मिमला शर्मा

बारिएका छन् चोकहरु, ननीहरु, बहालहरु
अनि चिस्सिएका छन्,
त्यहीँ बस्ने मानिसका मनहरु
कङ्क्रिटका सुक्खा बाफमा
अनवरत निस्सासिएर,
सङ्क्रमित सहरका फाँटहरु
बेलगाम टुक्रिँदै छन् परिश्रमको पसिनामा
टुसाउँदै मदमस्त नाच्दै हाँस्ने धानका बालाहरु
बिचौलियाहरुको षड्यन्त्रको चेपमा
विस्थापित भएका छन्
अनि त्यही मलिलो माटो टेकेर,
हुर्केका अनगिन्ती सहरी घरहरुमा
चराले बचेरा कोरल्ने
स–साना प्वालहरु भेटिन्नन् आज
तर ब्रम्हनालका अवशेषहरु सडक सडकमा भेटिन्छन्
अनि कतै भेटिन्छन् नदीका बहाव छोपेर ठडिएका महलहरु
कहिले रोगग्रस्त घाम प्रश्न गर्छ,
कहिले धरापमा परेका पुख्र्यौली अवशेषहरु
किन होला, यो स्वर्गतुल्य देशभित्र पुण्य धामहरु,
फगत् कृत्रिम पार्क बन्दै छन्
खोक्रो बनावटी सम्पन्नता थोपरेर,
किन अवाञ्छित स्काइवाक र भ्युटावरहरु बन्दै छन् ?
तर उत्तरको प्रतीक्षामा सुक्दै गए नदीहरु,
धमिलिँदै गए बिहानीहरु
विद्यालयको कक्षाकोठाहरुबाट
भयग्रस्त कलिला नानीहरु प्रश्न गर्छन्
के हाम्रो गन्तव्य
गाँजा, कस्मिर, इजरायल अनि युक्रेन हुँदै छ ?
या सचेतनाको उज्यालो ओढेर हामी
हरियो धर्तीको काखमा निश्चिन्त रमाउने छौँ ?

Facebook Comments Box

Similar Posts