विवेक दुलाल क्षेत्री
(दमक, झापा)

आखिर झारेपछि मात्र न
झर्दो रहेछ
आँसु पनि नयनबाट

आफैले दुखाएपछि पो
दुख्दो रहेछ
यो मन शरीरको कुना कुनाबाट

रूनुलाई
मैले कहिल्यै गरूडपुराण ठानिनँ
र सुन्नलाई
अपेक्षा गरिनँ कि
जहाँ जिन्दगीको एकालाप
सङ्गीत गुन्जिरहेको होस्

हारलाई
मैले कहिल्यै प्रिय वस्तु मानिनँ
र यो पनि मौका दिइनँ कि
हारले मलाई
पानीले काठलाई झैँ
मक्काइरहेको होस्

हमेसा सुस्तरी हावा चलिरहेको छ
खाली चौरमा
र मेरो सिकुटे तनमा

म त्यो नम्र हावाबाट
प्रेरणा लिइरहेको छु
भलै दुःखका बाछिटाहरुले
मलाई कुटिरहेको होस्

एउटा भित्री कुरा
बताऊँ है हजुरलाई
तर धेरै मान्छे
यो भन्न तयार छैनन्
र भन्दैनन्
मैले रूनबाट हाँस्न सिकेँ ।

Facebook Comments Box

Similar Posts