बद्री ढकाल हिरामणि
(कोहलपुर, बाँके)
‘अब त जागिर टिक्न पनि निकै गाह्रो पो छ त ।’ शिक्षक नवराजले भने ।
‘टिक्न हैन टिकाउन गाह्रो छ भन्नुस् न ।’
पाँच वर्षअघि जोखानेका पालामा मलाई दुईपटक सरूवा गरे ।’ अर्का शिक्षक लक्ष्मणले थपे ।
‘त्यही झोकले अहिलेका मेयर पुकारेलाई हामीले जिताएको त हो नि !’
‘यसपालि त स्वतन्त्रले जिते हाइसुख ।’ प्रअ भएका नवराजले डकार्दै बोले ।
अबदेखि लेबी चन्दा नउठाउने र झोला प्रथा नबोक्ने अठोटका साथ सबैले स्वतन्त्र विचारको सास फेर्दै थिए ।
कार्यलय सहयोगीले पानीेसँगै एउटा चिठी पनि दिए । दुवै जनाले एकैपटक आँखा गाडेर चिठी सरसर्ती पढे । चिठीमा लेखिएको थियो, ‘तटस्थ मूल्याङ्कन कार्यविधिअनुरुप देहायका तपाईं शिक्षकलाई निम्नअनुसार सरूवा गरिएको छ ।’


