प्रकाशमणि दहाल
एउटा अगुल्टो बल्दैन, थाहा छ ।
तर अगुल्टाहरु
कहिल्यै जोरिँदैनन् ।
यो पनि थाहा छ,
थाहा हुनु, अवलम्बन नहुनु
सायद यही हाम्रो स्थायी नियति हो ।
यहाँको जस्तो भरपुर साधन
त्यहाँकोजस्तो प्रतिबद्ध शासन
हुँदो हो त
यो देश कहाँ पुग्दो हो !
थाहा छ, तर
थाहा हुनु, अवलम्बन नहुनु
सायद यही हाम्रो स्थायी नियति हो ।
पचासौँ लाख नेपाली
विदेशी मुलुकमा काम गर्छन्
कृषि, उद्योग, व्यापार, सेवा सबै चलाउँछन्
कति त त्यहीँ खपत पनि हुन्छन् ।
उनीहरुले
यहाँ पनि त्यहाँजस्तै काम गर्ने थिए ।
अनि डेढलाख वर्गमाइलको
यो फुच्चे मुलुक
पृथ्वीको ध्रुवतारा हुनेथियो ।
तर माटाका भाउमा पाइने
अत्यन्त भरपर्दो श्रम र साधनको
ठुलो अभाव खट्किनेथियो, त्यहाँ ।
को चाहोस् त्यस्तो !
अनि त
हाम्रा केही सपुतको ब्याङ्क ब्यालेन्स
चुलिन थाल्छ
चुलि नै रहन्छ पुस्तापुस्ता, पालैपालो ….
परिणाम ?
कथित जात, धर्म, वर्ग, सिद्धान्त
वा अन्य कुनै पनि बहानामा चल्ने
जुँगे लडाइँको क्रुर मञ्चन शाश्वत बनिन्छ ।
तिसप्रतिशत जनता सधैँ रोडपति रहन्छन्
तिसप्रतिशत सधैँ विदेशी सेवामै खपिन्छन्
तिसप्रतिशत सधैँ
जोडघटाउ र कित्ताकाट भइरहन्छन् र
दश प्रतिशत सधैँ विलासमै डुबिरहन्छन् !
थाहा छ तर
थाहा हुनु, अवलम्बन नहुनु
सायद यही हाम्रो स्थायी नियति हो ।
तब तहिमालका शुभ्र छायामुनि
सुन फल्ने गरा, पियूष बग्ने खोला
तथा
संस्कृति, सभ्यता र सहिष्णुताको
यो ऐतिहासिक पुण्यभूमिका
गाउँगाउँ र सहरका गल्लीगल्लीमा
अपाङ्ग, अनाथ, एकल दम्पति
देहव्यापार, घृणा, अवसाद
बलात्कार, हत्या, लुट
बाझाबाझ, मारपिट, खेदाखेद
आक्रोश , गालीगलोज, सराप
रोदन, क्रन्दन, सुस्केरा
नारा, जुलुस, तोडफोड
र बसाइँ हिँड्नेको ताँती
अनन्त दैनिकी बन्छ !
यद्यपि
सवारीका लस्कर चल्दैरहन्छन्
उत्सव, भाषण र भोजभतेर हुँदैरहन्छन्
विदेशी स्कच ओइरिँदैरहन्छन्
स्वदेशी ठर्रा पोखिँदैरहन्छन्
केही ठुल्ठुला अट्टालिकाबाट
सङ्गीतका लहर र हाँसोका स्वर
फुट्तैैरहन्छन् ।
स्वयम्भू हेरिरहन्छन्
पशुपति सुनिरहन्छन्
देवीहरु भोग लगाइरहन्छन् !
संसारभरि
शिक्षा, समानता र समृद्धिका
अनुसन्धान र अभियान आयोजित भइरहन्छन्
भित्तामा क्यालेन्डर बदलिँदैरहन्छन् …..
थाहा छ तर
थाहा हुनु, अवलम्बन नहुनु
सायद यही हाम्रो स्थायी नियति हो ।