कृष्ण प्रधान
(मञ्जरी भिलेज, इमाडोल, ललितपुर)
आङमा
देउता चढाएर
धाँमीझाँक्रीहरु पनि
खनिँदारहेछन्
तातो पनिउँ लिएर
बोक्सी दमनका नाममा
डाम्दै गाला
काड्दै छाला
स्त्री सौन्दर्यमाथि
गर्दै अनेक लीला भेदन ।
गाँउको देउता चढेपछि त
नेताहरु पनि
पुरानै बकपत्र लिएर
चुनावी मेला भर्न
निस्कँदा रहेछन्
विनालाजसरम
विनापश्चात्ताप
लुरूलुरू ढ्याङ्ग्रो ठटाउँदै
गाँउबेँसीतिर ।
उता,
कपाली तमसुकमा झुक्याएर
किपटमाथि ल्याप्चे धस्याउनेहरु
गाँउमै छन्
तिनका अमुक देउता जागित्राजस्तै
घरी घरी जागिरहन्छन्
र,
बालीनाली सोत्तर पार्दै
नाचिरहन्छन् दुम्सी नाच ।
कहिले
भालेमुङ्ग्रोले उठेर ठुँग्यो
जीवनको गतिलाई
कहिले
मलसाँप्रो पसेर
सोत्तर पार्यो गाँउलाई
कहिले स्यालहरुको
हुइयाँ हुइयाँले
गाँउ नै उचाल्यो
र,
बुल्डोजरहरुको रत्यौली नाच देखायो ।
अहिले
त्यही नाचको दृश्य हेरिरहेछ
एकोहारो भ्युटावरबाट
हराएको गाँउको देउता ।
देउरालीमाथि उभिएको
कङ्कालजस्तो भ्युटावरबाट
खोई ? के देखिन्छ के देखिन्न
तर,
हराएको गाँउको देउता खोजिरहेको
यो कविले भने
देखिरहेछ युगौँदेखि एउटै दृश्य
झुत्रा मैला दौरासुरूवाल
फाटेको टोपीमा
पानी नओतिने छानोभित्र
गिट्ठाभ्याकुर उमालिरहेको
एक जोडी शिव पार्वती ।
उसैको छेउ भएर
भरखरै बत्तासिएको छ
चैते हावासितै
गाँउमा देउता खोजिरहेको
कुनै अमुक दलको
चुनावी बकपत्र ।