चेतनाथ कणेल ‘हरित’
(शृङ्गा, गुल्मी, हाल: काठमाडौँ ३१, नयाँबानेश्वर, शङ्खमूल)
‘स्वर्ग’जस्तै स्वर्गद्वारीतिर उम्रेका
कलिला र मलिला सपनाहरु
काठेबरले नथेगेपछि
बिजुवारका फाँटले नपोतिएपछि
झिमरूकका जलधाराले सिञ्चन नभएपछि
आशाको त्यान्द्रो बोकेर लतारिएका पाइलाहरु
यतै कतै हराउँदै थिए–
कतार र दोहाका मरूभूमिहरुमा
खलखली पसिना बग्ने
खाडीमय बाध्यताहरुमा !
कतैबाट बल्छ–
आशाको दियो
अनायास आउँछ–
प्रलोभन र सपनाहरुको पिङको लट्ठा
चचहुई चचहुई …………………
नौरङ्गी सपना सजाएर जीवनको झोपडीमा
आकाङ्क्षाका खम्बा ठड्याएर
जीजिविषाको ‘हरियो चउर’मा
त्यतै कतै फलेका थिए
पिटर द ग्रेट र लेनिनका साम्यवादी विचारहरु
स्टालिन, ब्रेझनेभ र गोर्भाचोभीय उत्थान र उल्झनहरु
र,
निरन्तर फलिरहेछन्
सुधारका नयाँ नयाँ शृङ्खलाहरु–
यतै कतै रसियाली भूमिमा
जहाँ फल्न थालेका थिए–
सोनु सुनारका थप सपनाहरु !
जहाँ फल्न लागिरहेछन्–
नेपाली युवाका अनकन्टार आकाङ्क्षाहरु !
फुके पनि, खुम्चिए पनि–
सपना देख्नैपर्ने बाध्यता
जीजिविषा लतार्नुपर्ने नियति,
र, आँखामा नयाँ दियोका रापहरु सँगाल्दै
र, मनका सारा भावना र उत्तेजनाहरु पगाल्दै
युद्धको मैदानबाट,
उनै ‘वीर गोर्खाली’का यादहरु बटुलेर
मात्र डलर र रूबलको प्रलोभनमा
टिनका टिन आश्वासनका ड्रमहरु
पुटिनका भाषण र वाचाका उपक्रमहरु
फेरि एउटा दृढ नेपालीको सपना सेलाएको छ
एक, दुई, … दश, एघार …
मात्र सङ्ख्या कण्ठ पारिरहेछन्
नेपाली स्रोताहरु, नेपाली द्रष्टाहरु
र, समाचारका शीर्ष लाइनहरुमा
घोरिइरहेका छन् यतिबेला सारा नेपालीहरु–
‘फेरि अर्को नेपाली रसियाली सेनाको तर्फबाट लड्दा मरेको खबर छ’
‘प्युठानका सोनु सुनारको दुःखद् मृत्यु भएको खबर छ’
आज,
काठेबर, स्वर्गद्वारी, झिमरूक र बिजुवार रोइरहेछन्
प्युठानसँगै सारा नेपाली भावविह्वल रोइरहेछन्,
तर पनि,
थाहा छैन,
प्युठान के ठानिरहेछ ?
यस देशका सारा नेता
के ठानिरहेछन्,
के भनिरहेछन् ???