शैलेन्द्र साकार
तिम्रो अनुहारमा पोतिएको आदर्श पुरूष
च्यातिएर धुजाधुजा भएको कुरुप
शब्दहरुले पोलिरहेको छाला
कृष्ठरोग युग
पश्चात्ताप जस्तो समयको
बर्डफ्लु वर्षहरु ।
लेख्छु भनेको शब्द
पछि पछि सर्छ र हराउँछ
छोप्छु भनेको दाग अगाडि आउँछ र तर्साउँछ
लेख्छु भनेको इतिहास माग्छ
मेरै समयको बलिदान
सुन्छु भनेको आवाज पर गुफामा गुन्जिन्छ
गुफाजस्तो सत्ता
मेरो दिमागमा छोड्छ त्रास
कुनै यन्त्र छैन जसलाई समातूँ र सच्याऊँ
सम्पूर्ण गल्ती
म देख्दिनँ एउटा स्वाभिमानी कविको लागि
स्वतन्त्र आकाश ।
हुन सक्छ
आफैले निर्माण गरेको खाडलमा बेपत्ता बनेर नहराऊ
यहाँ कसैको पदचापलाई बिलीन
गराउने षड्यन्त्रसिवाय केही देखिँदैन ।
हावामा बिस्तारै सडिरहेको
विचारको दुर्गन्ध
सायद हावामा छ एउटा
गुफा र त्यसलाई ढाक्ने
कालो पर्दा
र त्यहीभित्र हराइरहेछ तिम्रो नयाँ नेपाल
तिम्रो सङ्कल्प, राष्ट्रियता र शान्ति ।