शर्मिला प्रधान
(मगरजोङ)

थुप्रै अनुभूति घुमिरहेकै हुन्
हाम्रो वरिपरि।
तरै पनि अनुभवले जहिल्यै विद्रोह गरिरहन्छ
अहिले मलाई नै
किनकि अनुभूतिमा रमाउने दिन
मैले काटेकै हो।
मानौँ मेरो अनुभव
रामकृष्ण शर्माको ‘प्यारो सपना’ जति नै हो।
अनि ‘विपना’ ठानिएका यी आनुभूतिक कुरा
ठ्याक्कै पाउँदिनँ म यहाँनेर ।
पारिजातले भनिराखिन्:
‘एकथरीको जीवन
विजयबाट सुरू भएर विजयमा अन्त हुन्छ;
अर्को थरीको जीवन
पराजयबाट सुरू भएर पराजयमा अन्त हुन्छ’
– खै ! कुन्नि किन हो
जीवनहरु त म
विजयबाट सुरू भएर
पराजयमा अन्त बनाउँदै गरेको देख्छु ।

हाम्रो सचेतनालाई बौरी उठाउन
हरिभक्त कराइरहेः
‘म ऐलान गरिरहेछु
उनीहरु केवल कागजका बाघ मात्र हुन्;
म ऐलान गरिरहेछु
उनीहरु नाङ्लो ठटाएर हात्ती तर्साउन पल्केका
मखुन्डोधारी नपुंसक एउटा जमात मात्र हुन्’
– खै ! कुन्नि किन हो
जीवनहरु त म
कागजको बाघको गुलाम भइरहेको
र फटाफट पुलिङ्ग र स्त्रीलिङ्गबाट नाम काटी
नपुंसकलिङ्ग हुनुमै रमाइरहेको देख्छु ।
चिन्तनाजति पोको पारेर
फ्याँकिरहेको स्थितिमा छौँ हामी ।

आत्मीयताको वन उजाड नहोस् भनी
विजय मल्लले रोपिरहेः
‘गुलाबको फूलमा अहिले
किन बारूदको गन्ध आउँछ !
अङ्कमालमा मुटु किन
बोल्दछ बमको आवाजझैँ !
किन हरेक झाँगझाँगबाट
चितुवा लुकेको शङ्का चियाउँछ’
– खै ! कुन्नि किन हो
जीवनहरु त म
हिंसा, ईष्र्या, व्यभिचार, स्वार्थ र शङ्काको
शृङ्गार गरी कुरुप सजिएको सुन्दर देख्छु ।
हामी हामीलाई
हामी हुनुको अर्थ बुझाउन नचाहने
गोरेटोमा लम्किरहेका छौँ हामी ।

जीवन हुनुको सार्थकतालाई भनी
राजेन्द्र भण्डारी यसरी लगाउँछन् चिह्नः
‘तँ गर्छस् टुप्पो र फेदको कुरो,
जीवनको कुरो !
मानवताको कुरो !
के हो जीवन भनेको?
प्लिज डोन्ट बोर मि !’
– खै ! कुन्नि किन हो
जीवनहरु त म
अजीवन अजीवन जिउँदै गरेको
अनि मानवता मनको
कुन चेपमा बन्दी बसेको देख्छु ।
असल नचाहने कोचाहिँ छैन र यहाँ!

सामूहिक समृद्धिका रङले नै
स्वर्गको तस्बिर बनिन्छ भनी सम भन्छन् ः
‘फोहोरलाई धकेल्दै अघि बढ
स्वर्ग तिम्रो पछि लाग्छ
स्वर्ग आफै बन्छ’
– खै ! कुन्नि किन हो
जीवनहरु त म
स्वर्गलाई पो धकेल्दै धकेल्दै धकेल्दै
नरक बनाउनेतर्फ लागिरहेको देख्छु ।
भुलहरु कति
मात्र ठानिँदा भुल भएका हुन्छन् ।

पूर्वाग्रहको त्यो हठी सोचलाई परिवर्तन गर्न
मिठो बोल्छन् वैरागी काइँलाः
‘यसरी
पहिलेको भुल संशोधन गरी
मेरो कविताको भर्खरै प्रकाशित किताबजस्तो
या हजुरको टेबलको फूलदानीमा
बिहानै फेरेर राखेको नयाँ फूलजस्तो
मेरो मायाको नयाँ संस्करण
यी दुई आँखाको
ट्रेमा लिएर आएको छु’
–खै ! कुन्नि किन हो
जीवनहरु त म
सुझबुझको संशोधन गर्न
सर्त चाहिएको जस्तो
टुक्राटुक्रा पारिदिन्छ प्रकाशित किताब
किनकि त्यहाँ
भावनाको कालो साँपको राज्य हुन्छ
र दुर्गन्ध पाउन थाल्छ
फूलदानीमा सजाएको प्रेमबाट पनि
जब कि हेरिने ती विचारहरुमा
लेखनाथको ‘सत्य सन्देश’को
चौथो पङ्क्ति बाँचिरहेको हुन्छ ।
मेरो अनुभव
खै! कुन्नि किन हो
मेरै अनुभूतिसित द्वन्द्व परिरहन्छ ।

Facebook Comments Box

Similar Posts