मुरारीराज मिश्र
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाण्डौं-७)

दुई दशकभन्दा अघि अर्थात् २०६१ सालमा सदाबहार एवम् सर्वाधिक चर्चित गीतको शिर्ष नाममा आधारित रहेर १५५ वटा गीतहरु सङ्गृ्रहीत पुस्तक ‘फैलियो मायादूबोसरी’ प्रकाशित गरेका गीतकार त्रिविक्रम पाण्डेको दोश्रो गीतसङ्ग्रह  ‘अंशियार’ भर्खरै बजारमा आएको छ । भुँडीपुराण प्रकाशनबाट (२०८१ चैतमा) प्रकाशित यस पुस्तकमा उनीद्वारा रचिएका विविध स्वाद, फरक–फरक विषय अनि अलग–अलग धारका हृदयस्पर्शी ३०८ वटा  गीतहरु रहेका छन् । पुस्तक हेर्दा लाग्छ , व्यक्तिगतरुपमा लेखिएका यति धेरै गीतहरु सङ्ग्रहित भएको नेपाली गीतकारहरु गीति पुस्तकहरु मध्ये हालसम्मकै यो सबैभन्दा ठूलो वा मोटो पुस्तक हुनसक्छ !

त्यसो त, पाण्डेको परिचय गीतकारमा मात्रै सीमित छैन । उनी कुशल कवि, मुक्तककार र लघुकथाकार पनि हुन् । साहित्यको सबैजसो विधामा प्रायः उनको कलम चलिरहेको देखिन्छ । यसअघि उनका सिरेटो (म्युजिक नेपाल–२०५२) गीति एल्बम, तृप्त लघुकथासङ्ग्रह, कागजको कुमारीत्व कवितासङ्ग्रह र मन मदानी मुक्तकसङ्ग्रह सार्वजनिक भइसकेका छन् ।

गीतलाई स्वर र लयमा आधारित शब्दहरूको सुन्दर रचना मानिन्छ । गीतको विशेषता सिधै मानिसको मन–मुटुलाई स्पर्श गर्न सक्नु हो । यसलाई गुनगुनाउँदै पढ्न सकिन्छ र यसले मानिसको मनलाई तरङ्गित र आनन्दित बनाउँछ । सायद, यही नै गीतको बिशेषता हो ! पाण्डेजस्ता सैद्धान्तिक अनि व्यवहारिक अनुभवले खारिएका लोकप्रिय स्थापित गीतकारका रचनाहरूमा यस्तो विशेषता नहुने कुरै भएन ।

पाण्डेका अधिकाङ्श गीत प्रेमका मीठा भाखामा आधारित छन् । मिलन, बिछोड, विश्वास र धोका सम्बन्धि गीत पनि पुस्तकभित्र प्रशस्तै छन् । राष्ट्रियता, राष्ट्र प्रेम, गाउँ–ब्याँसी, हिमाल, पाखा–पखेरा, प्रकृति, रीति, कुरीति, धर्म, संस्कृति, चाडपर्वहरू पनि उनका गीतका बिषयवस्तु बनेका छन् । सङ्ग्रहमा अटाएका प्राणी हत्या, अन्याय, अत्याचार, भ्रष्टाचार र सामाजिक विकृतिविरुद्ध आवाज उठाएका गीतले समाजलाई सकारात्मक सन्देश दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आफ्नो स्थापना दिवस–२०७० को उपलक्ष्यमा आयोजित नेपाल अधिराज्यव्यापी भ्रष्टाचार विरोधी खुला गीत प्रतियोगितामा पुरस्कृत भएको पाण्डेको गीतले देशमा सुशासन र अमनचयनको लागि सबैलाई सचेत गराउँदै सदाचारी बन्न प्रेरित गर्दै झक्झक्याएको छ ।

नेपालकै ऐतिहासिक सामाजिक सुरक्षणको क्षेत्रमा अग्रणी संस्था कर्मचारी सञ्चय कोषको ५०औँ वार्षिकोत्सव (कर्मचारी सञ्चय कोष, स्वर्ण उत्सव समारोह–२०६८) को उपल्रक्ष्यमा पाण्डेद्वारा सिर्जित मात्र नभई उक्त गान रेकर्डिङको सारा चाँजोपाँजो समेत उनैले मिलाएको ’कर्मचारी सञ्चय कोष गान’ ले संस्थागत गानमा पनि यसरी संस्थाको समग्र गतिविधि अटाई ओजपूर्ण तरिकाले प्रभावकारी सुन्दर कलात्मक प्रस्तुति दिन सकिन्छ भन्ने यथार्थ उदाहरण उजागर गर्न सकेको छ ।

जीवन भोगाइका अनुभवझैँ लाग्ने मार्मिक गीतहरूका साथै दार्शनिक, अध्यात्म, उपदेश र जीवन दर्शनका भाव बोकेका गीत तथा राजनीति, चुनाव र लागूपदार्थ दुव्र्यसनसम्बन्धि जनचेतनामूलक गीत पनि पुस्तकमा समेटिएका छन् । पढ्दै जाँदा गीतमा आफ्नै कथा–व्यथा लेखिएको जस्तो महसुस हुन्छ । गीतहरूले पाठकलाई कतै रोमाञ्चित त कतै–कतै भावविह्वल पनि बनाउँछन् । कतै हसाउँछन् त कतै सोचमग्न गम्भीरसमेत बनाउँछन् ।

गीतकारका भावनाहरु सहज, सरल र सलल बगेका मात्रै छैनन् शब्द छनौट एवम् चयन पनि भावपूर्ण र मीठासयुक्त छन् । उनका धेरैजसो गीतहरूमा संवेदनाका स्वरहरू मुखरित भएका पाइन्छन् । कलात्मक शब्द संरचना, विम्बात्मक र प्रतीकात्मक रूपमा कुशलतापूर्वक प्रस्तुत गरिएकाले गीतहरू मीठा बनेका छन् । पाठकलाई आफूसँगै हाँस्न, रुन र सोच्न बाध्य पार्नसक्नु गीतकारको सफलता हो, जसमा पूर्णतया त्रिविक्रम सफल भएका छन् ।

पाण्डेका गीतहरूमा परिवर्तनशील समयको कथा छ । मानवीय जीवनका हरेक पाटालाई गीतले छोएको छ भने समग्रमा गीतमार्फत उनले समाज, राष्ट्र अनि विश्व मानव समुदायलाई सकारात्मक, नैतिकवान, चरित्रवान बनेर आदर्श जीवनयापन गर्नका लागि सशक्त गहन सन्देश दिन खोजेका छन् भन्न सकिन्छ ।

अंशियारभित्र सङ्गृहीत मलाई मनपरेका गीतहरुका केही उदाहरण –

एकबार होइन प्रत्येक बार हुनुपर्छ
मान्छेलाई मान्छेसँग प्यार हुनुपर्छ
सबैसँग समान सद्व्यवहार हुनुपर्छ
हर नातामा आफ्नोपनको बहार हुनुपर्छ ।
+
तिम्रै नाम गरेँ यो दिल, तोडी गएपनि
हामीसँगै छौं झैं लाग्छ, छोडी गए पनि ।
+
सुन जोख्ने तराजुमा माया जोख्यौ किन?
मोतीतूल्य आँसु मेरो, भन पोख्यौ किन?
+
यात्रा रै’छ जिन्दगानी यात्री रै’छ मान्छे
कहाँबाट आई कहाँ आखिर जान्छ मान्छे ?
+

लेक–बेँसी सी गाउँ शहर डुलेँ पाखा–भीर
एउटा–एउटा सबैलाई हुँदो रै’छ पीर ।

+

यी त केही उदाहरण मात्रै हुन । समग्र गीतको रसास्वादन गर्न त गीतसङ्ग्रह ‘अंशियार’ पढ्नै पर्छ । नेपाली गीति साहित्यको क्षेत्रमा त्रिविक्रम पाण्डेको योगदान उल्लेखनीय अनि महत्वपूर्ण छ । यसै क्रममा एउटा थप पठनीय र सङ्ग्रहणीय पुस्तक साहित्यिक फाँटमा थपेकोमा गीतकार त्रिविक्रम पाण्डे निश्चय नै प्रशंसा एवम् बधाईका सुयोग्य पात्र बनेका छन् ।

आशा गरौं, उनको पहिलो गीतसङ्ग्रह ’फैलियो माया दूबोसरि’ मा सङ्गृहीत लोकप्रिय बन्न सफल गीतहरूले जस्तै ’अंशियार’ भित्रका गीतहरूले पनि छिट्टै सङ्गीताबद्ध भएर उपयुक्त स्वरमा सजिएर  जीवन्तता पाउने नै छन् । आगामी दिनमा पनि उनका थप रचनाहरू निरन्तर यसरी नै पढ्न पाइयोस्…कुशल गीतकारको पङ्क्तिमा दरिईसकेका मूद्र्धन्य स्रष्टा पाण्डेलाई यही नै मेरो मुरी–मुरी शुभकामना ।

पुस्तकः ‘अंशियार’ (गीतकार सङ्घ नेपालको १६औँ स्थापना दिवस–२०८२ मा वर्ष गीत पुस्तक पुरस्कार   अन्तर्गत सर्वोत्कृष्ट गीत पुस्तक घोषित पुरस्कृत कृति)

विधाः गीत
गीतकार: त्रिविक्रम पाण्डे
प्रकाशकः भुँडीपुराण प्रकाशन
संस्करणः  पहिलो २०८१, चैत
पृष्ठः ३२४
मूल्यः रू. ६००।–

Facebook Comments Box

Similar Posts