– लक्ष्मी रूम्बा
जङ्गलमा कोरिएका छन् विषादका धर्साहरु
कच्याककुचुक्क परेको छ समय पनि
बर्सौंदेखि विकासे डढेलो सल्किरहेछ
हरित संसारमा
खिइदै छ जङ्गलको फोक्सो
निख्रिदै छ पृथ्वीको सौन्दर्य ।
उहिले उहिले
प्रेम र युद्धको मिसाइल एकसाथ चपाएर हिँड्दा
रूखहरुको आदिवासी सपना निधारभरि फुल्दा
बोकेर हिँड्दा पृथ्वीजत्रै अत्यासहरु
उज्यालिएकै हुन्थ्यो एकनास जङ्गलको मुहार
अहिले कहाँ बिलायो– आदिबासी धुनहरुको मधुरता
क्रृतुका अनेकन् लयहरुमा नाचिहिँड्ने जीवनको पदचाप
हजारौँ माइलबाट आउने चराहरुको बथान
पोल्टाभरि लुकामारी खेल्ने वसन्त
कहाँ गयो पृथ्वी नै उजिल्याउने त्यो तागत ?
अतीतको पाइलाबाट,
जङ्गल आफैलाई प्रश्न प्रतिप्रश्न गरिबस्छ
र सधैँं उत्तर पर्खिरहेकोे निरीह प्रश्न बनिरहन्छ,
इतिहासको गल्छेडाबाट
नक्सा हराएको देशझैँ
बिलाउँदै छ जङ्गलको कथा
सुनिँदैन– रूखहरुको बाक्लो सुसाइ
पातहरुको सर्याकसुरुक
देखिँदैन रैथाने खुसीहरुको लर्को
सुनिन्छ केवल जङ्गलको चिच्याहट ।
यस्तोमा चराहरु अलमलिरहेछन्
गाउन नसकेर जीवनगीत,
हावाको अपरिचित गतिमा
हल्लिरहेछ गुराँसको बेमौसमी जोवन
बैँस नै नआई भरिलो भइरहेछ काफल
सुक्दै छ बीजहरुको जीवनदायी मूल
हराउँदै छ जङ्लभित्र बिस्तारै जङ्गलकै जीवन–चित्र ।
अस्तित्वका कुनाकाप्चा छाम्दै
जङ्गल स्वयम् बुझ्दैन
दूरदेशको आयातीत गरूङ्गो भाषा
जस्तो कि–
प्रकृतिको निजीकरण
सहरको प्रस्थानविन्दु
विश्व बजारको गन्जागोल रुप
मान्छेहरुको कस्मेटिक जीवन
आदिबासी धुनहरुको विलय
हरितगृहको मितेरी साइनो
कार्बनको लिलामी बजार … ।
न जङ्गल आकाशलाई पक्रन सक्छ
न भुइँमुनिको जलाशयलाई,
कसरी भयो
जादुमयी जमिनसँगको बिछोड ?
उखेलियो मनको जरा
कसरी हाँगा हाँगा छिमोलिए बैँस
काटिए उमेरको पखेटा ।
छामेर सुस्तरी आफैलाई
जङ्गल टोलाउँदै छ मात्र टोलाउँदै छ
पूर्वस्मृतिका किनाराहरुमा झोक्राउँदै छ ।
चुहिरहेछ जङ्गलको आँखाबाट
रूखहरुको उचाइ
नदीहरुको प्यास
र हिमालको आँसु ।
मरूभूमिमा बालुवाका कण बराबर
छन् जङगलका बग्रेल्ती गुनासाहरु – वनमारा समयसँगै
आदिम युगका आफ्नै सन्तानसँग
र
पश्चिमी बाडुलीमा
टाउकैमाथि निर्बाध उडिरहेका परदेशी चिलहरुसित
छ कि त कसैसँग
यी गुनासाका धर्साहरु मेटाउने जीवनको लय ?
Facebook Comments Box


