शेखरकुमार श्रेष्ठ
आमाबाबुबाट निर्मित
ईश्वरबाट प्रज्वलित
दीप हुँ म ।
अँध्यारोलाई हटाई उज्यालो दिने
दीपवालाले÷दीपवालीले
चाहेसम्म बलिरहने ।
मेरो दीपवाला परब्रह्म
उसले चाहेसम्म
ममा प्राणवायुरुपी
सास चलिरहन्छ
सुख र दुःखको
सुख त के भनूँ
बल्दा जल्छु
गल्दा मक्किन्छु
प्राणरुपी तेल सकिँदै जाँदा
म पनि सकिन्छु ।
निभेको दीपले
उज्यालो दिन नसकी खाग भएझैँ
म पनि खरानी हुन्छु
त्यसपछि मेरो देहले उज्यालो दिन सक्दैन
उज्यालोको लागि अर्को दीप बल्छ
म भने हावामा मिसिई
प्राणीलोकबाट वायुलोकमा पुग्छु
म वायु बनी सबैलाई शीतल दिन्छु
यसैबिच कुनै प्राणीको गर्भभित्र
हावासँगै पसेर
पुनर्जन्म लिन्छु ।
म को हुँ
चिनाउन पर्दैन
मैले मेरो शक्ति देखाउन पर्दैन
मलाई थाहा छ
म ईश्वरीय अंश हुँ
म मेरो नभई
ईश्वरीय शक्तिबाट चलेको छु ।
ईश्वरीय शक्ति भएकाले
मलाई गाली नगर लाछी भनेर
तुच्छ व्यवहार नगर
मेरो स्वतन्त्रतामा हस्तक्षेप नगर
म केही बिगार गर्न आएको होइन
म केही बनाउन पनि आएको होइन
बिगारेर ईश्वरलाई धोका दिनु पनि छैन
मैले गरेँ भनी घमन्ड देखाई नाम चलाउनु पनि छैन
म त केवल ईश्वरीय अंश हुँ ।
फेरि भन्नुहोला ईश्वरले भलो गर्छन्
असल गर्छन् ।
पक्कै हो ईश्वरले भलो गर्छन्
जगत्को रक्षा गर्छन्
तर म अंश मात्र हुँ ।
थाहा छैन कति अंश पाएको छु
यो पाएको अंशमा
म थप्न सक्दिनँ
घटाउन पनि सक्दिनँ
जति छ त्यति मात्र असल गर्ने गुण छ
चेतन शक्ति छ ।
मलाई कायर नभन
म डरछेरूवा होइन
भगुवा होइन
मलाई भगाउन नखोज
गलाउन नखोज
यो हटाउने जिम्मा कसैमा छैन
यो त ईश्वरमा छ
ईश्वरले चाहँदा
कसैले मलाई हटाउनु पर्दैन
म शरीर छाडेर
मलाई हावामा विभु गराएर
परब्रह्ममा मिलित हुन्छु
तिमी पनि त त्यही
परब्रह्ममा आउँछौ
अनि आज हाम्रो मिलन नभए पनि
भोलि मिलेर बस्छौँ
एउटै मोटाइ, गोलाइ र उचाइ लिएर ।