मधुर भट्टराई
(बर्दिबास १४, महोत्तरी)
अचेल मलाई
सपना देख्न
असाध्यै डर लाग्छ
जब सपना देख्ने प्रक्रियामा हुन्छु
पूर्ण सपना देख्न
बाँकी रहेका सपनाको कच्चा पदार्थ
एकाएक आएर–
वयस्क हुन नपाएको झोकमा
क्षतिपूर्तिको हिसाबकिताब माग्छ
खेर गएको
अल्लारे समयको साँवाब्याज खोज्छ
पूर्ण हुन नसकेका
अबोध सपनालाई के थाहा
मेरो जीवनको
हिसाबकिताब असाध्यै कमजोर छ
तिनीहरुलाई
कहिले आकाश देखाइदिन्छु
कहिले तारा देखाइदिन्छु
कहिले आफूले हिँडेर खर्चेका
बाटा देखाइदिन्छु ।
ती बिचरा !
सपनालाइ के थाहा–
यदि मैले
सपना देखिहालेँ भने पनि
तिनीहरुलाई भरणपोषण गर्न
मैले फेरि अर्को सपना देख्नुपर्छ ।