सागर फुयाल
(काठमाडौँ)

शहर-
सभ्यता, वैभव
अनि आधुनिकताको धरोहर!

यो भव्य शहर-
सपना देख्ने र देखाउनेको
दोभान।

यो व्यस्त शहर-
त्यसैले त
यसमै समाहित हुने
अभिलाषा बोकेका मान्छेहरूको दौड छ
रोकिदैन तिनको रहर
अनि हार्दिकता बोकेर स्वागत गर्न
सधैँ जाग्राम बस्छ
निदाउँदैन कहिले शहर।

तर किन किन
यो शहरी हार्दिकता कहिलेकाँही-
टर्बुलेन्सका आउनसक्ने
अनिश्चित श्रृङ्खलाहरू लुकाउँदै
फ्लाइट क्रु मेम्बरले
यात्रुहरूमाझ बाँडेको
मुस्कान जस्तै लाग्छ

अनि,
वेटरको शालीनता र सौहार्दताको
एक-एक व्यवहार समेत
घुमाउरो हिसाबले बिलमा चढाउने
रेष्टुरेन्टको कारोबार जस्तै लाग्छ।

Facebook Comments Box

Similar Posts