ्जहरु सुसाए,
‘हामीलाई चिया होइन, चन्द्रमाको शीतलता चाहिन्छ ।’
तर बस्तीहरु
उत्तेजनाको आलिङ्गनमा
केवल कागजका फूल उमार्दै छन् ।

मनका धर्साहरु झर्ने क्रममा
शब्दका अङ्कुरहरु फुट्दै छन्,
कुनै रहरले होइन,
आक्रोशले माटो खन्दै छन् ।

भन !
के मृत्युका बीजहरु
जीवनको रङ्गीन वसन्त फुलाउन सक्छन् ?
शब्दाङ्कुरहरु भने
प्रतिविम्ब बनिरहन्छन्
धरतीको सत्य,
समयको कथा ।

Facebook Comments Box

Similar Posts