इन्दिरा चापागाईं
मुनामदनकै अमरप्रेमको कहानी मन पर्छ
गालामा तिम्रो म्वाइको निसानी मन पर्छ ।
ममाथि होस् केवल तिम्रै मायाप्रेमको
शासन, प्रशासन अनि राजधानी मन पर्छ ।
तिम्रो प्यारो साथ अनि न्यानो अँगालो
तिम्रै दाहिने हातको सिरानी मन पर्छ ।
सुखदुःख त यस्तै हुन् जीवनका दुई पाटा
औँसीको रातपछिको बिहानी मन पर्छ ।
एकअर्काको मातले प्रणयमा हराउँदा
कहिल्यै नरित्तिने त्यो जवानी मन पर्छ ।