• देबकी के.सी.

ए लठेब्रो ! तेरी स्वास्नी तारा त पोइल पो गइछ होइन ? स्वर्गकी अप्सराजस्ती स्वास्नी यस्ता लठेब्रोसित के खाएर टिकोस् । बिहे गरेको यतिका वर्ष हुँदासम्म बालबच्चा भएन । नार्मद हो कि क्या हो यो भनेर गाउँलेले जिस्काउँदा ऊ बेस्सरी रिसाउँथ्यो । नबुझिने गरी गाली गर्दै फलाक्थ्यो । त्यो देखेर गाउँलेहरु झनै हाँसो गर्थे । हुन त अलकसिंहमा भाषिक अशुद्धि थियो । बोली लठेब्रो थियो । अनुहार पनि खासै राम्रो थिएन तर उसकी स्वास्नी तारा असाध्यै राम्री थिई ।

तारा पोइला हिँडेपछि अलकसिंह निकै छटपटिएको थियो । ऊ मनको छटपटी मेट्न र मन बहलाउन गाउँको अलि माथि डाँडामा रहेको ठुलो भगवतीको मन्दिरमा आउँथ्यो । भगवतीको मन्दिर निकै प्रख्यात थियो । देशविदेशबाट तीर्थयात्री र पर्यटकहरु भगवतीको मन्दिर दर्शन गर्न र हेर्न आउँथे । त्यहाँ भगवतीको नाउँमा गलामा घन्टी बाँधेर थुप्रै बोका चढाइएको थियो । चढाइएका बोकाहरु छाडा भएर होला निकै फुर्तिला र चलाख थिए । साँढेजस्ता बलवान् देखिन्थे । छिप्पिएर अगाडि आउनै नहुने गरी डुङडुङ गन्हाउने भएका थिए । त्यहाँ आउने पर्यटक र तीर्थयात्रीलाई पाए झम्टेर खाउँलाझैँ गर्थे ।

बिचरा ! अलि उमेर छिप्पिएका वृद्धवृद्धा र बालबालिकाको त ती छाडा भगवतीका बोकाहरुले सात्तो लिन्थे । यी भगवतीलाई चढाइएका बोकाहरु के विधि छिल्लिएका ? कति साँढे पल्टिएका ? शक्तिशालीझैँ गरी मार्न खोज्छन् भन्दै कतिपयले त तिनलाई गाली गर्थे । कतिपय तीर्थयात्रीले चाहिँ भगवतीलाई चढाइएका बोकालाई गाली गर्न हुन्न भगवती रिसाउँछिन् पाप लाग्छ भन्थे ।

सबैले लठेब्रो भनेर गिज्याउने अलकसिंह मन भुलाउन प्रायःजसो त्यही भगवतीको मन्दिरमा पुग्थ्यो । त्यहाँ उसलाई एउटा निकै छिप्पिएको कालो बोकाले हान्न खोज्यो । त्यो त्यहाँ छाडिएका बोकाहरुमध्ये हेर्दै निकै शक्तिशाली देखिन्थ्यो । अगाडि आउनै नहुने गरी डुङडुङ गन्हाउँथ्यो । त्यसले अलकसिंहलाई मात्र होइन त्यहाँ उपस्थित तीर्थयात्रीहरुको पनि सात्तो लियो । सबैले लखेट्न खोजे । लखेट्ने क्रममा त्यसले अलकसिंहलाई सिङले हानेर लडाइदियो । अलकसिंह मन्दिरमै लड्यो । उसलाई त्यो बोकोसित निकै रिस उठ्यो । छिप्पिएको गन्हाउने बोकोले निकै हँसिलो मुहार लाउँदै अलकसिंहतिर हेरेर हुतुतुतु गर्यो । टुक्रुक्क बसेर गोडा अलिकति फाटेझैँ गरी त्यसले लिङ्ग अलकसिंहलाई देखायो ।

अलकसिंहलाई त्यससित निकै रिस उठ्यो । समाजले आफूलाई नार्मद भनेर गिज्याएझैँ त्यसले लिङ्ग देखाएर गिज्याएको महसुस गर्यो । लिङ्ग देखाउँदै हुतुतु गरेर हाँस्ने बोकाको अनुहारमा अलकसिंहले आफ्नो जारलाई देख्यो । स्वास्नी लाने जारले हुतिहारा नार्मद भनेर गिज्याएझैँ लाग्यो । हुने भए त्यसलाई तत्काल त्यही दुई टुक्रा पारेर छिनाइदिऊँ जस्तो लाग्यो । बिस्तारै उठेर अलकसिंहले बेस्सरी गाली ग¥यो । कुटुँलाझैँ गरेर झम्टियो । अलकसिंहको गाली र झम्टाइले बोका एक रत्ति पनि डराएन । उल्टै हाँसेर गिज्यायो ।

अलकसिंहलाई त्यस बोकासित उठेको रिस शान्त भएकै थिएन । उसले रिसाउँदै बोकालाई भन्यो, ‘तँलाई जार ! तेरो यत्रो घमन्ड र तागत मलाई मार्न खोज्ने । तैँले मेरो शक्ति देखेकै छैनस् । तँलाई म नपुसंक बनाउँछु ।’ अलकसिंहले लठेब्रो पारामा भुतभुताउँदै बोकालाई गाली गरेको देखेर कतिपय तीर्थयात्री र पर्यटक हाँस्न थाले । कतिपयले भने अलकसिंहलाई नै गाली गर्न थाले ।

अलकसिंहको रिस भने एक रत्ति मरेको थिएन । ऊ फतफताउँदै घरतिर लाग्यो । घर पुगेपछि उसले त्यसलाई सम्झेर एक्लै गाली गर्दै भन्यो, ‘तेरो अनुहार त साँच्चै मेरो जारसित मेल खान्छ । छिल्लिएको बडेमानको लिङ्ग देखाएर मलाई नपुंसक भन्न खोजेको होलास् ? तँसित बदला नलिई कहाँ पो छाडुँला र ?’

भोलिपल्ट अलकसिंह बजारतिर लाग्यो । बजारमा उसले तेजाब किन्यो । जब रात पर्यो बिस्तारै डाँडामा रहेको भगवतीको मन्दिर पुग्यो । त्यहाँ रातभर मन्दिरवरपर गन्हाउने बोकाहरु बस्छन् भन्ने अलकसिंहलाई थाहा थियो । जब मन्दिर प्रवेश गर्यो  तब उसले त्यस बोकाको गन्धले नाकै दुर्गन्धित भएको महसुस गर्यो । टाढैबाट उसको नाकमा ठोक्किन आएको बोकोको गन्धले उसलाई त्यो छिल्लिएको बोका त्यहीँ छ भनेर पत्ता लगाउन गाह्रो भएन ।

अलकसिंह मन्दिरको पेटीमा पुग्यो । त्यहाँ उसले जार ठानेको बोको सुतिरहेको थियो । उसले त्यसको अनुहार, शरीर र बडेमानको लिङ्गमा तेजाब हालिदियो । बोका छट्पटायो । चिच्यायो । अरु पनि भागमभाग गर्न थाले । तेजाबको असरले त्यो शक्तिशाली बोकाको शरीरमा घाउ नै घाउ भयो । क्षणभरमै घिनलाग्दो देखियो । त्यसको त्यो अवस्था देखेर अलकसिंह खुसी भयो । मेरो जार कुरुप भयो । नपुसंक भयो । मलाई उत्तेजित हुँदै लिङ्ग देखाउँथिस् आज तेरो लिङ्ग घाइते भयो । तँलाई जार ! ठिक्क भयो भन्दै अलकसिंह बेजोडले हाँस्न लाग्यो । उसलाई देखेर सबै बोकाहरु डराएर परपर भागे ।

भोलिपल्ट भगवतीको मन्दिर आउने सबैले त्यस बोकोको बिजोग देखे । त्यसको अवस्था देखेर ठुलै बहस चल्यो । यो भगवतीलाई चढाइएको कालो बोकोलाई तेजाब हाल्नेलाई खोजेर पुलिसकहाँ लैजानुपर्छ । भगवतीको बोकोलाई कसले यस्तो ग¥यो । अब अनिष्ट हुन्छ । के दसा आइपर्ने हो अब लौ न भन्दै हल्ला चल्न थाल्यो ।

हल्ला अलकसिंहको कानसम्म पुग्यो तर डराएन । ऊ त स्वास्नी भगाउने जार काट्न नसके पनि जारको औतार परेको भगवतीको कालो बोकोलाई कुरुप र नपुसंक पारेँ भन्दै खुसीले गदगद भयो । जसलाई उसले जार भनेर बदला लियो त्यो मन्दिरमा चढाइएको जनावर मात्रै थियो जो आजीवन आफ्नो स्वतन्त्रताको उपभोग गर्न खोज्थ्यो । जार र मन्दिरमा लडाइदिएको निहुँ पारेर बदला लिन अलकसिंहले त्यस निर्दोष जनावरमाथि अत्याचार गर्यो । जारसितको रिस मेट्यो ।

Facebook Comments Box

Similar Posts