- निर्मलकुमार आचार्य
‘ओहो, घाँटीको रोग रहेछ, बाँच्न गाह्रो छ है ! खरेल दाइको पनि आज हो कि भोलि हो भन्ने अवस्था छ । अपे्रसनले झन् बिगार्यो उनलाई । पाइप लगाएर खुवाउनुपर्छ ..।’ कुनै बिरामीलाई भेट्न आएका रहेछन् तीर्थ काका, सोधखोज गर्दै हिँड्दा उनको नजर अस्पतालको शय्यामा पल्टिएको ममाथि अकस्मात् परेको थियो । पुराना टोले भएका नाताले मेरा दाजुभाइसित उनको राम्रै चिनजान थियो । सबै कुरो सुनेपछि उनले व्यक्त गरेको तीक्ष्ण धारणा जसै मेरो कानमा पर्यो । मन उद्वेलित भई छट्पटाहटमा परिणत हुन थाल्यो ।
यसै पनि डर कम थिएन । तीर्थ काकाको भनाइले झन् भयावह अवस्थामा पुर्याइदियो । नाना थरीका कल्पनाले विद्रुप प्रतीत भइरहेको थियो– बिपना । अप्रेसन गर्दा गडबड हुने हो कि ? आशङ्काको बेलुन झन् झन् फुक्दो थियो । अस्पतालमा यस्ता गडबडी भएका कैयौँ घटना मानसपटलमा फिल्मी रिलझैँ कुद्न थाले ।
अप्रेसनका बेलामा घाँटी मात्रै लठ्याउने हो कि पूरै बेहोस बनाउने हो ? मुख फट्याएर पनि अप्रेसन हुन्छ रे । केही लागेन भने ‘ओपेन हर्ट’ अपे्रसन गर्नुपरेजस्तो पनि हुन सक्ला !
यस्ता अनेक कुतूहल मेटाउने प्रयास नगरिएको थिएन तर डाक्टरसाबले ‘धेरै सोच्नु हुँदैन, बी पोजिटिभ, कसरी अपे्रसन हुन्छ भन्ने कुरा पछि थाहा पाइहाल्नुहुन्छ नि’ भन्दा फिस्स हाँसेर आश्वस्त भएजस्तो प्रदर्शन त गरियो, मन किन मान्थ्यो र !
‘अरु सबै ठिक छ, भोलि अपे्रसन गर्ने हो । ज्वरो नआओस् त्यत्ति विचार गर्नुहोला !’ डाक्टरसाबको हिजोको बोली सम्झना आयो । ज्वरो आउनु हुँदैन भनिएको थियो, त्यही भयो, जे नहुनु थियो । जीवनमा पहिलोपल्ट अस्पतालको शय्यामा परेकाले पनि हुन सक्छ ।
दिन ढल्दै जाँदा ज्वरो बढ्दै आयो । धन्न, राति ज्वरो आफै बिसेक भयो । नत्र अपे्रसन अर्को दिनलाई टथ्र्यो । त्यसले अधैर्यलाई झन् बल दिन्थ्यो, भित्रभित्रै तनाउ रहिरहन्थ्यो । अप्रेसनका लागि बेहोस गराउन लानुअघि तीर्थ काकाको कुरोले त झन् महाज्वरो उमार्लाजस्तो पो भयो ।
मजस्ता धेरै बिरामीलाई देखेर यिनको अनुभव बोल्या’होला ! भन्ने के लागेको थियो, तुरून्त संयमित भई आफैले आफूलाई झपार्दै सम्झाउनुपर्ने स्थिति आइलाग्यो, त्यो त्यस्तो जान्ने, बुझ्ने मान्छे भइदिएको भए बिरामीका अगाडि के बोल्नुहुन्छ, के बोल्नु हुँदैन भन्ने हेक्का रहँदैनथ्यो ? यस्ता बिनापिँधे लोटाको बोलीले पनि डराउने काँतर खोपडी के खोपडी !
‘आफूभन्दा ठुलो अरु कोही उत्पे्ररक हुनै नसक्ने’ कतै पढिएको अंश अहिले आएर घतिलो लाग्यो । आँखा चिम्ली सकारात्मक भावना खेलाउँदै के थिएँ, एनेस्थेसिया कक्षमा पुर्याइसकिएछु ।
‘म तपाईंको अपे्रसन गर्ने डा. हरिप्रसाद भट्टराई हुँ, यहाँ तपाईंलाई बेहोस गर्न ल्याइएको हो, तयार हुनुहुन्छ नि ?’
त्यत्ति सुन्नु थियो, होस गुम्लाजस्तो पो भयो । मेरो अप्रेसन गर्ने भनिएका डाक्टर यिनी थिएनन् । बेग्लै डाक्टरले अपे्रसन गर्ने कुरो अचानक अगाडि आउँदा इन्तु न चिन्तु भइयो ।
शिक्षण अस्पताल, महाराजगन्जको ‘इएनटी’ (नाक, कान, घाँटी) विभागका डाक्टर विमल सिन्हाको बखान सुनेर उनलाई जँचाइएको थियो । रोग खुट्याएका उनैले अपे्रसन गर्ने कुरो रहेकामा अहिले एक्कासि अर्कै डाक्टर सामुन्ने आई तेरो अप्रेसन मैले गर्ने हुँ भन्दा मनोभाव सन्तुलनमा रहेन । भोकल कर्ड (स्वरतन्त्री) मा ट्युमर (मासुको सानो डल्लो) भएकाले अपे्रसनको विकल्प नरहेको बताएका थिए उनै डाक्टरले ।
‘अप्रेसन नगराउने हो भने ट्युमर बढ्न सक्छ, कस्तो खालको ट्युमर हेर्न पनि अपे्रसन गर्नै पर्छ, त्यसमाथि ‘मिडिया’मा काम गर्ने मान्छे, यस्ता कुरामा लापरवाही गर्नु हुँदैन, जतिसक्दो छिटो अपे्रसनको तयारी गरौँ !’ भनिएपछि लुरूलुरू ‘यथा डाक्टर तथा पेसेन्ट’ भइयो ।
केही न केही गडबडी छ भन्ने चाहिँ देवघाटमा पत्ता लागेको हो । त्यहाँका कुनै ज्योतिषी, सन्न्यासी वा वैद्यले भनेका चाहिँ होइनन् !
२०५५ सालको कुरो हो । कागतिहारको अगिल्दिन भान्टाङभुन्टुङसहित उनलाई माइत पठाएर देवघाटको शान्त परिवेशमा केही दिन बिताउने निधो गरिएको थियो । चितवनपारि तनहुँतर्फ त्रिशूली–कालीको पवित्र सङ्गमस्थल नजिकै सिरानमा रहेको गलेश्वर आश्रम पुगियो । मन्दिरैअगाडि एउटा कोठा उपलब्ध भएको थियो । साँझ त्यहाँ पाठ गरिने ‘शिवमहिम्नस्तोत्र’को आकर्षण अत्यन्त मोहक थियो । थरी थरीका छन्दयुक्त शिवमहिमाको स्तोत्रले मेरो रोगको पूर्वाभास गराएको हो । मच्चिँदै पाठ गर्दा कहिले प्रस्ट उच्चारण हुने कहिले गला बस्दै अनुच्चारित नै हुन पुग्ने, फेरि जोड लगाउँदा त्यस्तै हुने भएपछि के भो, के भो भन्ने भयो । मन्त्रमुग्ध शैलीमा पाठ गरिरहेका बटुकहरुसँगै आफू पनि सरिक नभइएको भए, कसरी रोगको पूर्वाभास हुन्थ्यो होला र !
काठमाडौँ फर्किएर व्यथा सुनाउँदा लौ घाँटीको व्यथा हेलचेक्र्याइँ गर्नु हुँदैन, तुरून्तै जँचाइहाल्नुपर्छ भन्ने धेरैको सुझाव रह्यो ।
बाङ्गेसाल, प्युठानका पोखरेल बन्धु छिमेकी थिए । उनकै सिफारिसमा पुतलीसडकको क्लिनिकमा गई टिचिङका डाक्टर विमल सिन्हालाई जँचाएपछि कथाको सिलसिला बढेको हो ।
अप्रेसन गर्न अर्कै डाक्टर सामुन्ने उभिदिँदा हुनसम्मको रिस नउठेको होइन तर के गर्नु, ‘रिस खा आफू, बुद्धि खा अरु’ भन्छन् । मरिचको चाला अँगाल्नुको विकल्प थिएन । कस्तो डाक्टर हो ? के हो ? जुनियर सिकारू पो हो कि ! उसका लागि त पढाइको विषय होला, आफ्नानिम्ति चिलिम फर्कन के बेर ! यस्ता अनगिन्ती उफान मगजमा उठिरहे ।
डाक्टर कुन बेलादेखि मैलाई नियालिरहेका रहेछन् । चाल पाउनासाथ ज्यादै नरम भई सोधियो– ‘डाक्टरसाब, अपे्रसनका लागि घाँटी चिर्नुपर्छ कि ?’
‘घाँटीसाँटी चिर्नु पर्दैन, माइनर अपे्रसन हो, तपाईं बिनसित्ती डराउनुभयो । वार्डमा यस्ता धेरै बिरामी देखेर होला ! केही हुँदैन । अपे्रसनपछि भोलि नै घर जान सक्नुहुन्छ’ मधुर मुस्कानसहित डाक्टरसाबले परिचय समेत मागी आश्वस्त तुल्याउँदा केही शान्ति अनुभव गरियो ।
डाक्टरसाबसँगै ‘एनेस्थेटिस्ट’ पनि मुस्काइरहेका रहेछन्, सुई तयार गरी तरखरिइहाले । अप्रेसनको गहिरो सोचाइले हुनुपर्छ, कुन बेला सुई लगाइयो पत्तै भएन ।
…………..
आँखा खुल्न निकै समय लागेछ । लट्ठ हुन अझै छाडेको होइन । अपे्रसन भइसकेको थाहा पाएलगत्तै कसैले नदेख्ने गरी सर्वप्रथम घाँटीमा हात फेरियो, दुरूस्त रहेछ । हुन त डाक्टरसाबले मुखबाटै अपे्रसन गर्ने कुरो नजनाएका थिएनन् तैपनि क्या हो, क्या हो ? दिमागको यौटो कुनोमा अन्योल टुसाइरहेको थियो । छामियो, ढुक्क भइयो ।
अस्पतालमा हेर्न आउनेको क्रम चलिसकेको रहेछ । ती सबैलाई आँखा उघारेर हेर्न सकिने अवस्था फिटिक्कै थिएन । अनौठो खालको गन्ध नाक र मुखभरि रगमगिरहेको थियो । कैयौँ दिनदेखि सुत्न नपाएको जस्तो लट्ठ्याइँ व्याप्त थियो ।
आउनेहरु सुर्ताइरहेकी मेरी उनीलाई आफ्नो बहुमूल्य ज्ञान प्रसारण गरिरहेका थिए । एक जना सम्झाउँदै थिए, ‘हेलचेक्र्याइँ गर्नु हुँदैन है नानी, यही रोगले मेरा भान्जा बितेका हुन् !’
त्यही बखत टुप्लुक्किएका स्थानीय नेता पनि किन पछाडि पर्थे, भन्न भ्याइहाले, ‘बिपी (विश्वेश्वरप्रसाद कोइराला) पनि घाँटीकै रोगले गएका हुन् !’
अर्काको उद्गार सुनियो, ‘अहिले केही भन्न मिल्दैन, ऊ हेर्नु त अझै होस आएको छैन । भोकल कर्ड संवेदनशील अङ्ग हो, अलिकति तलमाथि पर्दा पनि स्वर जान सक्छ, बोल्नै नसक्ने हुन सक्छन्, के के हुन सक्छ के के !
उनको बोली टुङ्गिएको थिएन, अर्को प्वाक्क बोल्यो– ‘मेरो अफिसको साथीको पनि यही केस हो, अहिले बिचरा बोल्न सक्दैन !’
‘हरे, कत्ति गलफती गरिरा… ‘म बोल्न सक्छु क्या’ जुरूक्क उठेर चिच्याएर भन्न मन नभएको होइन तर मन मात्रै भएर नहुने रहेछ, तनले पनि साथ दिनुपर्यो । औषधीको लट्ठ्याइँले हो वा केले हो, आँखै उघार्न नसकिने स्थितिमा सामर्थ्यको डङ्का पिट्ने कसरी ? लौ, पिटिहालियो भने पनि त्यसको के अर्थ ! बरू सुनेको नसुनेझैँ गरी अचेत पल्टिरहनुमै महाकल्याण अनुभूत गरियो ।
शय्यामा पल्टिरहेको बिरामी वा बिरामीको आफन्तलाई त्यस्ता कुराले पुर्याउन सक्ने मनोवैज्ञानिक असर, त्यहाँ कसैको सरोकारको विषय थिएन, सबै आआफ्नो पाण्डित्य छाँट्नमै व्यस्त थिए ।
‘त्यस्तो केही हुँदैन, डाक्टरले ‘अप्रेसन सक्सेस’ भन्नुभएको छ ….’ भाइको बोली टुङ्गिन नपाउँदै ‘डाक्टरले त भन्छन् नि, मरिसकेकालाई त ‘भेन्टिलेटर’मा राख्छन् यी बजिया, के कुरा गर्नुहुन्छ । ‘बायोप्सी’को रिपोर्ट आएपछि हेरौँला !’ आगन्तुक एक जनाले रौद्र ज्ञान छाँटे ।
अवाञ्छनीय तर्कवितर्कले गर्दा धुम्मिएको मन शान्तिको पुकार लगाइरहेको थियो । धन्न ! पीडाशामक सुई दिने बेला भएको रहेछ र निद्रादेवीले राहतको अनुभूति गराइन् ।
तै, ‘बायोप्सी’को रिपोर्ट तिनले भने जस्तो आएन ।
केही दिन नबोल्नुहोला भनिएकाले मौनता साधिएको थियो । रहलपहल धुकचुक पनि निर्बाध बोली फुट्दा निराधार ठहरियो । बेला बेलामा जँचाउन जाँदा हरि डाक्टरसाबको बोली र व्यवहारले लाग्यो, त्यतिखेर डाक्टर सिन्हा नहुनु राम्रै भएछ । केही महिना बिराएर तीन वर्ष जति अस्पताल गइयो, सधैँ ठिकठाक देखिने भएपछि त्यसमा पनि पूर्णविराम लगाइयो ।
एकदिन न्युरोडमा बाटो काटिरहेका तीर्थ काकाको आँखा जसै ममाथि पर्यो, उल्टो पाउ फर्कनु कि अगि बढ्नु, दोधारमा परेजस्ता देखिए । अकमकिँदै आएका उनले नजिकिनासाथ दुवै हात पसारी कन्चटसम्म हाँसो उमार्दै भने, ‘हेर्नोस् त, मैले भनेको कस्तो मिलेको, क्यै’ हुँदैन, किन सुर्ताएकी भनेर मैले तपाईंकी दुलहीलाई भनेको थिएँ । ल, आज गजबको तगडा भइहाल्नुभयो !’
म ट्वाँऽ परी उनलाई हेर्या हेर्यै’ भएँ ।