नैना अधिकारी
(कामरुप, असम, भारत)
१. गृहस्थीका भित्ताहरुमा
कैद छन् खुट्टाहरु,
पिठ्युँमा संसार बोक्दै
आफ्नै आकाश खोजिरहिछे ऊ
चुल्होमा पोलिएका
उसका सपना
पसिनाले भिजेको ओछ्यानमा
हरेक रात जल्छन्
पाखुराले थामेको घर
आफै सिउरिएको आकाशमा
सधैँ फाटिरहन्छ
रातभर सिउन सकिएनन् सपना,
बिहान फेरि
उही दिन दोहोरिन्छ
छोरी जन्मदा आकाश रूँदै थर्थराउँछ
छोरो जन्मँदा
बज्रपातका बिच पनि बाजा घन्किन्छ,
मनमा बारम्बार एउटै प्रश्न उम्रिन्छ
थोपाहरु किन यति सजिलै विभाजन गरिन्छन् ?
२. ऊ सहरका गल्लीहरुमा
पसिना चुहाउँदै
हरेक दिन इतिहास कोर्ने प्रयास गर्छे
तर नाम सधैँ हराइरहन्छ
श्रम !
कहिले उखुको रस
कहिले मसिनको पाङ्ग्रा
कहिले खेतका बाला बन्छ,
तर पारिश्रमिक ?
काँध थापे पनि,
पाखुरा चलाए पनि
हिसाबको पन्नामा
उसको नामको अङ्क
सधैँ घटाइन्छ
लेख्ने हातहरु थाकिसके,
सुन्ने कानहरु बहिरा छन्,
मोल तोक्ने आँखा
सधैँ बन्द छन् ।
३. लोककथाहरुमा नायिका सधैँ सुन्दरी हुन्छे
जसले राजकुमार कुर्दै बस्छे
तर अब ती कथाहरु
जल्ने छन्
किनभने
उसका आँखाहरुले विद्रोह लेख्दै छन्,
हातहरुले आफै
राजकुमारी बन्न सिक्दै छन्
अब ती हातहरु
केवल भात पकाउने छैनन्
कलम समाउने छन्
बजारका भित्ताहरुमा लेख्ने छन्
समानताको घोषणा !
घर र सहर,
खेत र कारखाना,
सबै ठाउँबाट एउटै आवाज उठ्ने छ–
महिला—श्रम—सपना—समानता !


