पुरूषोत्तम घिमिरे

सूर्य नमुस्कुराएको दिन
सन्ध्याले रोमान्टिक रूममा
दिनलाई नलठ्याएको दिन
सुधांशुले सुधा कणहरु
नबर्साएको दिन ।
सोच तिम्रा पुरूषार्थ अर्थहीन हुने छ
पुंसत्वविहीन पुरूषजस्तै ।
तिमीले प्रकृतिका क्यानभासमा रङ्गाएका,
गगनचुम्बी अहम्का करङहरु
बिल्कुल एडोनोभाइरसका एकांश,
परनिर्भर, खोक्रा, गुण शून्य,
खाली बोतल, पुराना कागज फगत कवाडी हुन् ।
विकास, राष्ट्रियता, स्वभिमान र आत्मगौरव ।
यौनोन्मत्त काठाकर्षित हात्तीझैँ ।
राष्ट्रियताको कठ हात्तीलाई
प्रदर्शन गरेर उत्तेजित नागरिकको,
भुल्भुले रगतलाई काल्पनिक रेखामा
कुलो बनाएर कलकल बगाउँदै
माउते बनेकाहरुको अङ्कुशले
तह लगाउने एक माध्यम मात्र हो सिमाना ।
प्रकृति सीमान्त हैन सिमाना बन्छ ।
खोलाको सिमाना हुँदैन सिमाना बन्छ ।
हिमाल आफैमा सिमाना बन्छ ।
हावा जहाँ पुग्छ उसको देश त्यहीँ हो ।
त्यस्तै मानिस हावा बन्न सके
उसको देश सबै बन्छ ।
उसको कोही हुँदैन तर
ऊ सबैको हुन्छ ।
प्रकृति पूर्ण हो,
विशेषणविहीन विशेष्यझैँ
सीमाविहीन सिमानाझैँ,
विहङ्गम स्वतन्त्र निश्चल निस्स्वार्थ शान्त
एक सच्चा बौद्धिक व्यक्तिजस्तै
योग्यतामा निरहंता
सर्वज्ञतामा मौनता ।

Facebook Comments Box

Similar Posts