नन्दलाल आचार्य

पहिलोपटक भोजराज रेग्मी अर्थात् मुखाले रेग्मीले २०२२ असोज १७ गते खोटाङमा आँखा खोले । जीविकोपार्जनका क्रमा पिता केवलनाथ रेग्मी र माता टेककुमारी रेग्मी रुपनगर ७, सप्तरीमा बसाइँ सरेर आएपछि उनले पनि जन्मथलो छाड्नुपर्यो । जीवनका उकाली चढ्दै र ओराली झर्दै निजामती सेवामा प्रवेश गरे । जनसेवामा देशका कुनाकन्दरासम्म पुगे । अनुभवले खारिएको व्यक्तित्व विकास गर्दै गए । एकपटक राजधानी समेत छिरे । केही वर्षकै दौरानमा राजधानीभित्रका सूक्ष्म कुराहरुको जानिफकार बने । राजनीतिका नाममा देश र जनतालाई चपाएको देखे । समाजसेवाका नाममा समाजलाई नै ठगेर वैयक्तिक महल ठड्याएको भेटे । जनसेवकको नाममा कर्मचारीतन्त्रले देश बन्धकमा राखेको अनुभूत गरे । महँगीले उठिबास लगाएको दुर्दशा नजिकैबाट भोगे । रहँदाबस्दा अनेक थरी विकृत पाटाको साक्षी भए । भित्री दिलैदेखि विकृत पाटाका विरूद्ध विषवमन गर्ने चाह पलाएर आयो । उनी अरु त के गर्न सक्थे, खुरूखुरू डायरीका पाना भरेर चित्त बुझाउन थाले ।
उनी भोरारे ‘मार्सेली’ नामले २०४५ सालमा ‘भूकम्प २०४५’ शीर्षक कविता लेखेर साहित्य संसार उक्लिन हिँडे । कहिले ‘म हराएको छु’ भनेर लेखे । कहिले ‘दलबहादुरको राशिफल’ लेख्तै हिँडे । एकपटक लेखेकै आधारमा उनले शासकीय पारितोषिकस्वरुप दुर्गम क्षेत्रतिर लखेटिनुपर्यो । यद्यपि उनी हच्किएनन् । काँधमा थोपरेको जिम्मेवारी पूरा गर्दै गए । अझ नौला ठाउँका नौला अनुभूतिलाई साहित्यको रङ दिँदै गए । सुगममा भन्दा दुर्गममा साहित्यको खानी भेटे । अनगिन्ती नलेखिएका साहित्यिक कच्चा पदार्थ बटुलबाटुल पार्दा भए । प्रकाशनको वातावरण नपाउँदा भने कृष्णगर्तको एक्लो यात्री बनी एक्लै एक्लै भुत्भुताउँदा भए ।
उनी देखेका, भोगेका, चित्तमा छाप राखेका र अनुभूतिले भिजाएका कुराहरु लेख्तै गए । आफ्नै ओथारामा ओथारो बसेर पोथीले चल्ला कोरले झैँ कोरल्दै गए । लोकजन जगाउने कुरा लेखे पनि लोकले थाहा नपाउने गरी लेखिरहँदा स्वयम्ले आफ्नो लेखनको साहित्यिक मूल्य कम देखे । शुभचिन्तक मित्रजन र आफन्तजनले उनमा विराट् साहित्यिक सम्भावना देखको कुरा बताइदिए । अझ बेलामौकामा पनि नबास्ने भालेको काम हुन्न भनेपछि उनी झसङ्ग भए । पर्दाबाहिर आउने उति साह्रो मन नहुँदानहुँदै पनि शुभेच्छुकहरुको शुभेच्छालाई कदर गर्दै उनी पर्दाबाहिर निस्कन थाले । फलतः दृष्टि, जनआस्था, नेपालीपत्र, युवामञ्च, ट्याम्के, बगर, स्रष्टा दर्पणजस्ता पत्रिकाका पाठकले उनको कवित्व र साहित्यिक व्यक्तित्व नजिकैबाट नियाल्ने मौका पाए ।
सर्वप्रथम उनले आफ्ना पुराना नामहरुलाई आर्यघाट पुर्याए र रून्चे मुहार लगाउँदै दाहसंस्कार गरे । आधा शताब्दी वसन्त फक्रेपछि आफ्नो न्वारान आफैले गरे । र, नयाँ नाम जुराए, मुखाले रेग्मी । हो, त्यही नाममा उनले २०७१ सालमा प्रथम कृति प्रकाशनमा ल्याए चित्त दुखेको ओखती (कवितासङ्ग्रह) । त्यसमा उनले आफूलाई उत्कृष्ट लागेका कविताहरु समेटे । ती २०४६ सालदेखि २०७१ सालसम्म लेखिएका थिए । धेरैजसो उनका कविताहरु राजनीतिले जन्माएका हुन् । केही कविता मात्र प्रेमअनुरागतिर झुकेका छन् । उनका कविता पढ्दा लेखकीय अभीष्ट नै समाज सुधार्नु हो भन्ने स्पष्ट झलक मिल्छ । हास्यव्यङ्ग्यलाई मूल मेरूदण्ड बनाएर धेरैभन्दा धेरै झर्रा शब्दलाई कवितामा स्थान दिएका छन् । यस कृतिमार्फत मूलतः उनी हास्यव्यङ्ग्य कविका रुपमा चिनिएका छन् । यसका केही उदाहरणहरु निम्नलिखित छन्,
रावणसँग लडेरै राम भगवान् भए
चाकरी गरेरै बाँदर हनुमान भए ।
विश्वकपभन्दा नि ठुलो त
समयको खेल पो रै’छ
एक से एक बेइमान त
खोलो फर्किएर आज महान् भए ।
(‘चित्त दुखेको ओखती’, पृष्ठ–३८)

आइपरेको बेला ‘हनबेर्नो’ हो जनता
जाइलाग्ने बेला ‘हतियार’ हो जनता
चुनाव अघि ‘जनार्दन’ हो जनता
चुनाव पछि भने ‘रद्दीको टोकरी’ हो जनता ।
(‘चित्त दुखेको ओखती’, पृष्ठ–३९)
उनको चित्त कहाँ, कहाँ दुख्यो भन्नेबारे कृतिको भूमिकामा स्वयम् उनले लेखेका छन्– ‘जब विश्वविद्यालयमा ‘विद्या’ बौलाउँछ र बबाल मच्चाउँछ, जब अस्पताल आफै अस्वस्थ भएर बिरामीसँगै बसेर रूवाबासी गर्छ, जब चितुवा र ब्वाँसाहरु मिडियामा ‘कण्ठी’ बाँध्छन् र भित्रभित्रै सिकार खेल्छन्, जब नेताहरु अभिनय र अभिनेताहरु राजनीति गर्न थाल्छन्, जब वायुमण्डलमा अक्सिजनभन्दा बढी खुरापाती चल्छ, जब राजनीति कुहेर डुङ्डुङ्ती गन्हाउँछ, जब संसद्मा सनक र स्वाङहरु सुसेला पार्छन्, जब धर्म, कानुन र प्रेममा हरिया झिँगा भन्किएर औँसा पार्छ, जब कर्तव्य र दायित्व ‘देखाउने दाँत’ हुन्छ, जब कुनै परदेशी जादुगरले गोडामा ढोग्न लगाएर गालामा चाटी चाटी नाकमा ‘कालो’ र निधारमा ‘चुना’ लगाइदिएर जान्छ, जब सिंहदरबार बजेटको हुक्का तान्दै म्यारिज खेलेर समय बिताउँछ, जब सडकमा स्वार्थहरुको सलह कुद्छ, जब पुख्र्यौली संस्कृति सतीदेवीको अङ्गझैँ पतन हुँदै जान्छ, जब ‘दल’ बहादुरहरु दलाली गरेर सधैँ ‘दर’ खान्छन्, जब नागरिक समाज आँखा चिम्लिएर सुकेलुतो कन्याउँदै बस्छ, जब भगवान्हरु फूलपाती र भेटी ओडेर बर्षौं वर्षसम्म निदाउँछन्, जब जब खपिनसक्नु भएर चित्त दुख्छ र ओखती खोज्दै मेरा कविताको ज्वालामुखी निस्कन्छ ।’
चित्त दुखेको ओखती (कवितासङ्ग्रह) भित्र ४० थान छोटा र मझौला प्रकृतिका कविताहरु सङ्गृहीत छन् । यस आलेखमा तिनलाई नै चिन्ने प्रयास हुने छ–
राजनीतिक बेथितिलाई झापड बर्साउँदै आजका नेतानेतृको हिजोको हविगत सम्झाउने काम ‘पुतलीको कथा’ कविताले गरेको छ । छिमेकी राष्ट्रले नेपालको जलसम्पदा नेपाललाई नै बेचेर ब्रह्मलुट गरिरहेको परिप्रेक्ष्यमा नेपालीहरुबिच एकता भए विकासका बाधकहरुलाई परास्त गर्न सकिने उद्घोष ‘हुटिट्याउँको सवाई’ कवितामा गरिएको छ । हेर्दा राम्रो देखिने वस्तु घातक पनि हुन सक्ने चेष्टास्वरुप जन्मिएको हो– ‘प्रणयः दुई तरङ्ग’ शीर्षकको कविता । काम गर्ने काम गर्दागर्दै मरिरहेछ, हसुर्ने जमात हसुर्नमै मस्त र व्यस्त छ भन्ने उद्घोष गर्न ‘अलच्छिन्’ कविता सक्षम छ । न्याय दिन ढिलाइ हुँदा अन्यायमा पर्नेहरुको सिरिखुरी उड्ने र अन्याय गर्नेहरुको मनमौजी चल्ने हुँदा छिटोछरितो मुद्दामामिला टुङ्ग्याई न्याय दिनुपर्ने आवाज बुलन्द भएको कविता हो– ‘न्याय’ । भनसुन, नातावाद र कृपावादले साहित्यमा प्रश्रय पाएकाले मोफसलका सर्जकहरुले प्रकाशनको पीडा खेपेको वस्तुस्थिति औँल्याउने सुन्दर कविता हो– ‘नलेखिएको कविता’ । वैयक्तिक स्वार्थमा निर्लिप्त भई काम गर्दा हाम्रो व्यक्तित्व र कृतित्व धरापमा पर्दै गएको जनाउ दिन ‘घाम बिग्रिएछ’ कविता सफल छ । निर्माणको इतिहास बनाउन मेलमिलाप अपरिहार्य रहेको आभास ‘जुँघा’ कविताले गराउँछ ।
राजनीति सप्रे मुलुकले काँचुली फेर्छ, बिग्रेको राजनीतिले अनिष्ट मात्र निम्त्याउँछ भन्न ‘राजनीति: तीन प्रकरण’ कविता सक्षम छ । छिमेकी मुलुकले उन्नति गरेर गएको सिको गर्न सक्ने सामथ्र्य हामी नेपालीमा नहुनुको एक कारण अन्धविश्वासको पुजारी बन्नाले र अकर्मण्यताको दास हुनाले हो भन्ने कुरालाई साङ्केतिक रुपमा दर्साउने कविता हो– ‘हरिशरणम्’ । नागरिक, नागरिकता र समाजका बेथितिहरुको इतिवृत्तलाई ‘केही मट्याङ्ग्राहरु’ कवितामा केलाइएको छ । ‘म हराएको छु’ कवितामा नेपालमा जनतामैत्री राजनीति नभएकोमा आक्रोश पोखिएको छ । जता लग्यो उतै जाने, जे भन्यो त्यही मान्ने, जसो गर्यो उसै हुने कुरो मन भएको उद्घोष गरी दार्शनिक दृष्टिकोण व्यक्त गर्ने काम ‘मन’ कविताले गरेको छ । अहिले मान्छे आआफ्नो हविगतको ख्यालै नगरी धनदौलत र ऐशआरामको पछि लागेको कुरालाई प्रस्ट्याउने जमर्को ‘रेमिट्यान्सकी स्वास्नी’ शीर्षक कविताले गरेको छ ।
‘सत्ता’को भोकका कारणले बनेको रोगीलाई ओखती र डाक्टर नचाहिने तर्क गर्दै रोगी (सत्ताभक्त) स्वयम् नै राज्य बन्ने गरेको कटु सत्य समेट्ने काम ‘सत्ता’ कवितामा गरिएको छ । यत्रतत्र देखिने, भोगिने र सुनिने बमबारूदको विष्फोटनले पारिवारिक जीवनमा प्रतिकूल असर पुगेको आभास दिलाउने काम ‘प्रेयसीसँग मनका कुरा’ कविताले गरेको छ । अधिकार प्राप्तिको महासङ्ग्रामहरुमा अग्रजहरु व्यस्त रहेका बखत बालबालिकाको संरक्षण र सुरक्षा पाउने हक कुण्ठित भएको आभास दिलाउने काम ‘साना नानीहरुसँग’ कविताले गरेको छ । कागजमा बलियो कानुन भए पनि व्यवहारमा लागु हुन नसकेर जनजीवन त्राहीमाम भएको दण्डहीनताको समय पक्रेर जन्मिएको कविता हो– ‘कानुन’ । निर्धाहरुको आश त्रासमा बदलिएको क्षणलाई टिपेर राजनीतिको कुरुप खेलले नेपाली संस्कार र भावना नालीमा फ्याँकिएको अभिमत जाहेर गर्ने काम ‘राजधानीको चिठी’ कविताले गरेको छ ।
जनताको राहत कागजी मिलान गरी हाकिम र ठेकेदारहरुले हजम गरेर जनतालाई आहत दिएको बेलिबिस्तार लगाउने काम ‘भोक: दुई प्रकरण’ कविताले गरेको छ । सहिदको लासको खेती गरेर डलर–मालिक बनेका शासकहरुलाई व्यङ्ग्य प्रहार गर्ने काम ‘देश’ कविताले गरेको छ । समयानुसार कार्य फत्ते गर्नेले नै संसार मुठीमा राख्न सक्ने शाश्वत पक्षलाई समेट्ने काम ‘केही तुफानी मट्याङ्ग्रा’ कविताले गरेको छ । समय बलवान् रहेकाले त्यसले जोकोहीलाई जहाँ पनि पुर्याउने सामर्थ्य बोकेको हुन्छ भन्ने दार्शनिक दृष्टिकोण व्यक्त भएको कविता हो– ‘समयको खेल’ । बिरालाले मुसा खेलाएझैँ जनतालाई खेलाएर ब्रह्मलुट मच्चाएको वर्तमान बोल्ने काम ‘जनता’ कविताले गरेको छ । आजका मान्छे थच्चिने, मच्चिने, उक्लने, मात्तिने र आत्तिने ठाउँ टुँडिखेल भएको आभास दिने काम ‘टुँडिखेल’ कविताले गरेको छ । प्रेम, जवानी र रुपको साँचो पहिचान दिने काम ‘केही रूमानी मट्याङ्ग्राहरु’ कविताले गरेको छ । धन नभए पनि षड्यन्त्रकारी मन हुनेहरु चाहेका ठाउँमा पुगेको र चाहेका कामकुरा गर्न सकेको आशय व्यक्त गर्ने काम ‘सियो’ कविताले गरेको छ । मान्छेले चाहेअनुसार नहुने र परिस्थितिको दास बनेर मात्र आश गर्नुपर्ने बाध्यतालाई देखाउने काम ‘जिन्दगीमा रहर पनि..’ कविताले गरेको छ । नियतिले साथ दिए जीवन रमितामय हुने तर ठगेमा सन्त्रासमय हुने शाश्वत पक्षलाई समेट्ने काम ‘नियति’ कविताले गरेको छ । वैयक्तिक स्वार्थले प्रेरित नेतानेतृको चर्तिकलालाई देखाउने काम ‘हलीहरु’ कविताले गरेको छ । यसमा राजनीतिक विकृतिको एउटा पाटोलाई उजागर गरिएको छ ।
पौराणिक पात्रहरुको प्रयोग गरी मिथकीय रुपमा वर्तमानलाई सूक्ष्म पाराले केलाउने काम ‘आधुनिक रामायण’ कविताले गरेको छ । सैद्धान्तिक रुपले विपरीत एजेन्डाधारीहरु समेत कुर्सी खेलका लागि दुई शरीर एक मनका भई जनतालाई मूर्ख बनाइरहेका कुरा सङ्केत गर्ने काम ‘नकचराहरु’ कविताले गरेको छ । प्रतीक्षाको घडी कष्टकर हुने जनाउ दिँदै प्रेम–प्रणयको प्रसङ्ग कोट्याउने काम ‘गुनासो’ कविताले गरेको छ । जतिसुकै विश्वासको वातावरण भए पनि जन्मजात शत्रुपक्षहरु विश्वस्त हुन नसक्ने तर्क अघि सार्ने काम ‘खस्रा कुरा’ कविताले गरेको छ । अनेकन बेथितिहरुका बिच जीवनलाई सग्लो राख्न र पवित्र पार्न हम्मेहम्मे परेको आभास दिलाउँदै चित्त दुखेको ओखती पाइने ठाउँको खोजी गरिएको कविता हो– ‘चित्त दुखेको ओखती’ । यो यस कवितासङ्ग्रहको शीर्ष कविता पनि हो । यसै नामबाट कवितासङ्ग्रहको नामकरण गरिएको छ । मायापिरतीका गाथाले भरिएको कविता हो– ‘चार आँखा जुध्दाखेरी…’ । सहिदहरुको बलिदानले शून्यप्रायः फल प्राप्त गरेकोमा आक्रोश व्यक्त गर्दै राजनीतिक बोली र व्यवहार सुधार्न चेतावनी दिइएको कविता हो –‘यक्ष–प्रश्न’ । कर्मचारीतन्त्रको रवाफिलो र असान्दर्भिक जीवनशैलीले चिमटेको टिप्पणी ‘हाकिम’ कवितामा गरिएको छ । मान्छेका इच्छा थरी थरीका रहेका र संस्कृतिका आडमा विकृति मौलाएको दृश्य खिच्ने काम ‘इच्छाको आयतन’ कवितामा गरिएको छ । जनतालाई लोप्पा खुवाउनेहरुले जनताका कसिला थप्पड खाएको आभास दिलाउने काम ‘थप्पडको जुलुस’ कवितामा गरिएको छ । यसमा जनविरोध समेटिएको छ ।
कवि मुखाले रेग्मीका कविता राजनीति र प्रेमप्रणयसम्बन्धी विषयवस्तु समेटेर जन्मिएका हुन् । कवितामार्फत लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाउनेहरुलाई उनले कसिलो थप्पड हानेका छन् । चित्त नबुझेका ठाउँमा व्यङ्ग्यवाण प्रहार गरेका छन् । उनका कवितामा कसिलो अभिव्यक्ति सशक्त रुपमा पाइन्छ । हरेक कवितामा दमदार साङ्गीतिक लयात्मकता भेटिन्छ । एकाध कवितामा उनले शिष्ट शृङ्गारिक पक्षलाई स्थान दिन पनि भुलेका छैनन् । मूलतः उनी स्थिर राजनीतिका पक्षमा कवितामार्फत उभिएका छन् । उनी यसका हिमायतीका रुपमा देखा पर्छन् । उज्ज्वल भविष्यको चाहना र कामनामै उनका कविताका हरेक हरफहरु निर्मित छन् भन्दा अतिशयोक्ति नहोला । यो नै उनको चाहना देखिन्छ ।

कृति: चित्त दुखेको ओखती, विधा: कविता, कवि:मुखाले रेग्मी, संस्करण:प्रथम, २०७१, प्रकाशक: नेपाल स्रष्टा समाज, काठमाडौँ, प्रकाशन प्रति: ११०० प्रति, मूल्य व्यक्तिगत रू. १११/– संस्थागत रू. २०१/– मात्र

Facebook Comments Box

Similar Posts