लक्षिमा उपाध्याय
(समारदलनि, विश्वनाथ, असम, भारत)
आँगनमा सुन्दर फूलबारी
ढकमक्क फूल फुलाउने रहर ।
सयपत्री, मखमली, चमेली, गोदावरी, पारिजात
रोपी मलजल गोडमेल सकेपछि
फस्टाए मौलाए झाङ्गिए खुसीले रमाए ।
आँगन धेरै उज्यालो देखियो
फूलसँगै गफ गरेर सपना बुने
फूल चुम्दै हिँड्ने भमराहरु
विज्ञानको नयाँ आविष्कारले शिक्षित भएछन् ।
बाँसको तगारो नाघेर आउन
हिचकिचाउन थालेछन्
सप्तरङ्गीले सजिएको फलामको तगारो
नाघ्न खुसी हुँदा रहेछन्
ग्रिलरूमभित्र सजिएका महँगा
कृत्रिम फूलका कोपिलामा भुलिएर
गोबरका फूल गन्हाउन थालेछन्
रासायनिक मलमा हुर्किएका कोपिलामा भुलिएर
गाउँघरका फूलको बास्ना भुल्न लागेछन्
पहेँला, काला र सेता पुतलीहरु मात्र
गोबरका फूलमा रमाइरहन्छन्
यत्रतत्र ।
आफू पनि तेसै रमाउँछु
तर सप्तरङ्गी पुतलीहरु
गल्ली चोकबाटै चियाउँछन्
गिल्ला गर्छन्, खिस्स्याउँछन्
बासको तगारो, अनपामरिको आँगन, गाउँले फूल ?
छस्स श्रवणमा पर्छ
एक्कासि मुटु चिसो हुन्छ
जिज्ञासा आफूलाई नै गर्छु ?
चारकुने आँगन
सप्तरङ्गी फलामको तगारो
अनि मात्रै फूलबारी ?
फेरि आफै जवाफ दिन्छु
दर्पी भमराहरु नाआए पनि
कोपिला फुलिरहेछन्
नक्कली रङ्गीचङ्गी पुतलीले नरङ्गिए पनि
सजेकै छ फूलबारी ।
झसङ्ग सपनाबाट बिउँझिए झैँ
झस्किन्छु टोलिन्छु
फेरि कस्सिन्छु
फूल फुलाउने रहर जारी नै राख्छु
फुलाई नै रहन्छु ।