अन्जु चालिसे (रूपान्जली)

जिन्दगी चलाउँदाचलाउँदै
घर बनाउने रहरले
मानिस
आफैलाई इँटा बनाउँछ ।
बिहा गर्छ तर
खुसी बाँड्न होइन,
केवल जिम्मेवारी सम्हाल्न ।
परिवार पाल्दा ऊ हाँसिरहन्छ,
किनकि
हक हुँदैन उसको थाकेर बस्ने ।
छोराछोरीलाई अक्षर सिकाउँदा
उसका सपनाहरु निरक्षर रहन्छन् ।
दिनहरु, खर्चजस्तै सकिन्छन्,
रातहरु, चिन्ताजस्तै लम्बिन्छन् ।
ऊ बाँचिरहन्छ
घरका लागि,
नामका लागि
अरुका भोलिका लागि ।
एक दिन घर पूरा हुन्छ,
सबै सुरक्षित देखिन्छन्—
त्यही दिन ऊ
आफैभित्र भत्किन्छ ।
अन्तिम साँझ,
घरको आँगनमा
ऊ शान्त हुन्छ,
जिन्दगी उठाउँदाउठाउँदै
कर्तव्य पूरा भएको दिन
आफ्ना रहरहरु पूरा नहुँदै
उसको आयु पनि सकिन्छ
जिन्दगी चलाउँदाचलाउँदै ।

Facebook Comments Box

Similar Posts