उषा शेरचन
नयाँ नयाँ आविष्कारसँगै
घाइते हुन्छ वातावरण
र बिथोलिन्छ पर्यावरण
हिमाललाई हिमाल भएर बस्न नदिनु
पहाडलाई पहाड भएर उभिन नदिनु
नदीलाई नदी भएर बग्न नदिनु
सागरलाई सागर भएर जम्न नदिनु
अनि
जङ्गल तालतलैया र सिमसारलाई
आफ्नै रुप र स्वरुपमा रहन नदिनु
भनेको
आफ्नो चिहान आफै खन्नु हो भनेर
हेक्का राख्दैनन् मान्छेहरु
आफ्नै जीवनलाई
झन् बढी जोखिमा राख्नु हो भनेर
बिर्सन्छन् मान्छेहरु
त्यसैले त
बाँच्नकै लागि भनेर
फेरि फेरि मृत्युलाई निम्त्याउँछन् मान्छेहरु
समयमै फुल्न बिर्से गुराँस
पहिरोले तान्न थाले पहाड
बाढीले बगाउन थाले तराई
यसरी नै प्रदूषण फैलिँदै गएर
स्वच्छ हावा बग्न छाड्यो भने ?
खोलानाला सुकेर
पानीको मुहान सुक्न थाल्यो भने ?
जङ्गलमा जङ्गल र पशुपन्छी मासिएर
नदी ताल र सागरमा जलचर मासिएर
यदि प्रकृति बहुलाइन् भने ?
मान्छेको अस्तित्व रहन्छ नै कहाँ ?
भनेर
विनाशले त्रसित
विध्वंसले ग्रसित
वातावरण डराइरहेकी छिन्
र, पनि
मान्छेको चेत खुलेको छैन अझै !
र, पनि
पर्यावरण जोगाउन लागेको छैन अझै !!


