• सन्दिप काफ्ले ‘प्रश्रित’

‘हे प्रिय मान्छे ! आजकाल त परिवर्तन भएछौ । घन्टौँ गफ गरेर रात बिताउने तिम्रा ती दैनिकीहरु परिवर्तन भएछन् । एकाबिहानै गुड मर्निङको म्यासेज नसुनाई बिहानीको शुभारम्भ नै ठिक हुँदैन भन्ने तिम्रा ती सोचहरु परिवर्तन भएछन् । तर मेरा, मेरा त वाचा गरेका ती सर्तहरु नियम जसरी लागु भएका छन् । तिमी नबोले पनि सर्त पूरा गर्ने आदत भइसकेको छ । रातमा घन्टौँ आकाशका तारासँग गफ गर्छु अनि बिहानीमा शीतसँगै आँखाबाट आँसु खसालेर निदाउने कोसिस गर्छु । आफू ब्युँझेर सूर्यनारायणलाई जगाउने नियम पनि कायमै गर्छु । तिमीले छाडेर जानुमा दोष तिमीलाई कदापि दिन चाहन्नँ । दोष त मेरै थियो होला ! किनकि भविष्य बनाउने सोचले वर्तमानमा पेसासँग व्यस्त हुने चाहना गरिरहेँ । भविष्यकै खुसीका लागि लडिरहेँ तर तिमीलाई त्यो मन पर्दैन रहेछ । यो सोझो मनले के थाहा पाउँथ्यो र ! जलिरहेको मुटुमा घिउ थप्दा आगो त झन् दन्किन्छ भनेर तर दुःख त ओदानलाई पर्छ नि !’

पहिलोचोटि उनलाई मैले चावहिल चोकमा देखेको थिएँ । एक्कासि आँखा जुधेका थिए । बस् आँखा मात्रै जुधे र एकटक चाहना नहुँदा नहुँदै नयनले नयनलाई आकर्षित गरे । रत्नपार्क रत्नपार्क भन्दै खलासी दाइले कराएपछि बल्ल मन कलेजतिर गयो । कलेजमा खासै मन लगाएर पढ्ने इच्छा जागेन ।

सोचेको थिइनँ कि भोलिपल्ट पनि त्यही ठाउँमा उनैसँग भेट हुन्छ भनेर । कलेज ड्रेसमा सजिएकी उनीसँग भोलिपल्ट पनि त्यही ठाउँमा भेट भयो । मेरो कलेज जाने समय अनि उनको कलेज छुट्टी हुने समय एउटै पर्दाे रहेछ । त्यो दिन परैबाट चिनिहालेँ हिजो नजर जुधाउने मान्छे । हुन त नयन जुध्नुमा मेरो के दोष नयन नै गलत भएपछि । उनको छेउ पुग्दासम्म आँखा जुधिरहे । मेरा आँखा पनि किन कमजोर बन्थे र ! सायद आमाले सानोमा निधारमा कालो टीका लगाइदिन बिर्सनु भएर नै आज दुनियाले नजर लगाउने गरेका होलान् । यस्तो लाग्यो । नभए त दुनिया किन मप्रति आकर्षित हुन्थे र !

‘के हो नजर त गाढा छन् त ?’ मैले आफैले कुरा सुरू गरेँ । किनकि मलाई बाबाले भन्नुभएको थियो,  ‘चिनेको होस् या नचिनेको अरुले चिनेको जस्तो सङ्केत गर्यो भने बोलिहाल्नू ।’

‘राम्रा मान्छेहरु नबोलेपछि नजर मात्रै भए पनि त लगाउनैपर्यो नि ।’ उत्तर आयो । म अचम्मित भएँ । खुसी पनि । कोही त रहेछ मलाई पनि राम्रो मान्छे भन्ने । तर म राम्रो मान्छे ! कसरी ? आफैलाई प्रश्न गरेँ । कि फेस रिडिङ गर्ने गरेको छ ? मनभित्रै मनलाई सोधेँ । कि त धेरै दिन भइसकेको हुनुपर्छ मलाई पछ्याएको । सोधिहालेँ कि, ‘म कसरी राम्रो मान्छे बुझिनँ नि ?’

‘पछि भन्छु यो कुरा बरू शनिवार दिउँसो स्वयम्भूतिर आउनू न घुम्नलाई । मलाई हतार छ ।’ यसो भन्दै बाटो लागी ।

म बोलक्कड भएँ । नचिनेको मान्छेले यसरी बोलाएको देख्दा । ऊ गएको बाटोतिर टोलाएर हेरिरहेँ । उताबाट रत्नपार्क रत्नपार्क भन्दै खलासी दाइ कराएपछि झसङ्ग भएँ । एकछिन त म यो दुनियामा छैन कि जस्तो पनि लाग्यो तर आफैलाई सम्हाल्ने कोसिस गरेँ । कलेजतिर लागेँ । मन पढाइमा लागेन । बिचमै छाडेर हिँडौँ कि जस्तो भयो तर ज्ञानभन्दा अरु कुनै कुरो ठुलो छैन भनेर मन नलागी नलागी पढेँ । तन कक्षामा थियोे । मनचाहिँ ती नारीका स्वरुप र दृश्यमा गइरहेको थियो । कसैको चक्करमा पर्यो भने जिन्दगी बर्बाद हुन्छ भन्ने उदाहरण मेरा लागि पनि लागु भयो । दिन बर्बाद ।

न उसको ठेगाना न उसको परिचय केही थाहा थिएन । त्यसमा शनिवार स्वयम्भू घुम्न आउनू रे ।

कलेजबाट कोठा फर्केपछि मोबाइल हेर्दा त्यही मान्छेले फ्रेन्ड रिक्वेस्ट पठाएकी रहेछ । हेरेँ ! एकछिन त एक्सेप्ट नगरौँ कि जस्तो लाग्यो तर यो चञ्चल मन कहाँ रोकिन सक्थ्यो र । साथी भयौँ । मलाई यो आधुनिक दुनियामा रमाउन त्यति मन लाग्दैन । त्यसैले गफ गर्न चाहिनँ । उतैबाट म्यासेज आयो । अहिलेबाट नै निम्तो छ है शनिवार स्वयम्भूमा आउनू भनेर । किन यसरी मप्रति आकर्षित अनि अभिप्रेरित भइरहेका छन् थाहा थिएन । ‘हुन्छ’बाहेक अरु केही बोलिनँ । थाहा छ सामाजिक सञ्जालले मान्छेलाई सडकमा पुर्याउँछ भनेर ।

आज शनिवारको दिन । कतै शङ्का त कतै आश्चर्य लागिरहेको थियो । जीवनमा पहिलोचोटि एक्लै यसरी नौलो मान्छेसँग भेट गर्न जान लागिरहेको थिएँ । बेरोजगारी त होइन तर एकचोटि पर्स हेर्दा थाहा भयो । मलाई पनि बेरोजगारीकै उपमा दिए हुने रहेछ । खाली पर्सले कसैलाई कुरिरहेको रहेछ । साथीसँग दुःखेसो पोखेँ । आखिर साथी पनि त मजस्तै । साथी मात्रै होइन सहरमा कोठा भाडा लिएर बस्ने हर कोहीको समस्या हो यो । पल्लो कोठामा बस्ने दिदीसँग सापटी मागेँ । जीवनले हर कोहीलाई विश्वास दिलाउन सकेकोले आजसम्म कसैले केही चिजमा नाइँनास्ति गरेका छैनन् । गोजीबाट निकालेर दिनुभयो । अनि मन जति नै दुःखी भए पनि बाहिरी स्वरुप राम्रो हुनुपर्छ भन्ने मेरो मान्यताले सामान्य मेकअप गरेर स्वयम्भूतिर लागेँ ।

पुग्दा १०:२० भएछ । किन ढिलो आएको भनेर गाली गर्ने हो कि जस्तो लाग्यो तर नेपालीको बानी मलाई पनि लागु भयो । नम्बर थिएन उनको मसँग । भिड थियो स्वयम्भूको डाँडो । कहाँ खोज्ने उनलाई त्यत्रो भिडमा अब मैले । बौलाहा कुकुरले जसरी चहार्न थालेँ । परिकार त अनेकौँ भेटेँ । आफ्ना भेटिए तर आफ्नो भेटिएन । रुपले नयनलाई चोर्यो । दृश्यबाट मनले आनन्द लियो ।

गोडाले थकान मेट्यो । शरीरले स्पर्शविहीन भएर पनि यौवनको फाइदा उठायो । म भने उसैको पर्खाइमा थिएँ ।

नम्बर नभएपछि फेसबुक खोलेर म्यासेज पठाएँ, ‘कता हो भनेर ।’ अनलाइन नै रहिछ । रिप्लाई दिइहाली, ‘स्वयम्भू डाँडामै छु ।’

नम्बर मागेँ । घण्टौँ अनलाइन बस्न सक्दिनथेँ । कल गरेर आफू भएको ठाउँमा आउन भनेँ ।

आज उनी पहिलोचोटि देखेकोभन्दा फरक थिइन् । कुर्तासुरूवालमा सजिएकी, आँखामा गाजल लतपतिएकी, कोमल नयन, सामान्य मेकअप तर अप्सराभन्दा कम थिइन । अनि पुरूष किन नारीको रुपमा आकर्षित नहोस् ! एकछिन म पनि एकोहोरिएँ । नयनका भित्री नानीमा गएर कल्पना गर्न थालिसकेछु, अन्धकार चाँदनीसाथ हामी दुई कुनै एकान्त ठाउँमा बसेर यौवनको रस चुसिरहेको ।

‘ओ कता हराएको ?’ उनले नम्र स्वरमा सोधी ।

नजिकैको चियापसलमा गएर शरीरलाई तातो बनाउन थाल्यौँ । चियासँगै स्पर्शरहित शरीरको सान्निध्यमा रमाउन थाल्यौँ । मौनता भङ्ग गर्दै प्रश्न सोधेँ । आखिर जिज्ञासु विद्यार्थी न परेँ । ‘तपाईंले मसँग किन यसरी सम्बन्ध राख्न खोज्नुभएको ?’

चियाको खाली कप टेबुलमा राख्दै भन्न थाली, ‘मैले तपाईंलाई एक वर्षअगाडिबाट चिनेको हुँ ।’

वृत्तान्त बताउन थाली, ”मैले देवघाट वृद्धाश्रममा वृद्ध आमाबुबासँग भलाकुसारी गर्दै फक्रदै गरेको यौवनले कसैको दुःख बुझिरहेको देखेँ । सेवाभाव जागृत भएको देखेँ । म त्यहीँ वृद्धाश्रममा अध्ययन निम्ति आएको थिएँ । केही सेकेन्डको हजुरको दृश्यले मुटु छेड्यो जहाँ तपाईं तीर बनी आउनुभएको थियो र निकाल्न नसक्ने गरी बस्नुभयो । तपाईंसँग बोल्न धेरै कोसिस गरेँ तर सकिनँ । भगवानलाई पुकारा गरेँ । पशुपतिमा भोलेनाथको पूजा गरेँ । दक्षिणकालीमा पूजा गरेँ केवल हजुरसँग भेट होस् भन्न । सायद भगवान्ले पुकारा सुनिदिनुभयो । चावहिलमा हजुरलाई देखेको दिन बोल्न सकिनँ । थाहा पाएँ, काठमाडौँ नै बसेर वाल्मीकि कलेज पढ्नुहुँदोरहेछ । जस्तो चाहिएको त्यस्तै भयो ।’

अरे वाह ! कथाको इतिहास त लामो पो रहेछ । अचम्मित भएर म हिमालझैँ अडिग भई मुस्कुराइरहेँ । कुराहरु थपिँदै गए । अध्यात्मसम्बन्धी केही चर्चा गर्यौं । जिज्ञासु भएर धेरै प्रश्न सोध्न थाली । उसका नयन मेरै नयनसँग गाडिएर बसे ।

सूर्य कोल्टे पर्दै थियो । चिया खाएको पैसा उसैले तिरी । सायद धनी बाउकी छोरी थिई । काठमाडौँमा घर भएको मान्छे धनी किन नहोस् त ! मन्दिरमा बोलाई अनि भगवान्सँग प्रार्थना गर्दै इच्छा प्रकट गरी । मेरो हात समातेर प्रस्ताव राखी, ‘म हजुरसँग विवाह गर्न चाहन्छु ?’

म त एकैचोटि तीन तलाबाट झरे जस्तो भएँ । ऊ कहाँको मान्छे म कहाँको मान्छे । विद्यार्थी उमेरमा एकैचोटि विवाहको प्रस्ताव ! म केही बोल्न सकिनँ । उत्तर दिन सकिनँ । मभित्र अझै के के गर्ने सपना र लक्ष्य छन् । यसरी अहिले नै विवाहको प्रस्ताव स्वीकार गर्न ठिक मानिनँ । म केही नबोलेको देख्दा उनले ‘सरी’ भनिन् । सन्ध्यासँगै मन कता कता डराउँदै थियो । फर्किने निधो गरेर हामी सँगै गाडी चढेर चावहिल फर्कियौँ ।

कसैसँग बितिरहेका थिए पलहरु । रातमा कोठा आएर पनि दिउँसो भएका घटनाहरु जिस्किँदै गफियौँ । पेटमा भोक थियो तर ती गफको भोकले भोकलाई दूर गरिदिएको थियो । घन्टौँ गफ भए । एकअर्कालाई जिन्दगीमा बितेका कथाकहानी सुनायौँ तर दिउँसोको विवाह गर्ने प्रस्ताव स्वीकार गर्न म तत्पर थिइनँ । मनले नै इच्छा देखाएन । औकात मिल्दैन थियो । ऊ धनी बाउकी छोरी, म गरिब बाउको छोरो । उनी सहरिया, म गाउँले । म छाक टार्न काम गर्थें । ऊ काम गर्नलाई छाक टार्थी । त्यसैले मनले स्वीकार गर्न सकिरहेको थिएन । गफ भने भइरह्यो । यतिकैमा समयले नेटो काट्यो । आधा रात पुगेपछि बाइ म्यासेजले छुट्टियौँ ।

भोलिको दिन पनि अनलाइन आएका बेला गफिँदै बितायौँ । पढाइ त कता कता, कुरा पनि कति आएको सबै छाडेर के के कुरा गरेर बस्ने । एकदिन बित्यो, अर्को दिन बित्यो । हप्ता दिन बित्यो । यसरी नै दिनहरु बित्न थाले । पारिवारिक सम्बन्ध र सामाजिक चल्ती सबै थाहा पाइसकेको थिएँ । अनि लक्ष्यमा पुगेपछि मात्रै विवाह गर्ने है भनेर सबै कुरा भुलेर प्रस्तावलाई ओके गरेँ । घरपरिवारमा सबैलाई थाहा भयो । सायद संस्कारी मान्छे कसैका लागि दुर्लभ छ यहाँ । अनि झन् नजिक नजिक बन्दै गयौँ । घरतिरबाट आएको प्रेसरलाई मध्यनजर गर्दै जागिरतिर हात हालेँ । दिन यस्तैमा बित्न थाल्यो ।

तर थाहा भएन आजभोलि उनमा यस्तो के परिवर्तन भयो ! जससँग बोल्न पनि दुईतीन दिन कुर्नुपर्ने । बिझेको काँडा निकाल्दा पर्ने पीडाजस्तो भएको थियोे मुटुमा सजिएकी मान्छे यसरी टाढिएको देख्दा । कहिलेकाहीँ बोलचाल हुन थाल्यो । कतै बोलाइमा या कतै व्यवहारमा नराम्रो गरेँ जस्तो लाग्यो । दुवैको सहमतिमा जोडिएको थियो हाम्रो सम्बन्ध । किन यसरी टाढा हुन थालेका थियौँ थाहा भएन । बोल्दाबोल्दै परिवर्तन भएकी थिइन् । सायद कतै म टुटेँ कि ! जस्तो लाग्यो । जिम्मेवारी भए तापनि उनका लागि समय दिएकै थिएँ । आफ्ना गल्ती केलाउन थालेँ । कतै कतै भेट्टाइए मेरा गल्ती तर त्यसले पूर्ण रुपमा असर गरेको थिएन । आफैले विवाहसम्मको प्रस्ताव राख्ने अनि आफै छाडेर जाने । यो कस्तो संसार रहेछ । कसलाई विश्वास गर्ने यहाँ ।

पुष्पविहीन उद्यानमा भमरा भौतारिए जसरी भौतारिरहेँ अप्रत्याशित ढङ्गमा । अन्तमा थाहा पाएँ, मुटुमा क्यान्सर भएछ ।

Facebook Comments Box

Similar Posts