- अभय श्रेष्ठ
औँला ठड्याउनुको अर्थ
माथिबाट आफूतिर झरिरहेको
ढुङ्गा पन्छाउनु हो
मुटु छेड्न बत्तिएर आइरहेको
गोली पन्छाउनु हो ।यो धरती साझा हो
यो हावा
यो घाम
यो पानी
र, यी हरियाली साझा हुन् ।तर, कहाँ छ साझा धरती ?
त्यो त तिम्रै खातामा बन्धकी छ ।स्वर्ग यहीँ छ तिनलाई
जसको कब्जामा छ सम्पत्ति
हाम्रो जीवनमा छैन कतै जीवन
हाम्रो जीवन
तिम्रै ब्याजको बन्द सन्दुकमा छ ।मेरो प्रिय देश
जहाँ उत्पीडन संरक्षित परम्परा हो
घुस गौरवमय संस्कृति
र, अन्धविश्वास अनुपम विद्या हो ।जहाँ घुसबिना
मुर्दाले समेत बाटो पाउँदैन
जहाँ सङ्घर्षबिना केही हुँदैन ।मलाई चेत आइसकेको छ भद्र भलाद्मीहरु !
जबसम्म निहुरो थियो मेरो औँला
मेरो टाउकोमाथि एउटा पहाड खस्यो
मातृलोकको गीत गाउने मेरो गला थिचियो
र, काटिए हजार माइलको गन्तव्य पुग्ने मेरा खुट्टा ।औँला ठड्याउन नसकेको भए
उहिल्यै काटिने थियो मेरो गर्धन ।औँला ठड्याउन सिकेपछि नै यहाँ
मैले पाएको हुँ पाइला टेक्न ।औँला ठड्याउन सिकेपछि नै यहाँ
मैले पाएको हुँ सास फेर्न ।मलाई चेत आइसकेको छ भद्र भलाद्मीहरु !
संसारका जुनसुकै कुनाका जो कोही मान्छेले
खान, लाउन र बस्न पाउनुपर्छ ।यहाँ हरेक मान्छेले कम्तीमा
मान्छे भएर बाँच्न पाउनुपर्छ ।
Facebook Comments Box


