• रमी प्रिया

ममताको भरिलो रङ टाँसेर
उकालीओराली फैलिएको जङ्गल
बादलको पछ्यौरीमा
एक अँगालो स्नेहको कोसेली
पठाउँथ्यो सुदूर हिमालसम्म
सुरक्षामा खटिएका पहराको छातीमा
ठोक्किएर सगर्व सुनाउँथ्यो
बादलले जङ्गलको सन्देश ।

कन्दरा पाखा हुँदै
बिचैमा पोखिएका प्रेमका बुँदहरु
भिजाउँदै आँचल – लहर वक्ष सर्वाङ्ग
धराको कोखसम्म
लुछुप्पै हुने गरी
कण कण मलिलो पार्दै
फेरि फेरि अँकुराउँथ्यो
प्रेमको बीज नित्य निरन्तर… !
सुसाउँदै आउने शीतोष्ण लहरले
छोइएर सधैँ
हर्षले पग्लिदिने हिमाल
आज त्यही स्पर्श कुर्दाकुर्दै
तप्काइरहेछ तातो आँसु
र वेदनाको तलाउ जमिरहेछ
माथि कतै कुन दिन फुट्ने हो
धैर्यको बाँध !
र को कहाँ पुग्ने हुन् त्यस घडी ?
तर थाहा भएकै कुरो हो – त्यतिखेर पनि मान्छेहरु
व्यस्त हुने छन् सदाझैँ
छरपस्ट केबुलहरुको तोरणमुनि
कथित समृद्धिको उत्कर्षको खुसियालीमा
प्रत्यक्ष प्रसारणसहित उत्सव मनाइरहेका हुने छन्
आफ्नै महाप्रस्थानको ।

Facebook Comments Box

Similar Posts