विशाल सर्घाईँ
(दार्जिलिङ, भारत)
भाँच्चिन लागेको खाटजस्तो म,
बढारेर उब्रिएको कसिङ्गरजस्तो म,
अनुहार देख्नै सक्तिनँ आजभोलि आफ्नै
मरेपछि सिनो बनेको छु म,
छिः
घोचा हालेर रक्ती झिकेको
खस्रो मासुको थाक मात्रै ओढेर
अनुहारमा मुस्कान छर्न कहाँ सकिन्छ ?
मैले कस्तो बुझ्दै नबुझेको नि ?
‘ऐ तैँले जिन्दगीको अर्थ भेट्टाइस् ?’
कसैले सोधिहाले
‘मृत्यु अँगालिसकेँ’
कसरी भन्ने होला ?
कस्तो सोच्दै नसोचेको मैले नि ?
दुईचार हात मार्तल हानेपछि
जबरजस्ती भित्तामा अल्झाइएको
घडी अड्काउने काँटीजस्तो लाग्छ आफैलाई,
कतिखेर खिया लाग्छ, आफैलाई सोध्नु छ मैले ।
सुनसान, अँध्यारो हाइवेमा
चुली भएको
नगरपालिकाको थोत्रे मैलो
ढ्वाङ्भन्दा कम भएन जीवन !
सैकडौँको हिसाब बुझे नि
कन्चि–कन्चि बन्यो जीवन ।
छिः म,
जातको कुरा गर्ने !
क्वाप्पक्वाप्प अर्काको भाग्य खाएर नअघाएपछि
भुस्याहा कुकुरको दर्जासमेत नपाउने !
सबेरै बच्चा एबोर्सन गरेर
जिन्दगीमा हाँस्नुपर्छ भन्ने मलाई
चित्त र मनको के वास्ता नि ?
दुख्दैन अचेल मेरो केही पनि
मन तन केही दुख्दैन
म जिउँदो लासजस्तो हुँ,
अभिलाषाहरु जमानामै खाइसकेँ
इच्छाहरुका भुटन
तिर्सनाहरुका तरकारी
र सद्भावनाहरुका झोल
अहा ! क्या मिठो गरी मैले उहिले खाएको !
यसैले, थेरापी गर्ने आदत छैन मेरो
जिन्दगीको रिक्सा ढकाल्न
बरू पैह्रोले बर्खास्त होला जिन्दगी
म सुतेको छु
उठ्दिनँ कहिल्यै ।